6th December | 2019 | Friday | 6:02:06 AM

मेलम्ची पानी कथा

  POSTED ON : श्रावण २४, २०७६ (१०:२४ AM)

मेलम्ची पानी कथा

गौरवको भनिएको मेलम्ची खानोपानी आयोजना एउटा कथा जस्तो भइसक्यो । आयोजना सुरु भएको दुई दशक नाघिसक्यो तर राजधानी उपत्यकामा पानी आउने छाँटकाँटै छैन । कमिसनको खेल र ठेकेदारहरूको मनोमानी लगायतका अनेक कारणले आयोजना लम्बिएको लम्बियै छ । काठमाडौंमा सडक खनेर ठूला साना पाइप राख्न थालेपछि, घरमा पाइप पु¥याउन थालेपछि चाहिँ साँच्चै मेलम्चीको पानी खान पाइने भयो भन्ने आशा बलियो भएको थियो । आशामा त्यतिबेला तुषारापात भयो जतिबेला इटालेली ठकेदार कम्पनी काम छाडेर हिँड्यो । यसपछि मेलम्ची खानेपानी आयोजना अलपत्र परेको छ, अनिश्चत भएको छ । 

तालुकवाला खानेपानी मन्त्रालयकी मन्त्री विना मगरले बुधबार संसद्मा बोल्दै आफ्नै पालमा पानी आउने दाबी गरिन् । यस्तो दाबी त अहिलेका र यसअघिका मन्त्री त के प्रधानमन्त्रीकै मुखबाट पनि सुनिएको हो, वर्ष र महिनै तोकेर । यस्ता धेरै वटा तिथिमिति गुज्रिए तर पानी आएन । अब कहिले आउँछ भन्ने पनि थाहा छैन । मन्त्री मगरका अनुसार उनकै पालामा आउनेछ । उनको पालो भन्नाले सामान्य अर्थमा यो सरकारको कार्यकाल करिब साढे तीन वर्ष मान्दा बढीमा यही अवधिमा आउने मान्नु पर्ने भयो । हरेक प्रधानमन्त्री र मन्त्रीलाई लाग्दो हो मेरै पालमा पानी ल्याएर देखाउँछु । 

अहिलेलाई मन्त्री मगरको दाबी पत्याउने गरी आयोजनामा काम सुरु भएको छैन । उनले गरेका ठेक्काको निर्णय विवादमा परेको छ । इटालेली कम्पनीले छोड्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको ठोस जवाफ मन्त्रीसँग छैन । मन्त्री र सचिवका कुरा बाझिने गरेका छन् । यति ठूलो आयोजनामा धेरैका अनेक स्वार्थ र दाउपेचहरू होलान् । कमिसनखोरहरूलाई यस्ता ठूला आयोजनाहरू जति लम्बिए त्यति फाइदा । यस्तै भूमरीमा परेको हो मेलम्ची खानेपानी आयोजना । नत्र, यतिका वर्षमा सम्पन्न भइसक्ने थियो, काठमाडौंका बासिन्दाले मेलम्चीको पानी पाइसकेका हुने थिए । 

सरकार साँच्चै प्रतिबद्ध र इमानदार छ भने मेलम्ची आयोजना पूरा हुने र पानी आउने तिथिमिति तोकेर काम गरोस् र पूरा गरेर देखाओस् । कुनै आयोजना निर्धारित अवधिमा पूरा नहुनुमा ठेकेदार कम्पनीमात्रै जिम्मेवार हुँदैन । सरकार अलग रहन सक्दैन । मेलम्ची आयोजना पनि यस्तै हो । हालसम्म कति काम भयो, अब कति कति अवधिमा कुन कुन काम पूरा हुने छ र कति अवधिमा पानी काठमाडौं आउनेछ, सरकारले पक्का गरोस् । विश्वास दिलाओस् । प्रतिबद्धता जनाए हुने तर जवाफदेही हुन नपर्ने ढुक्कको अवस्थामा मन्त्रीको बोलीले विश्वास आर्जन गर्न सक्दैन । 


Views: 143

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)