6th December | 2019 | Friday | 6:07:11 AM

राजधानी र नाम कहिले ?

  POSTED ON : श्रावण २६, २०७६ (३:१४ PM)

राजधानी र नाम कहिले ?

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानी काठमाडौं आएर भने, ‘सिंहदरबारको छायाँमा प्रदेश राजधानी बस्दैन ।’ प्रदेश ३ ले राजधानी र नाम टुंगो लगाउन सकेको छैन । अस्थायी मुकाम छ हेटौँडा जो मुख्यमन्त्रीको गृहनगर हो । प्रदेश ३ सहित चार वटा अझै अन्योलमा छन् । प्रदेश १ ले अस्थायी मुकाम विराटनगरलाई स्थायी राजधानी बनायो तर नाम राख्न सकेको छैन । सामान्यतया राजधानी र नाम एकैसाथ हुनुपर्ने थियो, टुंगो लागिसकेका तीन वटा प्रदेशले यसै गरेका हुन् । राजधानी निर्णय हुनु तर नाम नहुनुले सकसको संकेत गर्छ । 

मुख्य मन्त्रीहरू आफ्नो प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसक्नुलाई आफ्नो असफलता मान्न तयार छैनन् । निर्णय हुन बाँकीमध्ये प्रदेश २ बाहेक सबैमा नेकपाकै बहुमत छ । प्रदेश २ पनि नेकपा निर्णायक हैसियतमा छ । तर, अझै चारवटा प्रदेश नाम र राजधानीविहीन छन् । मुख्यमन्त्री पौडेलले ‘संघीय राजधानीको छायाँमा हुँदैन’ भनेर आफूमाथिको दबाब संकेत गरेका छन् । हुन पनि संघीय सरकारले यस विषयमा प्रत्यक्ष र परोक्षरूपमा मुख्यमन्त्रीहरूलाई दबाब दिँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले यति धेरै नाममा एउटा नाम फेला पार्न नसकेको भनेर निर्णयविहीनतामा व्यंग्य गरिसकेका छन् । 

प्रदेश १ ले नाम निर्णय गर्न बाँकी छ । प्रदेश २, प्रदेश ३ र प्रदेश ५ ले नाम र राजधानी दुवै निर्णय गर्न बाँकी छ । सबै प्रदेशले सहमति जुटाएर निर्णय गर्ने प्रयास गरेका छन्, सहमति बनाउन समिति गठन गरेका छन् तर ठोस निर्णयमा पुग्न सकेका छैनन् । सहमतिका नाममा समय भने तन्किँदै गएको छ । यसो हुनु सत्तारुढ दलको र प्रदेश सरकारको असफलता हो । हालसम्मको काम हेर्दा चाँडै निर्णय हुने संकेत पनि मिलेको छैन । सबै प्रदेशमा प्रदेशसभाको अधिवेशन चालु छ । यसै पटक पनि निर्णय हुन असम्भव भने छैन । 

खासगरी प्रदेशको स्थायी राजधानी नहुँदा प्रदेश कार्यालयहरू व्यवस्थापन गर्न कठिन परेको छ । मन्त्रालयहरू, मन्त्रीहरूका निवास, मातहतका अन्य कार्यालय सबै काम चलाउ अवस्थामा छन् । राजधानी शहरको भौतिक विकास हुन सकेको छैन । मुख्यमन्त्रीहरूले पनि यस अवस्थाबाट आइपरेको अप्ठ्यारोका बारे फाटफुट गुनासो गर्ने गरेका छन् । आम नागरिकलाई आफ्नो प्रदेशको राजधानी कहाँ होला, नाम के होला भन्ने चासो छ । निर्णय प्रदेशसभाले गर्ने हो तर प्रस्ताव पेश गर्ने सरकारले हो । जिम्मेवारी सरकारको हो, मुख्यमन्त्रीको हो । जटिलताहरू होलान् तर निर्णय त गर्नै परेको छ । 

मुख्यमन्त्रीहरूलाई प्रश्न सोध्ने बेला भएको छ– प्रदेशको राजधानी र नाम कहिले ?



 


Views: 132

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)