25th August | 2019 | Sunday | 5:54:02 PM

हेक्का राख्ने बेला

  POSTED ON : श्रावण २७, २०७६ (१०:४३ AM)

हेक्का राख्ने बेला

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल उनका पछिल्ला केही अभिव्यक्तिले विवाद र आलोचनाको घेरामा परेका छन् । केही दिनअघि उनले पूर्वराज ज्ञानेन्द्र शाहको सुरक्षा र नागार्जुन निवास खोस्ने चेतावनी दिए । दाहालका अनुसार यस्तो चेतावनी दिनुको मुख्य कारण हो ज्ञानेन्द्रको राजनीतिक प्रकृतिको सक्रियता । दाहालको यो चेतावनीको खासगरी सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । 

आलोचकहरूको मतअनुसार ज्ञानेन्द्रले गणतन्त्र स्वीकार गरेर शान्तिपूर्णरूपमा परम्परागत सत्ता र दरबार त्यागेका हुन् । उनी पूर्व राष्ट्रप्रमुख हुन्, उनलाई राज्यले यही हैसियतमा राख्नुपर्छ । उनी देशका नागरिक हुन् । यस हैसियतमा उनी घुमफिर गर्न र विचार व्यक्त गर्न स्वतन्त्र छन् । ज्ञानेन्द्रलाई दोषी देख्नु र उनले आफ्नो सत्ता फर्काउन षड्यन्त्र गर्दैछन् भनेर प्रचार गर्नु दुराग्रह हो भन्ने दाहालको अभिव्यक्तिका आलोचकहरूको मत देखिन्छ ।  

पूर्वराजा ज्ञानेन्द्र बेलाबखत देशाटनमा निस्किन्छन् । उनी गएका ठाउँमा उनका समर्थकहरूको भीड लाग्छ । कतिले राजसंस्था फर्काउने नारा लगाउँछन् । उनी नागरिकहरूसँग भेट्छन्, नागरिकहरू उनलाई भेट्छन् । राजसंस्था अन्त्य भएको एक दशकमात्रै हुँदैछ । प्रष्टै छ, राजसंस्थाबाट मात्रै देशको हित हुन्छ भन्ने विचारका मानिसहरूको ठूलै जमात छ । यीमध्ये कतिपयको राजनीतिक महŒवाकांक्षा पनि होला । पञ्चायती शासनबाट राजसंस्थासहितको बहुदल हुँदै गणतन्त्रमा पार्टी चलाएका कतिपय नेता यस्तो मत प्रकट गर्दैछन् । 

नेपालको सन्दर्भमा राजसंस्था र धर्म निरपेक्षता संवेदनशील विषय हुन् । राजसंस्थाका समर्थक तथा संघीयता र धर्मनिरपेक्षता विरोधीको आवाज अझै लामै समय सुनिने छ, केवल यसको तीव्रता फरक हुनेछ । यो आवाज तीव्र वा मन्द हुनमा भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ का नेताहरूको व्यवहार र शासनशैली जिम्मेवार हुनेछ । र, चर्को र उग्र प्रतिक्रियाले नकारात्मक परिणाम दिनेछ, जस्तो कि अहिले दाहालको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

राजसंस्थाका समर्थकले नारा लगाएजस्तो र दाहालले शंका गरेजस्तो राजाको शासन फर्किने छैन तर ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ का नेताहरू संयमित र दूरदर्शी नहुने हो भने सुसुप्त वा प्रकटरूपमा द्वन्द्व कायमै रहने छ । राजसंस्था फर्काउन चाहनेहरूको आवाज घना हुँदै जान्छ भने अहिलेका नेताहरूले आफ्नो दोष केलाउन र सच्चिँदै जान आवश्यक हुन्छ । चर्को प्रतिक्रिया र चेतावनीले होइन, कुशल शासन र व्यवस्थापनले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुँदै जान्छ । 

हाम्रो संविधानले गरेका व्यवस्थाहरूको विरोधमा बोल्ने र जनमत बनाउने स्वतन्त्रता प्रत्येक नेपाली नागरिकलाई छ । वर्तमान राज्यप्रणाली असफलतातिर गयो भने त्यसको दोष राजसंस्थावादी, धर्मनिरपेक्षता विरोधी र संघीयता विरोधीको मात्रै हुनेछैन । हेक्का राखौँ, यस्तो विरोधी मत बन्न नदिने जिम्मेवारी ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ का नेताहरूको हो । चर्को र असंयमित प्रतिक्रिया प्रत्युत्पादक हुन सक्छ । 



Views: 111

सम्बन्धित सामग्री:

उपभोक्ता हित संरक्षण

: भदौ ८, २०७६ (४:१४ PM)

प्रहार कताबाट ?

: भदौ ६, २०७६ (८:४४ AM)

जयशंकरको नेपालयात्रा

: भदौ ५, २०७६ (९:४९ AM)