10th December | 2019 | Tuesday | 10:50:59 AM

प्रधानमन्त्रीको स्वास्थ्य

  POSTED ON : श्रावण २९, २०७६ (१०:२४ AM)

प्रधानमन्त्रीको स्वास्थ्य

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफू ‘अस्थायी बिरामी’ रहेको भनेर अस्वस्थताको सङ्केत गरेका थिए । त्यसलगत्तै उनलाई चिकित्सकहरूले स्वास्थ्य परीक्षणका लागि बाहिर अर्थात सिङ्गापुर जान सिफारिस गरे । उनी सिङ्गापुर गए, त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उनको स्वास्थ्य परीक्षण भयो भन्ने खबर छ । नवौँ दिनमा प्रधानमन्त्री स्वदेश फर्के । ट्वीट गरेर उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै चिकित्सक र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिए । 

देशका प्रधानमन्त्रीको स्वास्थ्यस्थिति केवल एउटा व्यक्तिको होइन, सबै नागरिकको चासोको कुरा हो । उनको स्वास्थ्यलाभ र सुस्वास्थ्य सम्पूर्ण नेपालीको कामना हो । कार्यक्रमहरूमा सहभागी भइरहेका, भाषण गरिरहेका र सक्रियताका साथ काम गरिरहेका प्रधानमन्त्री सुविधासम्पन्न स्वदेशी अस्पताल छाडेर विदेश जानुपर्ने अवस्था सामान्य होइन । स्वदेशमा भएको परीक्षणमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो देखियो, कुन कुन परीक्षण लागि कुन अस्पतालमा रेफर गरिएको हो, प्रधामन्त्रीको मेडिकल टिम र उनको कार्यालयले औपचारिक जानकारी गराउनु पर्ने हो । यसतर्फ ध्यान दिएको देखिएन । 

प्रधानमन्त्री ओली हँसिलै सिङ्गापुर उडेका थिए, नवौँ दिनमा अझ फूर्तिसाथ हँसिलै फर्के । यो हामी सबैका लागि खुशीको कुरा हो तर उनको स्वास्थ्य परीक्षणबाट कस्तो नतिजा आयो, समग्रमा स्वास्थ्य अवस्था कस्तो देखियो भन्ने कुरा प्रधानमन्त्रीको ट्वीटबाहेक न उनको कार्यालयले जानकारी गराएको छ, न उनको मेडिकल टिमले । राष्ट्रप्रमुख, प्रधानमन्त्री जस्ता विशिष्ट व्यक्तिको स्वास्थ्यमा समस्या देखिन्छ, अस्पताल भर्ना हुन्छन् वा स्वास्थ्य परीक्षण गराउन विदेश जान्छन् भने त्यो आम सरोकारको विषय हुन्छ र औपचारिक जानकारी गराउनु आवश्यक हुन्छ । 

सबैलाई थाहा भएको कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली बाह्र वर्षअघि शरीरको संवेदनशील अङ्ग मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति हुन् । यस्ता व्यक्तिको स्वास्थ्यस्थिति सधैँ संवदेनशील रहन्छ । कुनै पनि बेला गम्भीर प्रकृतिको संक्रमण हुनसक्छ, जसले अचानक ज्यानै पनि लिन सक्छ । रुटिनमा नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्छ । यसकारणले पनि उनको स्वास्थ्यस्थितिमा बढी चासो हुन्छ तर प्रधानमन्त्रीको सचिवालयले यस्तो चासो बेवास्ता गरेको छ । आम नागरिकले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा जानकारी पाउनु पर्छ । 


Views: 137

सम्बन्धित सामग्री:

कुरा अन्तर्घातका

: मंसिर २३, २०७६ (४:५६ PM)

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)