15th September | 2019 | Sunday | 8:07:51 PM

पत्रकारको योग्यता परीक्षा

  POSTED ON : भदौ १८, २०७६ (९:२८ AM)

पत्रकारको योग्यता परीक्षा

राष्ट्रियसभामा विचाराधीन मिडिया काउन्सिल विधेयकमा सत्तारुढ दलका सांसद्हरूले काउन्सिलले पत्रकारको योग्यता परीक्षा लिने व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । निश्चित न्युनतम योग्यता जुनसुकै पेशा–व्यवसायमा पनि आवश्यक पर्छ । पत्रकारिता यस्तै मध्येको एक हो । योग्यता नभएको व्यक्ति पत्रकार बन्नु हुँदैन, बन्दैन । 

मिडिया काउन्सिलले पत्रकारको योग्यता परीक्षा लिने व्यवस्था झट्ट हेर्दा रामै्र देखिन सक्छ, झन् राम्रो सुनिन सक्छ । व्यवहारमा भने यो पूर्णतः नियन्त्रणकारी व्यवस्था हो । आफ्नो प्रतिकूल नहुने गरी सञ्चार सामग्री उत्पादन गराउने भित्री नियतप्रेरित हो । 

कुन प्रयोजनका लागि पत्रकारको योग्यता परीक्षा लिने ? सरकारी निकायले परीक्षा लिएर योग्य मानेको पत्रकारबाट के अपेक्षा गरिएको हो ? सञ्चारमाध्यममा लेखक हुन पनि योग्यता परीक्षा लिने कि नलिने ? के अब राज्यले निजी क्षेत्रका सबै पेशा व्यवसायका लागि कर्मचारी÷कामदारको योग्यता परीक्षा लिने हो ? परीक्षा लिने कानुन बनाउनुअघि यी प्रश्नको ठोस जवाफ आवश्यक पर्छ । 

पत्रकारिता सूचना संकलन र सम्प्रेषणमात्रै होइन, सिर्जनशील कर्म हो । सिर्जनाको योग्यता सर्जक आफैँले निर्धारण गर्छ । संविधान, ऐन–नियम, आचारसंहिता र विश्वव्यावपी मूल्यमान्यताका आधारमा पत्रकारिताले सामग्री उत्पादन गर्छ । कमीकमजोरी र गल्ती सुधार्दै जान्छ । पत्रकारिताले उत्पादन गर्ने सामग्रीका उपभोक्ताले पत्रकारको योग्यता निर्धारण गर्छन् । 

सरकारी सञ्चारमाध्यमले आफ्नै प्रणालीबाट योग्यता परीक्षा लिएर पत्रकार नियुक्त गर्छन् । निजी क्षेत्र सञ्चारमाध्यमका पनि आफ्नै प्रणाली छन् । सञ्चार संस्था तथा नियुक्त गर्ने अधिकारीलाई आफूले चाहेको न्युनतम योग्यता पुगेको छ भन्ने लागेपछि नियुक्ति दिन्छन् । कुनै व्यक्ति सोझै पत्रकार बन्छ र त्यसले जथाभावी सञ्चार सामग्री उत्पादन गर्छ भन्ने मान्यता नै गलत छ । यही गलत मान्यता नै काउन्सिलले योग्यता परीक्षा लिनुपर्छ भन्ने आधार हो । 

आवश्यक परेको अवस्थामा राज्यले न्युनतम मापदण्ड तोक्ने हो । निजी क्षेत्रका लागि राज्यले परीक्षा लिने होइन । परीक्षा नै लिन थाल्नु घोर नियन्त्रणकारी र अलोकतान्त्रिक व्यवस्था हो । निजी क्षेत्रमाथिको कुदृष्टि हो । राज्यले लिन चाहेको पत्रकारको योग्यता परीक्षा उसले उत्पादन गर्ने सामग्रीमाथि नियन्त्रणको नियत हो । आफ्नो प्रतिकूल सामग्री उत्पादन नगर्न परोक्ष दबाब हो । 

यसो भन्दा पत्रकारले आफ्नो योग्यता प्रमाणित गर्न नचाहेको अर्थ लाग्न÷लगाइन सक्छ । जुन सञ्चार संस्थाले पत्रकार नियुक्त गर्ने हो उसले राज्यले तोकेको न्युनतम मापदण्डका आधारमा आफ्नो आवश्यकता पूरा हुनेगरी योग्यता भए नभएको पक्का गरेर नियुक्ति दिन्छ । यसमा राज्यले योग्यता परीक्षा लिन आवश्यक पर्दैन । 

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा विचाराधीन छ । संशोधन प्रस्तावहरू दर्ता भएका छन् । जनप्रतिनिधि सांसद्हरूले गम्भीरतापूर्वक छलफल चलाउन र पत्रकारिताको स्वतन्त्रता र व्यक्तिको सिर्जनशीलतामा अंकुश नलाग्ने कुरामा ध्यान दिन आवश्यक छ । मिडिया काउन्सिल विधेयक नियन्त्रणकारी नियतका साथ आएकोले पनि बढी गम्भीरता आवश्यक छ । 


Views: 120

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)