15th September | 2019 | Sunday | 8:08:42 PM

दुई महिने बैठकपछिको कांग्रेस

  POSTED ON : भदौ १९, २०७६ (९:४२ AM)

दुई महिने बैठकपछिको कांग्रेस

करिब दुई महिनाअघि सुरु भएको मुख्य विपक्षी दल नेपाली कांग्रेसको बैठक सरकारका गतिविधिको विरोधमा एउटा ‘समसामयिक प्रस्ताव’ पारित गरेर सकिएको छ । विपक्षी दलको हैसियतमा स्वाभाविकरूपमा कांग्रेसले सरकारका गतिविधिमा केही गम्भीर प्रश्न उठाएको छ र आन्दोलनको चेतावनीसमेत दिएको छ । पार्टीको आन्तरिक पक्षमा भने बैठकले कुनै ठोस निर्णय गरेको सार्वजनिक भएको छैन । 

‘समसामयिक प्रस्ताव’ मा समेटिएका १७ बुँदा कांग्रेस नेताहरूले संसद् र संसद्बाहिर भन्दै आएका हुन् । संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन, भ्रष्टाचारका रूपमा आएका विभिन्न काण्डहरू, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक निकायका स्वायत्तता खुम्च्याउने उद्देश्यका विधेयकहरूलगायत जनसरोकार विभिन्न विषयमा कांग्रेसले कुरा उठाउँदै आएको छ । सरकारले प्रतिवाद पनि गर्दै आएको छ । 

मुख्य विपक्षी दलको हैसियतमा सरकारका गल्ती औँल्याउने र सच्याउन चेतावनी दिने, संसद् र सडकबाट आवाज बुलन्द गर्ने काम कांग्रेसको हो । विपक्षीको भूमिकामा पनि कांग्रेस आलोचित छ । सत्तापक्षले ‘विपक्षीको धर्म निर्वाह गरेको’ भनेर विपक्षी आवाज उपेक्षा गर्दै आएको छ । सम्भवतः आलोचना भएझैँ प्रभावकारी विपक्षी हुन नसक्नुको परिणामस्वरूप उपेक्षाका लागि सत्तापक्ष उत्साहित भएको हो । 

विपक्षी दलसँग गरिने मुख्य अपेक्षा हो पहिलो, ‘विपक्षीका रूपमा प्रभावकारी भूमिका’ र दोस्रो ‘वैकल्पिक सरकारकार लागि खडा’ रहनु । हाम्रो संसद्को वर्तमान संरचनामा दोस्रो भूमिका अपेक्षित छैन तर पहिलोमै कांग्रेस सबैभन्दा बढी आलोचित छ । यसको मुख्य कारण हो कांग्रेसको आन्तरिक किचलो र नीतिगत अस्पष्टता । दुई महिना लामो बैठकले यस्ता आन्तरिक विषयमा ठोस निर्णय गर्न सकेन । 

जागरण अभियान, प्रशिक्षणजस्ता कार्यक्रम कर्णप्रिय सुनिए पनि आन्तरिक संरचना बलियो नभए सबै छरपस्ट हुन्छ । पहिलो चरणको जागरण अभियानमा जाने नेताहरूले परिवर्तित राजनीतिक संरचनाअनसार सांगठनिक संरचना नहुँदाको बेथिति अनुभवका रूपमा सुनाएका थिए । फेरि पनि कांग्रेसको संगठन उही हालतमा छ । केन्द्रदेखि स्थानीय तहसम्ममा पार्टी निकाय र जनवर्गीय संरचनाहरू करिब अस्तित्वविहीन छन् । फेरि पनि कांग्रेस अर्को चरणको अभियानमा जाँदैछ ।

कांग्रेसले आफ्नो ‘समसामयिक प्रस्ताव’ को अन्तिम बुँदामा सरकारलाई आन्दोलनको चेतावनी दिएको छ । आन्दोलन गर्न पार्टी संगठन र नेतृत्व तम्तयार छ केन्द्रीय समितिदेखि वडासम्म ? नीतिगत रूपमा बलियो आन्तरिक एकता छ ? महाधिवेशनका लागि आवश्यक तयारी कहिले सुरु हुन्छ ? जनस्तरमा उठ्ने गरेका यी प्रश्नहरू केन्द्रीय समितिले हल गरेको छ कि छैन भन्ने कुरा मुख्य हो जति नै धेरै बैठक र छलफल गरे पनि । 


Views: 102

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)