15th September | 2019 | Sunday | 8:32:41 PM

अग्रिम टिकटमा अलमल

  POSTED ON : भदौ २०, २०७६ (३:४२ PM)

अग्रिम टिकटमा अलमल

दशैँका लागि काठमाडौं उपत्यकाबाहिर जान घटस्थापना आसपासमै सुरु हुन्छ । सदाझैँ यस वर्ष पनि लामो दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङको चर्चा सुरु भएको छ । घटस्थापनाअघि तीन साता बाँकी रहँदा पनि टिकट बुकिङ टुंगो लागेको छैन । दशैँका लागि झण्डै २५ लाख मानिसले काठमाडौं उपत्यका छाड्ने गरेको अनुमान छ । 

छोटो समयमा यति ठूलो जनसंख्याको यात्रा व्यवस्थापन चानचुने काम होइन । सडक यातायात पूरै निजी क्षेत्रको जिम्मामा छ । आवश्यकताअनुसार यात्रुका लागि उचित प्रबन्ध गर्नु निजी क्षेत्रको पनि जिम्मेवारी हो । यसमा सरकारले आवश्यक सहयोग पु¥याउनुपर्छ । दशैँमा यात्रुको चापअनुसार बसको पनि अभाव हुन्छ । जसरी पनि यात्रा गर्नुपर्ने र जसरी पनि यात्रा गराउनुपर्ने बाध्यता हुन्छ । 

यस्तो अवस्थामा यात्रा असुरक्षित हुने सम्भावना पनि त्यतिकै हुन्छ । यात्रुको चापअनुसार लामो दुरीमा चल्ने बस र जनशक्तिको अभावले यात्राको जोखिम बढाउँछ । सुरक्षित यात्रा पहिलो शर्त हो । यसमा यातायात व्यवसायी र सरकार दुवैको जिम्मेवारी हुन्छ । यात्रा सुरक्षित बनाउन सरकारका नियामक निकायको बढी सक्रियता आवश्यक हुन्छ र व्यवसायीको गम्भीरता ।

सडकको खराब अवस्था, पुराना गाडी, तीव्र गति, उछिनपाछिन, लामो समय एउटै चालक, क्षमताभन्दा बढी भार आदि दुर्घटनाका मुख्य कारण हुन् । यात्रुको चाप जति बढी हुन्छ उति नै बढी निगरानी आवश्यक हुन्छ । सुरक्षित यात्राका लागि नियामक निकायले मात्रै होइन, व्यवसायीका आन्तरिक संयन्त्रले पनि आवश्यक निगरानी गर्नुपर्छ । बाध्यताका नाममा लापरबाही कतैबाट पनि हुनु हुँदैन ।  

अग्रिम टिकट बुकिङको कुरा आएपछि यातायात व्यवसायीका शर्तहरू तेर्सिने गरेका छन् । सधैँझैँ यस वर्ष पनि भाडा समायोजन अर्थात वृद्धि मुख्य माग बनेको छ । व्यवसायीहरू भन्छन्– २०६९ सालदेखि भाडा समायोजन भएको छैन । समयानुकूल भाडा समायोजन सरकारको जिम्मेवारी हो । जब दशैँका लागि अग्रिम टिकट बुकिङको कुरा आउँछ तब भाडाको कुरा चर्किन्छ, शर्त बन्छ । 

सरकारले व्यवसायीका माग सुन्नुपर्छ र समयानुकूल उचित निर्णय गर्नुपर्छ । व्यवसायीले नाफामै काम गर्ने हुन् । यात्रुको ठूलो चाप व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीको समयमा शर्त तेस्र्याउनु र मौका ठान्नु पनि उचित होइन । सरकार र व्यवसायीको द्वन्द्वको मारमा यात्रुलाई पार्नु उचित होइन । यात्रुले उचित भाडादरमा सुविधाजनक तरिकाले टिकट काट्न पाउने व्यवस्था गर्नु पर्छ । 

अनुचित रूपमा व्यवसायीको नाफामात्रै बढाउने गरी भाडा महँगो हुनु हुँदैन । यात्रु सुरक्षित र सुविधायुक्त यात्रा चाहन्छन्, मुख्य कुरा यो हो । अग्रिम टिकटमा अलमल उचित छैन । 

 


Views: 143

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)