15th September | 2019 | Sunday | 8:46:24 PM

एसिड अपराध

  POSTED ON : भदौ २२, २०७६ (५:५२ PM)

एसिड अपराध

वीरगन्जमा शुक्रबार बिहानै एक जना स्कूले किशोरीमाथि एसिड छ्यापियो । बाटामा लुकेर बसेका दुई किशोरले एसिड छ्यापे । एक वर्षअघि रौतहटको चन्द्रपुरमा घरमा सुतेका दिदीबहिनीमाथि छ्यापिएको थियो । उपचार हुन नसकी दिदीको मृत्यु भएको थियो । राजधानी काठमाडौंमा पनि केही महिनाअघि एक युवतीमाथि एसिड प्रहार भयो । केही वर्षअघि एसएलसी परीक्षा तयारी गरिरहेकी छात्रामाथि एसिड हानिएको थियो । 

एसिड प्रहारका घटना महिलामाथि बढी हुने गरेको छ । यसमा पनि किशोरी र युवतीहरू बढी शिकार हुने गरेका छन् । घरेलु हिंसामा पनि एसिड छ्यापिएका घटना भएका छन् । एसिड प्रहारका प्रायःजसो घटना बद्ला लिने उद्देश्यले हुने गरेको पाइएको छ । गत वर्ष रौतहटमा प्रेम प्रस्ताव अस्वीकारको बद्लामा एसिड छ्यापियो । शुक्रबारको घटना पनि यस्तै प्रकृतिको छ । 

एसिड प्रहार बद्लाको सजिलो उपायका रूपमा देखापरेको छ । वीरगन्जको घटनामा पीडित किशोरीकै हाराहारी उमेरका किशोर संलग्न रहेका छन् । उनीहरूले अपराध कसैको उक्साहटमा गरे कि आफ्नै आवेगमा, त्यो अनुसन्धानले निक्र्योल गर्ला तर यस किसिमको घटना निकै चिन्ताजनक छ । कलिलै उमेरमा यौनजन्य मायाप्रेममा वा अन्य व्यक्तिगत कारणले गम्भीर अपराध गर्नु समाजको लागि चिन्ताको कुरा हो । 

कलिलै उमेरमा यस्तो अपराध किन भइरहेछ, कुन कारणले यस्तो अपराधमा प्रेरित गरेको हो भन्ने खोजी हुनु र निराकरणका उपाय खोज्नु आवश्यक भएको छ । घटनालाई सामान्यीकरण गर्ने र भवितव्य ठान्ने प्रवृत्तिले अपराध मौलाउन मद्दत गर्छ । समाजमा अपराध हुन्छ तर कुन उमेर समूहले कुन कारणले अपराध गर्दैछ भन्ने कुराले भविष्यको समाजको संकेत गर्छ । किशोेरी र युवतीहरूमाथि हुने एसिड प्रहारलाई यस दृष्टिबाट अध्ययन गर्नु आवश्यक भएको छ । 

बजारमा एसिड सहज उपलव्ध छ । क्रेता जो भए पनि हुन्छ । उसलाई किन चाहिएको हो भन्ने खोजी हुँदैन । कसले, कसलाई, किन बेचेको हो भन्ने प्रमाण राख्नु पर्दैन । नियमन प्रभावकारी छैन । भइहालेछ भने पनि खुला सिमानाका कारण नियन्त्रण कठिन हुन्छ । यसले के देखाउँछ भने यस प्रकारको घटना भइरहने छ र त्यो सामान्यीकरण नै हुनेछ । अपराध मौलाउँदै जानेछ । 

जति नै कठिन भए पनि अपराध नियन्त्रणको प्रयास हुनै पर्छ । किशोर वयमा हुने यस्तो अपराध रोक्न घर, समाज, विद्यालयमा चेतना अभिवृद्धि एउटा उपाय हुन सक्छ । एसिड बेचबिखनमा नियमनको कुनै विधि अपनाउन सकिन्छ । स्थानीय तहहरूले नियमन गर्न सक्छन् । यसतर्फ सोच्न जरुरी छ । एसिड प्रहार महिलामाथि हुने हिंसाको एउटा रूप हो । यसकारण पनि बढी गम्भीरता आवश्यक छ । नत्र छोरीहरू झन् असुरक्षित हुनेछन् । 


Views: 114

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)