15th September | 2019 | Sunday | 8:00:47 PM

ढुक्क हुन नसकेका लगानीकर्ता

  POSTED ON : भदौ २३, २०७६ (१०:२४ AM)

ढुक्क हुन नसकेका लगानीकर्ता

केही वर्षयता नेपाली नेताहरूको जिब्रोमा बसेको एउटा वाक्य हो– नेपालमा ढुक्कले लगानी गर्नुहोस् । सरकारमा हुनेले त नजपी नहुने मन्त्र नै भएको छ । प्रधानमन्त्री होउन् कि कुनै मन्त्री वा सत्तारुढ दलका कुनै नेता, विदेशी लगानीकर्ता सम्मिलित देशविदेशका जुन मञ्चमा पनि लगानीका लागि आहृवान भएकै हुन्छ । ‘ढुक्क भएर लगानी गर्न’ आग्रह गरिएकै हुन्छ । 

उत्पादन, सेवा, पूर्वाधार लगायतमा विदेशी लगानी आहृवान गरिँदै आएको छ । लगानी सम्मेलन यसैका लागि भएका हुन् । लगानी सम्मेलनमा ठूलो लगानीको प्रतिबद्धता आउँछ । सरकार र लगानीकर्ता दुवैमा उत्साह देखिन्छ तर बिस्तारै सेलाउँदै जान्छ । प्रतिबद्धताअनुसार लगानी भित्रिन सकेको छैन । सिमितबाहेक उद्योगहरू खुल्न सकेका छैनन् । औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिने क्रम निराशाजनक छ । विशेष आर्थिक क्षेत्र भनिएका ठाउँमा कुनै उत्साह छैन । 

सरकार आफ्नै नियन्त्रणको नेपाल वायुसेवा निगममा समेत विदेशी साझेदारको खोजीमा छ । रेल, पानी जहाज, ठूला विमानस्थल, सुरुङ मार्ग, जलविद्युत, पर्यटन, उद्योग अनेक क्षेत्रमा लगानीका लागि सरकारको आहृवान छ । शहरी यातायातमा मोनो रेल र मेट्रो रेलको सपना छ । प्रदेश सरकारहरूले पनि लगानीका लागि आहृवान गर्न थालेका छन् । लगानीका लागि उत्साह भने देखिँदैन । विदेशी त के स्वदेशी उद्यमीको समेत आकर्षण झल्किँदैन । 

लगानीकर्तालाई आश्वस्त पार्न सरकार र सत्तारुढ दलका नेताहरू कम्मर कसेर लागिपरेका छन् । शनिबार राजधानीमा आयोजित चिनियाँ व्यवसायी सम्मिलित एक कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालको एकचीन नीतिप्रति आश्वस्त पार्ने प्रयास गर्दै लगानीका लागि आहृवान गरे । नेपालले लगानी आहृवान गर्न पनि खास किसिमको सामिप्य देखाउने प्रयास गर्नु परेको छ । 

सम्भावनाका क्षेत्रहरू धेरै छन्, अवसर पनि धेरै छ तैपनि लगानीमा किन उत्साह देखिएको छैन ¤ विदेशी लगानीकर्ताहरू अझै पनि नेपालसँग आश्वस्त हुन सकेका छैनन् । अझै पनि राजनीतिक स्थायित्व, करनीति, लगानी सुरक्षा लगायतमा उनीहरूमा संशय देखिन्छ । स्वदेशी लगानीकर्ताहरूमा पनि यस्तै संशय देखिन्छ । पूर्वाधारको अभाव त छँदैछ । एउटै सरकार पाँच वर्ष चल्ने निश्चित हुनुमात्रै पनि स्थायित्व होइन भन्ने त मेलम्ची खानेपानी आयोजनाको दुर्गतिले नै प्रष्ट पारिसकेको छ । 

लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र नाफा आर्जनमा ढुक्क हुन खोजेको हुन्छ । करनीति, आवधिक सुविधा, पूर्वाधार, सिपयुक्त श्रमिकको उपलव्धता, श्रमको मूल्य, मालिक र श्रमिक बीचको सम्बन्ध, राजनीतिक–सामाजिक परिवेश, पूर्वाधार इत्यादिमा ढुक्क भएपछि मात्रै लगानीका लागि तयार हुन्छ । लगानीअनुकूल वातावरण पनि यिनै पक्षहरूमा निहित हुन्छ । लगानीका लागि उत्साह नहुनुको कारण यिनै पक्षमा खोज्नुपर्छ । 

सरकार यसमा गम्भीर हुने समय भएको छ । समीक्षा गर्ने र कमीकमजोरी सुधार गर्ने समय भएको छ । अब आहृवान मात्रैले अपेक्षित लगानी भित्रिँदैन भन्ने प्रष्ट भइसकेको छ । 


Views: 85

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)