15th September | 2019 | Sunday | 8:42:21 PM

राष्ट्रिय गानको अपमान

  POSTED ON : भदौ २४, २०७६ (१०:०० AM)

राष्ट्रिय गानको अपमान

सरकारको राष्ट्रभक्तिको रापमा पशुपतिनाथको आरतीमा पनि राष्ट्रिय गान बज्न थालेको छ । पशुपतिनाथ मन्दिर तलपट्टि वाग्मतीपारि किनारमा प्रत्येक साँझ हुने आरतीअघि राष्ट्रिय गान बजाउन सरकारले निर्देशन दिएपछि पल्लो किनारमा राष्ट्रिय गीत र वल्लो किनारमा मृत्युको शंख सुनिन थालेको छ । आरतीअघि राष्ट्रिय गान बजाउने निर्देशनका पक्षपातीको तर्क छ– आरती पनि उत्सव नै हो, पारि आरती उत्सवको दीप र वारि चिताको ज्वाला कति पुरानो हो ¤

राष्ट्रिय गान देश र देशबासीको साझा गौरव हो । औपचारिक समारोहमा राष्ट्रिय गान बजाइन्छ र आसनबाट उठेर सम्मान प्रकट गरिन्छ । राष्ट्रिय गान कहाँ, कसरी बजाउने र कसरी सम्मान प्रकट गर्ने भन्ने विषयमा निश्चित कार्यविधि बनाइएको हुन्छ । राष्ट्रिय गानप्रति सम्मान प्रकट गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ र यो स्वतस्फूर्त । राष्ट्रिय गानको गरिमा पनि नागरिकले गर्ने सम्मानमा निहित हुन्छ । राष्ट्रिय गान जहाँ पनि जति बेला पनि बजाइँदैन । 

निरङ्कुश पञ्चायतकालमा सिनेमा हलमा सिनेमा सुरु हुनुअघि राष्ट्रिय गान बज्थ्यो । बहुदलीय व्यवस्था पुनस्र्थापनपछि बन्द भयो । पञ्चायतकालमा नागरिक शिक्षाका नाममा विद्यालयमा ‘पञ्चायत’ विषय पढाइ हुन्थ्यो । राष्ट्रभक्त नागरिक उत्पादन गर्नु ‘पञ्चायत’ पाठ्यक्रमको उद्देश्य थियो । अहिले सरकार निरङ्कशकालीन राष्ट्रभक्तिभन्दा एक कदमअघि बढेर मन्दिर र घाटसम्म पुगेको छ । चारैतिर राष्ट्रिय गानको धुन घन्काएपछि नागरिकहरू राष्ट्रभक्तिले ओतप्रोत हुने सरकारी दृष्टि विडम्बनायुक्त छ । 

आरती गर्नुअघि र सिनेमा सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुसँग राष्ट्रभक्तिको कुनै साइनो छैन । सिनेमा हलमा यस्तो प्रयोग छिमेकी मुलुक भारतमा असफल भइसकेको हो । राष्ट्रिय गान करको कुरा होइन, राष्ट्रप्रतिको सम्मान र गौरव हो । जब यो करकापको कुरा हुन्छ तब गौरव र सम्मान समाप्त हुन्छ । अक्सर सत्तामा बस्नेहरूमा आफूलाई मात्रै राष्ट्रवादी देख्ने दृष्टिदोषको रोग हुन्छ । पञ्चायतकालमा यस्तो दृष्टिदोष भएकाहरूले आफ्ना विरोधीलाई ‘अराष्ट्रिय तŒव (अत)’ भन्थे । वर्तमान सरकार पनि ‘अत’ करार गर्ने दिशामा अघि बढेको छ । 

राष्ट्रिय गानसम्बन्धी पछिल्ला दुई निर्देशन सरकारको निरङ्कुशताको सङ्केत हो । सरकारी निर्णयमा असहमति जनाउनेलाई वर्तमान ‘अत’ करार गर्न प्रमाण मान्न सक्छ । सरकारले कसैको सुझाब नसुन्ने लक्षण देखाउँदै आएको छ । नागरिकका विमति सुन्न सरकारले सडकमा भीड देख्न चाहेको छ । सत्तामा हुनेले सोचेको बाहेक बाँकी सबै मिथ्या सावित गर्ने प्रयास हुन थालेको छ । नत्र सरकारले राष्ट्रिय गानसम्बन्धी पछिल्ला दुई निर्देशनका विपक्षमा प्रकट विचारको सम्मान गर्ने थियो । 

पशुपतिको आरतीअघि र सिनेमा सुरु हुनुअघि राष्ट्रिय गान बजाउने निर्देशन राष्ट्रिय गानको गरिमा जोगाउनकै लागि फिर्ता लिन आवश्यक छ । सरकारले बुझ्नुपर्छ– राष्ट्रभक्ति करकापले मौलाउँदैन, स्वतस्फूर्त हुन्छ, जति स्वतस्फूर्त हुन्छ त्यति नै दृढ हुन्छ । सरकारले करकाप थोपरेर राष्ट्रिय गानको अपमान गर्ने बाटो खनेको छ । 


Views: 84

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)