15th September | 2019 | Sunday | 7:53:50 PM

चिनियाँ विदेशमन्त्रीको भ्रमण

  POSTED ON : भदौ २५, २०७६ (९:४२ AM)

चिनियाँ विदेशमन्त्रीको भ्रमण

उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यीको भ्रमणलाई निकै चासोपूर्वक हेरिएको थियो । चीनबाट विदेशमन्त्रीको भ्रमण चार वर्षपछि भएको हो । नेपालबाट चीनतर्फ उच्चस्तरीय भ्रमण बाक्लै भएको छ । चीनबाट भने लामो समयदेखि राष्ट्रपति र प्रधानन्त्रीको भ्रमण भएको छैन । चिनियाँ राष्ट्रपति सि चिन फिङ नेपाल आउने कुरा चलेको पनि धेरै भएको छ ।  

वाङको नेपाल आगमन राष्ट्रपति सिको भ्रमणको तयारीका लागि हुने अनुमान गरिएको भए पनि चाँडै भ्रमण हुने संकेत मिलेन । वाङले ‘उपयुक्त समयमा भ्रमण हुने’ कूटनीतिक जवाफ दिएका छन् । हाम्रो परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपतिको भ्रमणका सन्दर्भमा केही जानकारी गराएको छैन । सम्भवतः भ्रमण कहिले हुने भन्नेबारे ठोस प्रगति भएन ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) मा नेपालले सहमति जनाएको छ । यस अन्तर्गत नेपालले केही आयोजना पनि अघि सारेको छ तर ठोस प्रगति भएको छैन । वाङको भ्रमण क्रममा भएको परराष्ट्र मन्त्रीस्तरीय छलफलमा पनि बिआरआइबारे के सहमति भयो भन्ने केही पनि प्रकाश पारिएको छैन । सम्भवतः यसमा पनि ठोस प्रगति हुन सकेन । 

समुद्रसम्मको पहुँचका लागि चीनसँग भएको पारवहन सम्झौता नेपालका लागि ठूलो उपलव्धि हो । यसको कार्यान्वयनका लागि भने पूर्वाधार निर्माणको कुनै तयारी भएको छैन । नेकपा सरकारले निकै ठूलो महŒवाकाङ्क्षाका साथ चिनियाँ रेलको चर्चा गर्ने गरेको छ । रसुवाबाट पसेको रेल पोेखरा, काठमाडौं, लुम्बिनी पुग्ने कुरा छ । यी योजनाका कुरा पनि कार्यान्वयनको चरणमा प्रवेश गरेका छैनन् । 

विदेशमन्त्री वाङको भ्रमणमा तीन वटा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले मनाङमा अस्पताल बनाइदिनेछ । आपतकालीन प्रयोजनका लागि पाँच हजार त्रिपाल दिनेछ । नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षक पठाइदिनेछ । सार्वजनिक गरिएका यी तीन वटा सहमति÷समझदारी विदेशमन्त्रीको भ्रमणका उपहार हुन् । चीनसँग भएका सहमति÷समझदारी कार्यान्वयनको तहमा लैजान नेपालले अझै पर्याप्त तयारी गर्न आवश्यक छ । 

चीन शान्त कूटनीति रुचाउँछ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका सन्दर्भमा नेपालको कूटनीतिक कुशलता आवश्यक पर्छ । नेपाल भ्रमण प्राथमिकतामा नपरेर वा नेपालले आवश्यक तयारी गर्न नसकेर, कुन कारणले हो, चिनियाँ राष्ट्रपतिको भ्रमण हुन सकेको छैन । विदेशमन्त्री वाङको तीन दिवसीय भ्रमणबाट यसमा के प्रगति भयो भन्ने प्रष्ट भइसकेको छैन । हाललाई विदेशमन्त्री वाङको भ्रमण नेपालका लागि महŒवपूर्ण नै मान्नुपर्छ । 


Views: 68

सम्बन्धित सामग्री:

कूटनीतिमा कौशल

: भदौ २९, २०७६ (३:४६ PM)

विस्तारित डेङ्गुको संकेत

: भदौ २६, २०७६ (९:३५ AM)