19th October | 2019 | Saturday | 9:02:21 PM

बैंकमा पल्केको काल

  POSTED ON : आश्विन १०, २०७६ (३:३७ PM)

बैंकमा पल्केको काल

बैंकहरूको इन्टरनेट प्रणाली हृयाक अर्थात कब्जा गरेर एटिएमबाट रकम चोरी गर्ने घटना बढ्न थालेपछि खातावालाहरू सशंकित हुन थालेका छन् । चिनियाँ नागरिकहरूले राजधानी काठमाडौंमा बैंकका एटिएमबाट झण्डै दुई करोड रुपियाँ चोरी गरेको घटनाको तीन साता पनि नबित्दै राजधानीबाहिर कृषि विकास बैंकबाट झण्डै पाँच करोड रुपैयाँ चोरी भयो । यो पछिल्लो घटनामा पाँच अर्ब रुपैयाँ चोर्ने योजना बनेको पनि समाचार आएको छ । 

दुवै घटनामा प्रहरीले आफ्नो कुशलता देखाएको छ । पछिल्लो घटनामा १२ जना पक्राउ परेका छन् । ठूलो क्षति रोक्न र अभियुक्तहरू पक्राउ गर्न सफल भए पनि यस्तो घटना दोहोरिन सक्ने र कुनै दिन ठूलै क्षति हुन सक्ने सम्भावना पनि त्यतिकै प्रबल छ । यस्तो घटना पहिलो वा दोस्रोपटक मात्रै भएको होइन र नेपालमा मात्रै भएको पनि होइन । विश्वभरमै यसको चुनौती छ । सोहीअनुसार साइबर सुरक्षा पनि विकास हुँदै गएको छ । 

पछिल्ला दुई वटा घटनामा चोरी खातावालासम्म पुगेको छैन । एटिएमबाट निकालेर चोरी भएको छ तर खातावालाको रकम घटेको छैन । कुनै दिन एउटा खाताबाटै पनि रकम झिकिन सक्नेछ, एउटा खाताबाट अर्कोमा सारिन सक्नेछ । यस्तो अवस्थामा ग्राहकहरू सोझै ठगिने छन् । आधुनिक प्रविधिसँग सुरक्षामा बढेको यो चुनौतीको सामाना गर्ने प्रविधिले नै हो । यस्तो चोरीको रहस्य पत्ता लगाउन र सुरक्षित बनाउन अझ विकसित प्रविधि र विज्ञता आवश्यक पर्छ । ध्यान दिनुपर्ने मुख्य कुरा यो हो ।

ग्राहकमा आफ्नो रकम सुरक्षाको चिन्ता भए त्यसले बैंकमाथिको विश्वसनियतामा असर गर्नेछ । ठूलो रकम विभिन्न माध्यमबाट विदेशिन सक्नेछ । यस्तो अवस्था सिर्जना भयो भने त्यसले देशको अर्थतन्त्रमै नकारात्मक असर पु¥याउनेछ । यस्तो अवस्था आउन नदिने उपाय बलियो साइबर सुरक्षा नै मुख्य हो । साइबर सुरक्षामा लगानी बढाउनु प¥यो । विज्ञता बढाउनु प¥यो । डिजिटल र इन्टरनेट प्रविधि प्रयोग जति विकल्पविहीन छ । बलियो सुरक्षा प्रविधि पनि त्यतिकै विकल्पविहीन छ । 

साइबर सुरक्षासँगै भौतिक सुरक्षा पनि ध्यान दिन त्यतिकै आवश्यक छ । कुनै व्यक्ति एटिएम बुथभित्र पसेको छ भने कति बेरमा उसले रकम निकाल्न, ब्यालेन्स जाँच्न वा आफ्नो पिनकोड परिवर्तन गर्न सक्छ भन्ने निगरानी गर्ने संयन्त्रबारे पनि सोच्नुपर्ने बेला भएको छ । सुरक्षा गार्ड राख्ने वा प्रविधिबाट निरन्तर अनुगमन गर्ने उपाय पनि अवलम्बन गर्नु उचित हुनेछ । यस्तो सामान्य प्राविधिक तथा भौतिक निरागरानीले पनि क्षति रोक्न सक्नेछ । बैंकले यति गर्न कठिन पनि छैन । 

बैंकबाट मेरो पैसा हराउँदैन भन्ने कुरामा खातावाला ग्राहक ढुक्क हुन सकेन भने अर्थतन्त्रमा समस्या सिर्जना हुनेछ । बैंकले ग्राहकलाई ढुक्क बनाउनु प¥यो । प्रविधिमा पुनरावलोकन गर्नुप¥यो । नियामक निकाय र सरकारले आवश्यक सहयोग गर्नुप¥यो । कति रकम चोरी भयो, धेरै कि थोरै भन्ने प्रश्न गौण हो । जुनसुकै बेला ठूलो क्षति हुनेगरी काल पल्किनु र उपचारमा शंका हुनु चाहिँ डरमर्दो कुरा हो । 

 

 


Views: 156

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)