19th October | 2019 | Saturday | 8:53:22 PM

उन्मुक्त ‘अरिङ्गाल’

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७६ (९:४३ AM)

उन्मुक्त ‘अरिङ्गाल’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरू विपक्षी र विरोधीमाथि ‘अरिङ्गाल’ बनेर खनिन थालेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष आफ्ना कार्यकर्ताहरूलाई ‘अरिङ्गाल’ बन्न निर्देशन दिएका थिए । निर्देशन बिस्तारै पालना हुन थालेका दृश्यहरू देखिन थालेका छन् । 

आइतबार तनहुँको रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताहरूले सांघातिक आक्रमणको प्रयास गरे । रिजाल प्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुन् । उनलाई बाटैमा रोक्न सत्तारुढ दलका कार्यकर्ताहरू हातमा लाठी र बोतल बोकेर ठूलो संख्यामा जम्मा भए । बाटामा रूख ढालेर अवरोध सिर्जना गरे । 

शनिबार चितवनमा भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा चिनिन थालेका युवा ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण भयो । चौबिसकोठीमा ‘खबरदारी सभा’ मा जान लागेका शाहीमाथि नेकपा कार्यकर्ताको हुलले इटाढुंगाले आक्रमण ग¥यो । उनी अस्पतालमा छन् । उनी राजावादी भएकोले सभा गर्न नदिने आक्रमणको भनाइ थियो । 

गत भदौ तेस्रो साता बाँकेमा सत्तारुढ नेकपाकै कार्यकर्ताहरूले मुख्य विपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानको सभामा आक्रमण गरे । आफ्नो एरियामा सभा गर्न नदिने धम्की दिए । मञ्चमा आसिन कांग्रेस बाँके जिल्ला कार्यसमिति सभापति किरण कोइरालाको हात भाँचियो । 

तीन साताभित्रका यी घटनाले नेकपा कार्यकर्ताहरू विपक्षी र विरोधीप्रति घोर असहिष्णु हुन थालेको र आफ्ना पार्टी अध्यक्षको निर्देशनअनुसार ‘अरिङ्गाल’ बनेर खनिन थालेको पुष्टि गरेका छन् । यस्ता घटना ढाकछोप गर्न आक्रमणकारी पक्षले कुनै न कुनै बहना बनाउँछ नै तर व्यक्तिको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताकै उपेक्षा भएको छ । 

सरकारले बाँकेमा भएको घटनामा संलग्नमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । चितवनमा शाहीमथि भएको आक्रमणबारे सरकारको प्रतिक्रिया आएको छैन । घटनाको चौतर्फी विरोध भएको छ । शाही राजावादी होऊन वा अरू कुनै वादी, शान्तिपूर्णरूपमा विचार अभिव्यक्त गर्ने संवैधानिक स्वतन्त्रता उनलाई पनि छ । उनको शैलीमा असहमति हुनसक्छ, उनी आलोचनाभन्दा माथि हुन्छन् भन्ने होइन तर विचारमा असहमत भएकै आधारमा सभा बिथोल्नु र सांघातिक आक्रमण गर्नु कुनै पनि अर्थमा उचित ठहर्दैन । 

सत्तासीनलाई मैले राम्रै राम्रो मात्रै गरेको छु भन्ने लाग्न सक्छ, यो धेरै अस्वाभाविक पनि होइन । विपक्षी र विरोधी त विरोधकै लागि हुन् । बहुदलीय लोकतान्त्रिक प्रणालीले विरोधलाई ठाउँ दिएको हुन्छ । विरोधको सम्मान गर्छ । यहाँ आलोचक र विरोधीको मुख थुन्न आक्रमण नै हुन थालेको छ । नेकपाले नीतिगतरूपमै अवरोध र आक्रमण गर्न थालेको हो भन्नु हतार हुनेछ तर बारम्बार घटना दोहोरिनु र दोषी उन्मुक्त रहनुले कतै मनौताको नीति त होइन भन्ने शंका उब्जिनु स्वाभाविक भएको छ । 

यस्ता घटना दोहोरिन नदिन र नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्णरूपमा भेला हुन पाउने स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी सरकारको हो । सरकार मौन रहन्छ, आक्रमणकारीप्रति रक्षात्मक हुन्छ र घटना दोहोरिरहन्छ भने यसले विग्रहको विजारोपण गर्नेछ । र, यसबाट सबैभन्दा ठूलो क्षति सत्तारुढ दललाई नै हुनेछ । 



Views: 121

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)