19th October | 2019 | Saturday | 8:21:49 PM

मेलम्चीमा जागेको आशा

  POSTED ON : आश्विन १४, २०७६ (९:४७ AM)

मेलम्चीमा जागेको आशा

मेलम्ची खानेपानी आयोजना देशका लागि एउटा कथाजस्तै भएको छ । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन यो आयोजना सरकारले तोकेकै म्यादभित्र सम्पन्न हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । वैशाखमा आउँने पक्का भयो, दशैँमा आउँछ भन्दाभन्दै थुप्रै वैशाख र दशैँ बिते । मेलम्ची आयोजना पूरा गरेर पानी ल्याएर देखाउने महŒवाकाङ्क्षा नराख्ने सरकार बनेन तर पानी आएन । 

इटालियन ठेकेदारले अलपत्र पारेर छाडेको मेलम्चीमा केही आशलाग्दो काम भएको छ । सरकारले अबको एक वर्षमा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ । आयोजनाको ९० प्रतिशतभन्दा बढी काम पूरा भएको भन्ने गरिएको भए पनि सुरुङ पूरा गर्नेदेखि हेडवक्र्सका धेरै काम बाँकी छन् । कुनै अवरोध नभई काम गर्न पाए लक्ष्य पूरा हुन सक्नेछ । 

सिनो हाइड्रो प्रतिष्ठित चिनियाँ निर्माण कम्पनी हो । नेपालमा अहिले पनि माथिल्लो तामाकोशी र तनहुँ जलविद्युत आयोजनामा काम गर्दैछ । यो कम्पनीले कुलेखानी तेस्रोमा पनि काम गरेको हो । यसैले सिनो हाइड्रोसँग भएको ठेक्का सम्झौताले मेलम्ची खानेपानी आयोजना साँच्चै पूरा हुन्छ कि, काठमाडौं उपत्यकाको खानेपानी सङ्कट न्युनीकरण हुन्छ कि भन्ने आशा पलाएको छ । 

मेलम्ची खानेपानी आयोजना लामो समयसम्म पूरा नहुनमा ठेकेकार कम्पनीहरूमात्रै जिम्मेवार छैनन् । काममा उत्पन्न हुने भौतिक र सामाजिक पक्षले उत्तिकै समस्या सिर्जना गर्दै आएका हुन् । निर्माण सामग्री समयमा उपलव्ध नहुनु, स्थानीयवासीहरूका माग र उनीहरूसँग भएका सहमति समयमा सम्बोधन नहुनु, मजदुर र ठेकेदार कम्पनीबीच मधुर सम्बन्ध हुन नसक्ने जस्ता समस्याहरू देखिएका हुन् । 

राजनीतिक र प्रशासनिक स्वार्थको चलखेल छँदैछ । मन्त्री र सचिवबीचको विवाद पनि सतहमा आएको हो । ठेक्कामा आर्थिक चलखेलको स्वार्थ जोडिने नै भयो । राष्ट्रिय गौरवको आयोजना भने पनि अनेक कारणहरूले मेलम्चीको कामले कहिल्यै पनि लक्ष्य भेटेन । गौरव हुन सकेन । मेलम्ची आयोजना पूरा गरेर देखाउने र लाभ लिने भरपूर अवसर वर्तमान सरकारलाई छ । यसलाई एउटा हाँकका रूपमा लिएर सम्पन्न गर्नै पर्नेछ । 

अब लक्ष्यअनुसार काम गर्न सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन । सबै किसिमका अवरोध छिचोलेर अविछिन्नरूपमा काम हुन दिनुपर्छ । कुनै पनि बहानाबाजी हुनु हुँदैन । कुनै बहाना गरेर लक्ष्य सार्ने र चलखेल गर्ने नियत देखियो भने सरकारमाथि नै प्रश्न उठ्नेछ । सरकारको क्षमता कामको घोषणामा भन्दा बढी परिणाममा खोजिने छ । नागरिकहरूमा बढ्दो असन्तुष्टि त्यही परिणामको खोजी हो । 




Views: 130

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)