19th October | 2019 | Saturday | 8:04:34 PM

खुला दिसामुक्त घोषणाको सार्थकता

  POSTED ON : आश्विन १५, २०७६ (११:१६ AM)

खुला दिसामुक्त घोषणाको सार्थकता

सरकारले निकै ठूलो महत्वका साथ देशलाई ‘खुला दिसामुक्त’ घोषणा गरेको छ र दक्षिण एशियामै प्रथम भनेर गौरवका साथ प्रस्तुत गरेको छ । सरकारले खुला दिसामुक्त अभियान २०६८ सालमा सुरु गरेको हो । यो अभियानमा जनचेतना अभिवृद्धिका लागि व्यापक प्रचारप्रसार र एक घर एक चर्पी निर्माणलाई व्यापकता दिइयो । सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि यस अभियानमा संलग्न भए । परिणामस्वरूप ८ वर्षमा नेपाल खुला दिसामुक्त घोषित भयो । 

घोषणाको मुख्य आधार दुई वटा पेश गरिएका छन्≤ पहिलो, सबै जिल्ला खुला दिसामुक्त भइसकेको र दोस्रो, देशका सबै ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनिसकेको । सबै घरधुरीमा शौचालय बन्नु खुसीको कुरा हो । प्रयोगकै लागि बनेको हो भन्ने सोझो अर्थ लाग्ने नै भयो । सरकारले तथ्याङ्ककै आधारमा काम गर्ने हो, निर्णय लिने हो । यस आधारमा सरकार शौचालय गनेर खुला दिसामुक्त घोषणा गर्ने निर्णयमा पुगेको देखिएको छ । खुला दिसामुक्त हुनुका अन्य विश्वसनीय मापदण्डहरू के के हुन् प्रष्ट छैन । 

घोषणा त भयो तर सरकारी अधिकारीहरू देश पूर्णरूपमा खुला दिसामुक्त भयो भन्न हिच्किचाएका देखिन्छन् । शौचालय छ तर प्रयोगमा छैन किनभने धेरै परिवारमा बन्द शौचालयमा दिसापिसाब गर्ने बानी छैन । शौचालयमा पानी छैन । खानेपानीकै अभाव भएका ठाउँमा शौचालयका लागि जोहो पानी हुने नै भएन । कतिपय परिवारले नयाँ हुँदासम्म प्रयोग गरे पनि फोहोर हुँदै गएपछि बन्द गरेर राखेका छन् । कतिपयले घाँसदाउरा राख्ने ठाउँ बनाएका छन् त कतिपयले बाख्राको खोर । 

खुला दिसामुक्त हुनु भनेको शौचालय बन्नुमात्रै होइन, त्यसको पूर्ण प्रयोग हुनु हो । घरघरमा शौचालय प्रयोग भएको छ भनेर मान्ने नै हो भने पनि सार्वजनिक शौचको अवस्था के छ ? राजधानी उपत्यकाका सबै सडक खुला दिसामुक्त छन् ? जनसंख्याअनुसार आवश्यक संख्यामा प्रयोगयोग्य सार्वजनिक शौचालय छन् ? खुला ठाउँमा दिसा गर्न सक्ने सम्भाव्य व्यक्ति सबैको सार्वजनिक शौचालयमा पहुँच छ ? सार्वजनिक सवारी साधनमा लामो दुरीको यात्रामा आवश्यकताअनुसार सार्वजनिक शौचालयहरू छन् ? यी प्रश्नमा सरकारी अधिकारीहरू निरपेक्ष देखिन्छन् । 

दक्षिण एशियामा मात्रै के, संसारमै घोषणामा पहिलो हुनु कुनै ठूलो उपलव्धि होइन र यो पहिलो–दोस्रो हुने प्रतिस्पर्धा पनि होइन । सामाजिक चेतना र सभ्यताको विषय हो । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको कति वर्ष भयो ? हलिया र कम्लरी प्रथा अहिले पनि कुनै न कुनै रूपमा जीवित छ । साँच्चै खुला दिसामुक्त हुन प्रत्येक व्यक्तिले शौचालय प्रयोग गर्न पाउने व्यावहारिक अवस्था हुनु पर्छ । शौचालयहरू सफा र अति आवश्यक सुविधा भएको हुनुपर्छ ।

सरकारले घोषणा गरेको छ≤ यसलाई सकारात्मक मान्नुपर्छ । साँच्चै देश खुला दिसामुक्त भएकै हो भन्ने आमअनुभूति हुन सक्यो भने घोषणा सार्थक मानिनेछ । 






Views: 120

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)