19th October | 2019 | Saturday | 8:06:11 PM

महरा प्रकरणमा न्याय

  POSTED ON : आश्विन १६, २०७६ (१०:०३ AM)

महरा प्रकरणमा न्याय

सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोप लागेपछि राजीनामा गरेर पदमुक्त भएका छन् । संघीय संसद सचिवालयले ‘चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष छानविनका लागि सहज होस् भनी नैतिकताका आधारमा’ सभामुखले राजीनामा दिएको सूचना प्रकाशित गरेको छ । महराले छानविनका लागि राजीनामा दिएको भनेका छन् । उता पीडित हुँ भन्ने महिलाले २४ घण्टामै बयान फेरेर महरा बाबुसमान रहेको र घटना भएको भनेको दिन आफ्नो कोठामा नआएको भन्दै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएकी छन् । 

फौजदारी कसुरसम्बन्धी कानुन आकर्षित हुने उक्त घटना भएको भन्ने सूचना पाएपछि प्रहरी ती महिलाको कोठामा पुगेको र केही प्रमाणहरू संकलन गरेको भन्ने समाचार सार्वजनिक भइसकेको छ । महिलाले आफैँले लगाएको आरोप खण्डन गरिन्, प्रहरीमा उजुरी दिइनन् । आरोप लगाउनेले ‘उजुरी नदिएपछि र घटना भएको होइन भनेपछि’ प्रहरी सरक्क पन्छिएको छ । बुधबार अबेरसम्म छानविनको कुनै पनि प्रक्रिया अघि बढेको जानकारीमा आएको छैन । यसले घटना छानविन नगरी आरोप र आरोप फिर्तामै सेलाउँदै जाने सम्भावना देखियो ।

पीडित हुँ भन्ने महिलाले उजुरी दिइनन् वा आरोप फिर्ता लिइन् भन्ने कारणले महरा आरोपबाट मुक्त हुने छैनन् । उनको निधारमा लागेको कलंकको टीका मेटिने छैन । पीडितलाई प्रलोभनमा पारेर वा धम्क्याएर छानविन नगराएको अर्को आरोप थपिने छ≤ यस्तो आरोपमा सत्तारुढ दल नेकपा र सरकार पनि मुछिनेछन् । महराले त छानविन सहज गराउन राजीनामा गरिसके । महरा स्वयम्ले आफ्नो चरित्रमा ‘गम्भीर’ प्रश्न उठेको भनेका छन् । राष्ट्रको यति उच्चतहको राजनीतिक पदाधिकारीमाथि लागेको बलात्कारजस्तो गम्भीर आरोपमा उजुरी नआएको भनेर राज्य पन्छिनु दण्डहिनता प्रोत्साहित गर्नु हो । 

महरा निर्दोष छन् भने उनलाई सफाइ दिन, दोषी छन् भने पीडित महिलालाई न्याय र महरालाई सजाय दिलाउन निष्पक्ष छानविन अनिवार्य छ । विचारणीय कुरा के छ भने नेकपा सचिवालयले ती महिलाले लगाएको आरोपका भरमा मात्रै सांसदबाट समेत राजीनामा गर्न महरालाई निर्देशन दिएको होइन भन्न कुनै तर्क र विश्लेषण आवश्यक पर्दैन । यसकारणले पनि सरकार छानविनबाट पन्छिन मिल्दैन । सरकारले गर्दैन भने आफ्ना सभामुखमाथि लागेको यति गम्भीर आरोपबारे प्रतिनिधिसभाले छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्छ । 

अर्को बाटो पनि छ, महरा निर्दोष छन् भने उनले सफाइ पाउन आफैँले उजुरी गर्न सक्छन् । आफूमाथि यति गम्भीर प्रकृतिको आरोप लगाउने महिलालाई सजाय दिलाउन महराले उजुरी गर्नुपर्छ । ध्यान दिनुपर्ने अर्को पक्ष के छ भने बलात्कृत भएँ भन्ने ती महिलालाई ‘डिप्रेसन’ रोगी देखाएर घटना सामसुम पार्ने प्रयास पनि हुन सक्नेछ । महिलाले मिथ्या आरोप नै लगाएकी रहिछन् भने पनि त्यस्तो आरोप लगाउनुको कारण खोजी गर्नु अनिवार्य छ, किनभने आरोप देशको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभाका सभामुखमाथि लागेको हो । 

अपेक्षा गरौँ, सरकार र सत्तारुढ नेकपाले यो प्रकरणलाई न्यायका दृष्टिले पनि गम्भीरतापूर्वक लिनेछन् । 

 

 



Views: 132

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)