19th October | 2019 | Saturday | 8:31:50 PM

गान्धीको अहिंसा पथ

  POSTED ON : आश्विन १७, २०७६ (९:३९ AM)

गान्धीको अहिंसा पथ

सत्य र अहिंसाका दृढ पथगामी भारतीय नेता महात्मा गान्धीको जन्म भएको १५० वर्ष भएको छ । उनको निधन भएकै सात दशक भएको छ । संयुक्त राष्ट्रसंघले उनको जन्मदिन अक्टोबर २ लाई विश्व अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेपछि सत्य र अहिंसाको मार्गका लागि गान्धी भारतका मात्रै नभएर संसारका भएका छन् । नेपालमा पनि अहिंसा दिवसका रूपमा महात्मा गान्धीको स्मरण गर्न थालिएको छ । 

राष्ट्रसंघले अहिंसा दिवस भनेपछि मात्रै होइन, नेपालमा गान्धी दर्शनको प्रभाव उनले भारतमा चलाएको अहिंसा आन्दोलनकै समयमा परेको हो । नेपाली कांग्रेसका धेरैजसो नेताहरू अहिंसाकै अनुयायी थिए यद्यपि समयको एउटा कालखण्डमा कांग्रेसको सशस्त्र आन्दोलन ग¥यो । 

नेपालमा राजनीतिक क्षेत्रमा मात्रै होइन, सामाजिक क्षेत्रमा पनि गान्धीको अहिंसा मार्गका अनुयायीहरू थिए । आज पनि छन् । गान्धीको सत्य र अहिंसाको दर्शन विश्वका लागि प्रेरक हुने भएकैले उनको जन्मदिनलाई राष्ट्र संघले विश्व अहिंसा दिवस घोषणा गरेको हो । 

गान्धीको सत्य र अहिंसाको दृढताले नै बृटिश शासकले भारत छाडेको थियो । गान्धी कुनै पनि तर्कमा हिंसात्मक आन्दोलनमा सहमत थिएनन् । उनी हतियारलाई हतियारले मात्रै जित्न सक्छ भन्ने मान्यताका विपक्षमा थिए । अहिंसामात्रै होइन साथमा सत्य पनि थियो । सत्य र अहिंसा अलग हुन सक्दैनन् र अलग भए दुवै रहँदैनन् भन्थे । 

गान्धीका लागि अहिंसाको स्रोत नै सत्य थियो । जुन समय र दिनमा गान्धी बृटिश शासककका विरुद्ध भारत छोडो आन्दोलनमा लागे उनको शक्तिको स्रोत केवल सत्य र अहिंसा थियो । उनका साथमा उनले टेक्ने एउटा लौरो र कछाडबाहेक केही पनि थिएन । सत्य र अहिंसाको मार्गले नै मोहनदास करमचन्द गान्धीलाई भारतका र विश्वकै महात्मा गान्धी बनायो ।

आज भारत र विश्वका धेरै मुलुक कुनै न कुनै रूपले हिंसाबाट पीडित छन् । हिंसालाई नै राजनीतिक शक्तिको स्रोत मान्ने शक्तिहरू छन् । हतियारकै बलमा आतंकवादी शक्तिहरू छन् । आतंकवादी हमला हुने गरेका छन् । नेपालले राजनीतिक मुद्दामा दश वर्ष हिंसात्मक आन्दोलन सामना गर्नु प¥यो । सत्र हजारभन्दा बढीको ज्यान गयो । हजारौँ घाइते भए र बेपत्ता पारिए । अन्ततः शान्तिपूर्ण मार्गबाटै समस्या समाधान भयो । 

राजनीतिक होस् वा अन्य कुनै प्रकारको समस्या, शान्तिूर्ण समाधान नै गान्धी दर्शन हो । पच्चीस सय वर्षअधि गौतम बुद्धले फैलाएको अहिंसाको दर्शन नै गान्धी दर्शन हो । गान्धीको सत्य र अहिंसाको मार्ग उनले आन्दोलन सुरु गर्दा जति सान्दर्भिक थियो, आज पनि त्यतिकै सान्दर्भिक छ र भोलि पनि उत्तिकै सान्दर्भिक हुनेछ । आज गान्धीको नाम लिए वा नलिए पनि उनको मार्ग शाश्वत सत्यको मार्ग हो । 






Views: 117

सम्बन्धित सामग्री:

खाद्य सुरक्षाका लागि

: कार्तिक १, २०७६ (१०:११ AM)

माननीयको मर्यादा

हिमालय टाइम्स : आश्विन ३०, २०७६ (९:४८ AM)