19th November | 2019 | Tuesday | 2:44:34 PM

राजनीतिमुक्त प्रहरी संगठन

  POSTED ON : कार्तिक ४, २०७६ (११:१९ AM)

राजनीतिमुक्त प्रहरी संगठन

नेपाल प्रहरी संगठनमा राजनीतिक दलहरूले सिर्जना गरेको मुख्य समस्या हो अति राजनीतीकरण । सरकार प्रहरी संठगन राजनीतिक लाभहानीका दृष्टिले चलाउँछ, जुन दलको भए पनि । प्रहरीमात्रै होइन सरकारअन्र्तगतका राज्यका कुनै पनि निकायले ऐन–नियमले तोकेको क्षेत्राधिकारअनुसार स्वतन्त्र ढंगले काम गर्न पाउँदैनन् । नेपाल प्रहरी चरम राजनीतीकरण गरिएका संगठनहरूमध्ये एक हो । 

नागरिकको जिउधनको सुरक्षा र समाजमा हुने अपराध अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको हो । नेपाल प्रहरीले अपराधका धेरै घटनामा आफ्नो कौशल देखाएको छ । वर्षौं पुराना घटनामा पनि अभियुक्त र अपराधीहरू समातेको छ । मुद्दा चलाएको छ । धेरै मुद्दामा प्रहरीले सफलता हासिल गरेको छ । यही प्रहरी संगठन अति राजनीतीकरणको प्रभावले कहिलेकाहीँ चर्को आलोचनामा पर्ने गरेको छ, असफल देखिने गरेको छ । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटना प्रहरीको असफलताको पछिल्लो एउटा उदाहरण हो । यसमा घटना क्षेत्रका प्रहरीले कुशलतापूर्वक जिम्मेवारी पूरा नगरेको वा अनुसन्धानमा गलत नियत राखेको शंका भएको हो । प्रहरी संगठनले यसलाई चिर्न सकेन । उक्त घटनामा जानी नजानी राजनीतिक क्षेत्र नै विवादमा तानियो । परिणामस्वरूप पन्ध्र महिना बित्दा पनि ठोस प्रगति भएको छैन । बाह्र वर्ष पुराना घटनामा पनि सफलता हात लागेको भन्ने उदाहरणले प्रहरी थोरै शंकाको लाभमा छ । 

यता रौतहटमा बाह्र वर्षअघि भएको बम विस्फोट र हत्याको एउटा घटनामा विपक्षी दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफ्ताब आलम पक्राउ परेका छन् । उक्त घटनामा यति लामो समयसम्म प्रहरीले कारबाही नचलाउनुमा पनि राजनीतिक प्रभाव नै मुख्य कारण थियो । सर्वोच्च अदालतको आदेश छल्न नसक्ने अवस्था र सम्भवतः अनुकूल परिस्थितिले आलम समातिए । प्रहरीलाई अनुचित राजनीतिक प्रभावमा नराखिएको भए सम्भवतः घटना भएकै समयमा मुद्दा अघि बढ्ने थियो । 

राजनीतिक लाभहानीको दबाबबाट मुक्त प्रहरी संगठनले मात्रै निर्धक्क आफ्नो कारबाही अघि बढाउन सक्छ । मुलुकमा दण्डहीनता अन्त्य गर्ने हो र नागरिकको सुरक्षा प्रभावकारी बनाउने हो भने प्रहरी संगठनलाई अनुचित राजनीतिक दबाबबाट मुक्त राख्नै पर्छ । जतिसुकै उच्च ओहोदाको नेता वा राजनीतिक पदाधिकारी वा उच्च राजनीतिक पहुँचको व्यक्ति किन नहोस्, प्रहरीले निर्धक्कका साथ स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउनुपर्छ । संगठनभित्रैबाट हुने बेइमानी नियन्त्रण गर्ने जिम्मेवारी संगठनको नेतृत्वको हो । 

यसैगरी, दण्डहीनता साँच्चै अन्त्य गर्ने हो भने स्वतन्त्र र निष्पक्ष छानविनका लागि राजनीतिक दलहरूले सघाउनुपर्छ । अपराधीले दण्ड पाएन भने समाजमा शान्ति हुँदैन । सर्वसाधारण नागरिकले सुरक्षित अनुभव गर्न सक्दैनन् । अभियुक्त वा आरोपित व्यक्ति निर्दोष भए त्यो सावित गर्न पनि अनुसन्धानमा सघाउनै पर्छ । त्यसैले दबाबमुक्त प्रहरी र सोहीअनुसारको अनुसन्धान मुख्य आवश्यकता हो । 



 


Views: 121

सम्बन्धित सामग्री:

वैदेशिक रोजगारीका जोखिम घटाऊ

: मंसिर ३, २०७६ (९:५५ AM)

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)