18th November | 2019 | Monday | 10:04:41 PM

विकृतिमुक्त तिहार

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७६ (१०:०६ AM)

विकृतिमुक्त तिहार

हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो ठूलो चाड तिहार संघारमा आएको छ । बजारमा झिलिमिली बत्ती, फूल र भाइमसालको किनमेल सुरु भएको छ । घरघरमा सरसफाइ चल्न थालेको छ । यससँगै सरकारले सद्भाव र मित्रताका साथ मर्यादित तरिकारले तिहार मनाउन आग्रह गरेको छ । भुइँचम्पा, पटाका र आतिशबाजीजस्ता विस्फोटक वस्तुले स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै प्रतिबन्ध लगाएको सूचना जारी गरेको छ । प्रयोग गरे कानुनबमोजिम कारबाही हुनेछ । 

मितव्ययी तरिकाले तिहार मनाउन पनि सरकारले आग्रह गरेको छ । देउसीभैलो खेल्न स्थानीय प्रशासनले तोकेको समयावधि र प्रक्रिया पालना गर्न पनि सरकारले आग्रह गरेको छ । देउसीभैलोलाई मनोरञ्जनात्मकरूपमा मात्र लिन भनेको छ । ‘सभ्यतालाई विकृत तुल्याउने’ र ‘समाजमा नकारात्मक असर पर्ने’ खालका गीतसंगीतमा पनि सरकारले रोक लगाएको छ । यस्तै गीत गएको भनेर यसै साता दुई जना गायक पक्राउ परे । 

चाडपर्वहरू स्वास्थ्य र सुरक्षामा असर नपर्ने गरी सभ्य र मर्यादित तरिकाले मनाउनु पर्छ । घाँटी हेरी हाड निल्नु भनेँ झै मितव्ययी पनि हुनुपर्छ । केही वर्षयता नेपाल प्रहरीले तिहारको पटाका नियन्त्रणमा निकै राम्रो सफलता हासिल गरेको छ । तिहारमा राजधानी काठमाडौं पटकामय हुन्थ्यो, साँझ परेपछि हिँड्नै कठिन । राति अबेरसम्म पटाकाको आवाजले हैरान बनाउँथ्यो । केही वर्ष यता शान्त छ । तराई क्षेत्रका सहरहरूमा पनि क्रमशः नियन्त्रण हुँदै गएको छ । 

शान्ति सुव्यवस्थाका लागि सरकारले कडाइ गर्नु अनिवार्य छ । चाडपर्वहरूमा विकृति फैलिने सम्भावना अलिक बढी नै हुन्छ । तिहारमा ठूलो रकम हारजित हुने गरी जुवातास खेल्ने, देउसीका नाममा अग्रिम पत्र पठाएर रकम माग गर्ने जस्ता विकृतिहरू सहरी क्षेत्रमा बढी छन् । सांकृतिक परम्परालाई कुनै समूह विशेषले स्वार्थमा उपयोग गर्ने गरेको देखिन्छ । यस्ता गतिविधि रोक्नु, नियन्त्रण गर्नु सरकारको काम हो । यस अर्थमा गृहमन्त्रालयको सूचना सकारात्मक मान्नुपर्छ । 

यति हुँदा हुँदै पनि सरकार अलिक बढी नियन्त्रणमुखी हुन थालेको पनि देखिएको छ । गीतमा प्रयोग हुने शब्दमा सरकारले निगरानी गर्न थालेको छ । सरकारले गीत सेन्सर गर्न थालेको हो कि जस्तो देखिएको छ । कुन कुन शब्दले समाजमा कस्तो विकृति फैलायो वा फैलाउँछ भनेर जाँच्ने प्रष्ट मापदण्ड हुनु आवश्यक पर्छ । होइन भने सरकारले अनुचित नियन्त्रण गरेको ठहर्छ । सरकारले देउसी खेल्ने समयमा नियन्त्रण गर्ने गरेको छ ।  

सरकारले व्यक्तिको स्वतन्त्रतामा असर नपर्ने गरी नियन्त्रण र शान्ति सुरक्षाको प्रबन्ध गर्नुपर्छ । सहजीकरण गर्नुपर्छ । व्यक्ति र समूहले पनि समाजप्रति आफ्नो जिम्मेवारी ख्याल गर्न आवश्यक हुन्छ । सभ्य र सुसंस्कृत तरिकाले तिहार मनाऔँ । सामाजिक सद्भाव अभिवृद्धि गरौँ । तिहार तथा दीपावलीको हार्दिक शुभकामना । 


 


Views: 155

सम्बन्धित सामग्री:

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)

सरकारको गति

: कार्तिक २९, २०७६ (१०:१७ AM)