18th November | 2019 | Monday | 9:34:33 PM

प्रधानमन्त्रीको उपचारमा जनचासो

  POSTED ON : कार्तिक १७, २०७६ (३:४९ PM)

प्रधानमन्त्रीको उपचारमा जनचासो

देशका प्रधानमन्त्री बिरामी हुन र उपचार गर्न पाउँछन् । आफ्नो रोगका बारे कसलाई कति जानकारी दिने भन्ने कुरा पनि उनले तय गर्न पाउँछन् । संविधानले संरक्षित गरेको गोपनियताको हक उनलाई पनि आमनागरिक सरह लागू हुन्छ । फरक के छ भने प्रधानमन्त्रीको व्यक्तित्व सार्वजनिक हुन्छ । उनी बिरामी हुँदामात्रै होइन कुनै कारणले दुःखी वा खुसी हुँदा पनि आमनागरिकको चासो हुन्छ । प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी पाउन खोज्नु उनको सुस्वास्थ्यको चाहना र कामना पनि हो । 

आम जानकारीको कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलासम्बन्धी रोगका बिरामी हुन् । बाह्र वर्षअघि उनले मिर्गौला प्रत्यारोपण गराएका हुन् । यही अवस्थामा उनी राजनीतिमा सक्रिय रहिआएका हुन् र हाल मुलुकको कार्यकारी प्रमुख छन् । सत्तारुढ दलका अध्यक्ष छन् । समकालीन नेताहरूमा अधिकतम चलायमान मानिन्छन् । उनको आत्मबल उच्चकोटीको छ । बलियो आत्मविश्वासका साथ रोगसँग लडेका छन् । आफ्नै नेतृत्वमा उनले गठबन्धनलाई दुई तिहाइ नजिकको बहुमतमा पु¥याएका हुन् । रोग लागेपछि उपचारमा गइरहनुपर्छ नै । 

तब प्रधानमन्त्रीको उपचार लुकाउनु आवश्यक छैन । प्रधानमन्त्रीको सम्पूर्ण परीक्षण रिपोर्ट सार्वजनिक गर्न कहीँ कतै माग भएको छैन । चासो केवल उनको स्वास्थ्य अवस्था के हो र कुन उपचार भएको भन्ने हो । प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्यस्थिति बारे उचित जानकारी सार्वजनिक गर्न उनको सचिवालयले कन्जुस्याइँ गर्ने गरेको छ । लुकाउने चाहना ओलीकै हो भने पनि उचित होइन । देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र उपचारबारे थाहा पाउने आमनागरिकको चाहनाको सम्मान गर्न पनि ठिक समयमा ठिक जानरकारी दिन आवश्यक हुन्छ । 


आमचासोको कुरा लुकाउने प्रयास गर्दा त्यसले भ्रम सिर्जना गर्छ । भ्रमले गर्ने क्षति नै हो, कहिल्यै भलो गर्दैन । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा पनि कसैको राजनीतिक दाउपेच छ भने त्यो निकृष्टता हो । भ्रमको खेती त जनसाधारणले गर्दैन, गर्ने दाउपेचका खेलाडी नै हो । दाउपेच र भ्रम चिर्न पनि प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे यथार्थ जानकारी सार्वजनिक गराउनु आवश्यक हुन्छ । प्रधानमन्त्री ओली स्वयम्लाई यति थाहा नभएको होइन । उपचारमा संलग्न टोलीलाई उपचारबारे जानकारी गराउने अनुमति हुनुपर्छ । 

प्रधानमन्त्री ओली गत साता दुई दिन अस्पताल बसे । उनको हेमो डायलाइसिस गरियो तर जानकारी गराउन कन्जुस्याइँ गरियो । नियमित स्वास्थ्य परीक्षण भन्दै उपचार लुकाउने प्रयास असफल भएपछि मात्रै जानकारी सार्वजनिक गरिएको हो । यो गलत तरिका हो । सच्याउन आवश्यक छ । नियमित परीक्षण नै किन नहोस्, अस्पताल जाँदा, परीक्षणमा रहँदा र फर्किंदा औपचारिक जानकारी गराउने पद्धति हुनै पर्छ । यसो भए जनचासो सम्बोधन हुन्छ, गलत सूचना प्रवाह हुँदैन र कसैले भ्रम सिर्जना गर्न पाउँदैन । 

प्रधानमन्त्री ओली र उनको टिमले यो तथ्य हृदयङ्गम गर्न आवश्यक छ । 




 


Views: 126

सम्बन्धित सामग्री:

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)

सरकारको गति

: कार्तिक २९, २०७६ (१०:१७ AM)