19th November | 2019 | Tuesday | 2:18:07 PM

बिउमा किसानको के दोष !

  POSTED ON : कार्तिक १८, २०७६ (१०:२४ AM)

बिउमा किसानको के दोष !

यसपालि चितवन, लम्जुङ, कैलाली, कञ्चनपुर, तनहुँ, नवलपरासी लगायतका आठ वटा जिल्लाका केही किसानले गरिमा जातको धानबाट उत्पादन पाएनन् । सामान्यतया १२० देखि १२५ दिनमा पाक्नुपर्ने गरिमा धानमा यसपालि उक्त अवधिमा बाला नै लागेन । राष्ट्रिय कृषि अनुसन्धान परिषदले सूचीकृत गरेर सिफारिस गरेको जात हो गरिमा । यस वर्ष करिब १४ हजार हेक्टरमा गरिमा जात रोपिएको अनुमान छ । यो ५० हजार मेट्रिक टनभन्दा बढी उत्पादन क्षति हो । 

उत्पादन बढाउन रैथाने जातले मात्रै सम्भव छैन । नश्ल सुधार गरिएका आधुनिक बिउ, मल र विषादि प्रयोग अनिवार्यजस्तै भएको छ । विज्ञहरूले लामो अनुसन्धान र परीक्षणबाट मात्र नयाँ जातको बिउ सिफारिस गर्छन् । धान, गहुँ, मकै लगायतका सबै बालीमा नयाँ बिउ यसरी नै सिफारिस हुन्छ । सिफारिसकै आधारमा किसानहरूले खेती लगाउँछन् अनि कहिलेकाहीँ फल नलागेर क्षति बेहोर्न बाध्य हुन्छन् । यसपालि गरिमा जातको धानमा भएको क्षति निकै ठूलो हो । 

नयाँ जातमा फल नलाग्ने घटना पहिलोपटक भएको होइन । मध्य तथा पूर्वी तराईका किसानहरूले मकैमा निकै ठूलो क्षति बेहोरेका हुन् । सिफारिस भएका सबै बिउ स्वदेशमै उत्पादन हुने होइन । बिउ विजन गुणस्तर नियन्त्रण केन्द्रले भारतबाट गरिमा जातको बिउ आयत गर्न अनुमति दिएको थियो । यसरी आयात भएको बिउ किसानले प्रतिकेजी ४५० रुपैयाँमा किनेका थिए जो नक्कली भएको अनुमान छ । बिउ नक्कली पर्छ भने किसानको के दोष ¤  

नयाँ बिउ सिफारिस हुँदा खेती गर्ने तरिका पनि सिफारिस भएको हुन्छ । सो अनुसार खेती नहुँदा वा प्राकृतिक वातावरणमा सामान्य फरक पर्दा पनि फल नलाग्ने सम्भावना हुन्छ । बिउ नै नक्कली परेको अवस्थामा त फल लाग्ने नै भएन । जसो भए पनि मर्कामा पर्ने किसान नै हुन् । सामान्यतया यस्ता परिमार्जित आधुनिक जातमा लागेको फलले बिउको काम गर्दैन । किसानले प्रत्येक वर्ष महँगो मूल्यमा बिउ खरिद गर्नुपर्छ । जताबाट पनि मर्का पर्ने किसानलाई नै हो । 

यस्तो अवस्थामा किसानले राहत तथा क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्ने हो । अनधिकृति बिउ आयात गरेर बेच्नेलाई कानुनी कारबाही हुने व्यवस्था छ तर पीडित किसानले क्षतिपूर्ति पाउँदैन । किसान पछुतो मानेर पर्पुरोमा हात राख्नमात्रै सक्छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । अधिकृत कम्पनीबाट खरिद गरेको बिउबाट भएको क्षतिमा उचित क्षतिपूर्ति पाउने कानुनी व्यवस्था हुनुपर्छ । बाली बिमाबाट राहत हुनसक्छ तर यसतर्फ पर्याप्त कार्यक्रम र चेतनाको अभाव छ । परिमार्जित आधुनिक बिउले उत्पादन बढाउन त सघाएको छ तर रैथाने जातहरू पनि नष्ट हुँदैछन् । किसान आफैँ बिउ उत्पादन गर्न नसक्ने अवस्थामा पुग्दैछन् । स्वदेशमा बिउ उत्पादन नगन्य छ । बिउमा अरूको भर पर्नुपर्ने र बिउकै कारण किसानले क्षति बेहोर्नुपर्ने भएपछि उत्पादन वृद्धि हुन कठिन पर्छ । हावापानी परिवर्तन, बढ्दो लागत जस्ता कारणले कृषकहरू पलायन हुँदै गएको अवस्थामा बिउबाट हुने क्षति अर्को ठूलो विडम्बना हो । सरकारले उचित समाधान खोज्नुपर्छ । 


Views: 117

सम्बन्धित सामग्री:

वैदेशिक रोजगारीका जोखिम घटाऊ

: मंसिर ३, २०७६ (९:५५ AM)

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)