18th November | 2019 | Monday | 11:09:24 PM

सडक दुर्घटनाको व्यथा

  POSTED ON : कार्तिक २१, २०७६ (१२:४५ PM)

सडक दुर्घटनाको व्यथा

सडकमा सवारी दुर्घटना वर्षेनी बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष १३ हजार ३६६ दुर्घटना सडक भए जसमा २ हजार ७८९ जनाको मृत्यु भयो, साढे १४ हजार जनाभन्दा बढी घाइते भए । आर्थिक वर्ष २०७१÷७२ देखि यताका पाँच वर्षमा दुर्घटना र मृत्युको संख्या क्रमशः बढ्दै गएको छ । यी पाँच वर्षका पहिलो वर्षको तुलनामा पाँचौँ वर्षमा दुर्घटनाको संख्या करिब ४७ प्रतिशत र मृत्युको संख्या ३९ प्रतिशतले बढेको छ । 

आइतबार दोलखाबाट आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १८ जनाको ज्यान गयो, ५१ जना घाइते भए । गत असोज अन्तिम साता सिन्धुापल्चोकमै भएको दुर्घटनामा १४ जनाको ज्यान गयो । म्याग्दी र काठमाडांैमा भएका दुई वटा दुर्घटनामा ७ जनाको ज्यान गयो । मोटरसाइकल लगायत अन्य निजी सवारी साधनको दुर्घटना छँदैछ । प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय सवारी दुर्घटनामा दैनिक सरदर ७ जनाभन्दा बढीको ज्यान जाने गरेको छ ।

सडकमा हुने सवारी दुर्घटना र मानवीय क्षति न्युनीकरणको विषय सधैँ ओझेलमा पर्ने गरेको छ । दुर्घटनाको कारण सामान्यतया सधैँ उही देखिने गर्छ– चालकको लापवाही, सडकको खराब अवस्था, तीव्रगति, उछिनपाछिन, क्षमताभन्दा बढी भार, थोत्रा साधन आदि । दुर्घटना न्युनीकरणका लागि अति सिमित जनशक्तिमा प्रहरीको प्रयासबाहेक अन्य कुनै प्रभावकारी नीति र ठोस कार्यक्रम छैन । सवारी नियमसम्बन्धी कानुन कमजोर त छँदैछ, भएको कानुन कार्यान्वयनसमेत टिठलाग्दो छ । 

सुकुटेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइतेको कुल संख्या ६९ जना छ । यात्रुको यो संख्या सिटसंख्याभन्दा दोब्बर हो । यति धेरै यात्रु हुनमा को जिम्मेवार छ ? यात्रुलाई जसरी पनि जानै पर्ने छ, सवारी सञ्चालकलाई बढीभन्दा बढी यात्रु बोक्नु छ । क्षमताभन्दा बढी यात्रु बोक्नु सामान्य मानिने गरेको छ । नियामक निकाय लाचार छ । यात्रु सम्भावित दुर्घटना ख्याल गर्दैन किनभने ऊ जानु नै छ । जुन गाडी पनि उस्तै आउँछ, कति पर्खिने !

न गति नियन्त्रणको कुनै प्रभावकारी प्रणाली छ न क्षमताभन्दा बढी यात्रु नियन्त्रणको । जति यात्रु राखे पनि कुनै कारबाही नहुने भएपछि किन नराख्ने ¤ यस्तो अवस्थामा दुर्घटना नहुनु बूढापाकाले भन्ने गरेझैँ दिन बलिया हुनुमात्रै हो । यसबाहके दुर्घटनाका अन्य कारणहरू छँदैछन् । ठूला चाडपर्वमा ‘यात्रुको मर्का ध्यानमा राखेर’ सवारी सञ्चालनमा दिइने छुट दुर्घटना निम्त्याउन कति जिम्मेवार छ भन्नेतिर त नियामक निकायले सोच्नै पाएको छैन होला । 

नियमन प्रणालीमै यस प्रकारले हुने सवारी दुर्घटना भवितव्यमै सिमित छ≤ उद्धार, उपचार इत्यादि । घटनाको प्रवृत्ति र न्युनीकरणका दृष्टिले छानविन हुँदैन । दुर्घटना न्युनीकरणको मुख्य उपाय प्रभावकारी ऐनकानुन र नियमन नै हो । यस्तो नियमन राज्यको प्राथमिकतामा पर्नुपर्छ । आवश्यक जनशक्ति व्यवस्था गर्नुपर्छ, र आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ । सवारी सञ्चालन ख्यालख्याल होइन, कडा नियमको परिधिले बाँधिएको हुनुपर्छ । सवारी सञ्चालक कम्पनीहरूले आफ्ना चालक र कर्मचारीहरूलाई प्रशिक्षित गर्नुपर्छ । राज्यले नगन्य मानेको क्षति पनि पीडितका लागि त शतप्रतिशत नै हुन्छ । पीडितको दृष्टिबाट नीतिनियम बनाउने र प्रभावकारी कार्यान्वयन गर्ने हो भने सडक सवारी दुर्घटना अहिलेको तुलनामा न्युनीकरण असम्भव छैन ।

Views: 117

सम्बन्धित सामग्री:

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)

सरकारको गति

: कार्तिक २९, २०७६ (१०:१७ AM)