18th November | 2019 | Monday | 10:00:08 PM

नेपाली भूमिको रक्षा

  POSTED ON : कार्तिक २२, २०७६ (९:३५ AM)

नेपाली भूमिको रक्षा

नेपाली भूभाग कालापानीमा भारतीय अतिक्रमण नयाँ होइन । भारतले दार्चुलामा पर्ने उच्च भूभाग कालापानी आफ्नो नक्सामा पार्दै आएको छ । जम्मु काश्मीरको विशेषाधिकार खारेज गरेर जम्मु र काश्मीरमा विभाजन गरेपछि हालै प्रकाशित नयाँ नक्सामा पनि भारतले कालापानीलाई आफ्नोतर्फ पारेको छ । भारतलाई थाहा छ, कालापानीमा दुई देशबीच सीमा विवाद छ । विवाद सुल्झाउन परराष्ट्र मन्त्रालयका सचिवस्तरीय समिति पनि छ तर यसलाई बेवास्ता गरेर भारतले कालापानीमा अतिक्रमण गरेको छ ।  उक्त क्षेत्रमा नेपाल र भारतबीचको सीमा नदी महाकाली हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा महाकाली नदीवारि अर्थात नेपालतर्फ पर्छन् । भारतले भने नेपालतर्फको खोलालाई नै सीमानदीका रूपमा व्याख्या गरेर यी क्षेत्रमा दाबी गर्दै आएको छ । कालापानीमा भारतीय सैन्यले कब्जा जमाएकै पनि ६० वर्ष हुन लागेको छ । नेपालको सहमति बेगरै कालापानीलाई आफ्नै भूभागका रूपमा भारतले चीनसँग व्यापारिक सम्झौता समेत गरेको छ । यसमा नेपालले असहमति जनाएको छ तर भारतले वास्ता गरेको छैन । 

कालापानीमात्रै होइन, सीमा विवाद भएका ठाउँ धेरै छन् । सीमा विज्ञहरूका अनुसार ७० भन्दा बढी ठाउँमा सीमा विवाद छ र नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतको अतिक्रमणमा परेको छ । नेपाल र भारतबीच १८ सय किलोमिटर खुला सीमाना छ । यसमध्ये धेरैमा मानवरहित क्षेत्र मानिने दशगजा समेत छैन । कति ठाउँमा नेपाली किसान मालपोत तिर्छन् तर खेती भारतीयले खेती गर्छन् । तराईका सप्तरी, परासी, कञ्चनपुर हुन् कि पहाडमा ताप्लेजुङ, पाँचथर वा दार्चुला≤ भारतीय अतिक्रमणमा परेका छन् । 

दुई देशबीच सीमा विवाद सुल्झाउन, सीमास्तम्भहरू निर्माण÷पुनर्निर्माण गर्न कामै नभएको होइन तर कामको गति अति मन्द छ । झण्डै पाँच वर्षअघि भनिएको परराष्ट्र सचिवस्तीय समितिको बैठक नै बसेको छैन । संयुक्त सीमा कार्यदल छ । केही ठाउँमा सीमास्तम्भहरू पुनर्निर्माण गरिएका पनि छन् तर कालापानी विवाद यथावत छ । हुँदा हुँदा भारतले विवाद नठानेर आफ्नै भूभाग मान्न थालेको छ । व्यापारिक मार्ग बनाउन चीनसँग भएको सम्झौता भारतको यस्तै हेपाहा प्रवृत्तिको परिणाम हो । 

भारतले कालापानीलाई आफ्नो नक्साभित्र पारेको विषयमा नेपालले असहमति प्रकट गर्दै उक्त भूभाग आफ्नै भएको प्रष्ट पारेको छ । सीमाका विषयमा एकपक्षीय निर्णय मान्य नहुने पनि नेपालले प्रष्ट पारेको छ । प्रतिक्रियामा भारतीय अधिकारीले नेपाली भूमि आफ्नो नक्सामा नपारेको जिकिर गर्दै द्विपक्षीयरूपमा विवाद सुल्झाउन सकिने धारणा प्रकट गरेका छन् । नेपालले राजनीतिक र कूटनीतिक दुवै ढंगले भारती कदमको विरोध गर्नुपर्छ र आफ्नो भूभाग भारतीय नक्साबाट हटाउन र नेपालकै हो भन्न भारतलाई सहमत गराउन पहल गर्नुपर्छ । 

नेपाली भूभाग अतिक्रमण भएको हो । सीमा विवाद सुल्झाउने संयन्त्रहरूलाई सक्रिय बनाउन पनि नेपाल अग्रसर हुन आवश्यक पर्छ । यसमा अलिकति पनि विलम्ब गर्नु हुँदैन, आफ्नो भूमि रक्षा गर्नै पर्छ । हो, हतार र पौँठेजोरीले विवाद समाधान हुँदैन तर बेवास्ता र अनिश्चित विलम्बले समस्या झन जटिल बनाउँदै लैजान्छ । ध्यान दिनुपर्ने मुख्य तथ्य यो हो । 



Views: 141

सम्बन्धित सामग्री:

सामाजिक सुरक्षामा अन्योल

: मंसिर १, २०७६ (४:०५ PM)

सरकारको गति

: कार्तिक २९, २०७६ (१०:१७ AM)