8th December | 2019 | Sunday | 9:31:35 AM

देउवाको असंयमित अभिव्यक्ति

  POSTED ON : मंसिर १०, २०७६ (१०:३९ AM)

देउवाको असंयमित अभिव्यक्ति

प्रतिनिधिसभामा विपक्षी दलका नेता रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेर जारी गरेको नक्साका बारे दिएको अभिव्यक्ति आवेगयुक्त र असंयमित छ । उनले पोखरामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको आरोप लगाए । आरोपको आधारबारे उनले विश्वसनीय तथ्य केही सुनाएनन् । ओलीले भारतीय प्रधानमन्त्रीसँग सोझै कुरा गर्नु पर्नेमा त्यसो नगर्नु नै उनको सहमति हो भन्ने देउवाको तर्क छ । 

कालापानीदेखि लिम्पियाधुरासम्मको नेपाली भूभाग मिचिएको घटना नयाँ होइन । आफ्नै भूभाग मानेर नक्सा नै जारी गरेपछि भारतको नियत सतहमा आएको हो । देउवा चारपटक प्रधानमन्त्री भइसकेका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा भारतसँग कुरा उठाएको बताएका छन् तर त्यसको परिणाम के भयो भन्ने जानकारी गराएका छैनन् । नेपाली भूमिबाट भारतीय सेना फिर्ता गराउन पूर्ववर्ती सरकारहरूले के कस्तो प्रयास गरे र परिणाम के भयो भन्ने प्रष्ट छैन । यसबारे देउवा केही हदसम्म जानकार हुनुपर्ने हो । 

भारतीय नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक राखेका हुन् । उक्त बैठकमा देउवालगायत कांग्रेस नेताहरू सहभागी थिए । नेपाली भूमि फिर्ता गराउन भारतसँग कूटनीतिक र राजनीतिक पहलका लागि सबैले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । बैठकमा देउवाले नेपाली भूमि मिचिएको विषयमा प्रधानमन्त्री ओलीमाथि शंका प्रकट गरेका थिएनन् । बैठक भएको दुई साता भएको छ । यसबीचमा परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएर असहमति प्रकट गरेको छ ।  

सीमा मिचिएको जस्तो गम्भीर समस्या रातारात समाधान हुने होइन । उग्रताले पनि हुने होइन । संयमतापूर्वक कूटनीतिक र राजनीतिक पहल आवश्यक पर्छ । एकताबद्ध स्वर आवश्यक पर्छ । देउवाको जस्तो अभिव्यक्तिले सीमा विवाद समाधानमा ऐक्यबद्धताको आवाज कमजोर बनाउँछ । दलहरूबीच विभाजन देखाउँछ । भाइ फुटेको देखाउँछ । भाइ फुटे के हुन्छ भन्ने हाम्रा नेताहरूलाई सम्झाउनुपर्ने कुरा होइन । सर्वदलीय बैठकपछिको दुई सातामै केही गरेनन् भन्ने कुराले मात्रै आफ्नो भूमि मिचेर नक्सा छाप्न प्रधानममन्त्रीले सहमति दिए भन्नु क्षणिक आवेगको असंयमित अभिव्यक्ति हो । 

विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्री हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवाले शंका प्रकट गरेका हुन् पार्टीको ठहर होइन भनेर केही परिमार्जनका साथ बचाउ गरेका छन् । यो बचाउले पनि देउवाको अभिव्यक्ति उचित थिएन भन्ने संकेत गरेको छ । राष्ट्रिय नेताको अभिव्यक्ति शंकाको भरमा होइन, तथ्यका आधारमा आउनुपर्छ । शंका सत्य ठहरिए ओलीले त्यसको परिणाम भोग्ने नै छन् । त्यसो नभए देउवाले आफ्नो अभिव्यक्ति कसरी सच्याउँछन् ? देउवाजस्ता खारिएका अनुभवी नेताको अभिव्यक्ति तथ्यपरक र संयमित हुनुपर्छ । 

सीमा मिचिनु राष्ट्रको समस्या हो । समाधानका लागि एकै स्वर आवश्यक पर्छ । आफ्नो तर्क र प्रमाण खण्डित हुने अभिव्यक्ति नहोस् भन्नेतर्फ गम्भीर हुन आवश्यक पर्छ ।  


 



Views: 135

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)