13th December | 2019 | Friday | 4:39:28 PM

भयावह सुर्ती सेवन

  POSTED ON : मंसिर ११, २०७६ (४:१३ PM)

भयावह सुर्ती सेवन

नेपालमा धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन भयावहरूपमा बढ्दो क्रममा छ । स्वास्थ्यका लागि हानिकारक छ भनेर थाहा पाउनेहरू नै धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन् । पछिल्लो एक अध्ययनअनुसार नेपालको कुल पुरुष जनसंख्यामा ६१ प्रतिशतभन्दा बढीले धुमपान गर्छन् । झण्डै २२ प्रतिशत महिला सुर्ती सेवन गर्छन् । नेपालीहरूले वार्षिक ४७ अर्ब रुपैयाँ सुर्तीजन्य पदार्थमा खर्च गर्छन् । यो खर्च कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत हो । 

धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनले हरेक वर्ष २७ हजार १०० नेपालीको मृत्यु हुन्छ । करिब १४ हजार ५०० जनाको मृत्यु सुर्तीजन्य पदार्थले हुने मुटुरोगका कारणले हुने गरेको छ । अप्रत्यक्ष धूमपानले पनि सन् २०१७ मा ३ हजार ६८३ जना नेपालीको ज्यान गयो । धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगले हुने रोगको उपचारमा हुने खर्च बढ्दो छ ।  कतिसम्म भने क्यान्सर, मुटुको रोगजस्ता गम्भीर प्रकृतिका रोग लाग्ने भएकाले यस्तो खर्च निकै विकाराल हुन सक्नेछ । 

नेपाल दक्षिण एसियामा उच्च सुर्तीजन्य पदार्थ सेवन गर्ने देश र सुर्तीका उत्पादनमा सबैभन्दा कम कर दिने देश पनि नेपाल नै हो । नेपालमा यस्ता उत्पादनमा ३० प्रतिशतमात्र कर छ जबकि विश्व स्वास्थ्य संगठनले ७० प्रतिशत कर लिन सिफारिस गरेको छ । यसअनुसार कर लिने हो भने एकातिर राजस्व वृद्धि हुनेछ भने अर्कातिर प्रयोग पनि घट्नेछ । सुर्तीका हानिकारक उत्पादनको प्रयोग घटाउन करवृद्धि मुख्य उपायहरूमध्ये एक हुनसक्छ । यसतर्फ भने नेपाल सरकारको ध्यान पुगेको देखिँदैन ।   

सामान्यतया चुरोट उद्योगहरू बढी राजस्व बुझाउनेमध्येमा पर्छन् । सरकारलाई राजस्व आवश्यक हुन्छ । चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योग फस्टाउन दिएर बढी राजस्व संकलन गर्ने कि उपभोग घटाउन नियन्त्रणका उपायहरू अपनाउने भन्नेमा सरकार प्रष्ट हुन आवश्यक छ । चुरोट लगायत सुर्तीका उत्पादनका प्याकेटमा राखिएका खतरा सूचक चित्र र सन्देश सेवन घटाउन कति प्रभावकारी छन् भन्ने पनि अध्ययन हुन आवश्यक छ । उत्पादकहरूले आवश्यकता नभई बाध्यात्मकमात्रै मान्छन् भने त्यस्तो चित्र र सन्देशको उद्देश्य पूरा हुँदैन । 

चुरोट, खैनीलयागत सुर्ती मिश्रित गुट्खासमेत सर्वत्र सहज उपलब्ध छ । खरिदमा उमेर लगायत अन्य कुनै किसिमको बन्देज छैन, जसले जहाँ जति वेला पनि मागेजति किन्न पाउँछ । सेवनका लागि पनि कुनै किसिमको नियन्त्रण छैन । सार्वजनिक स्थलमा धुमपान निषेध भनिए पनि प्रभावकारी कार्यान्वयन छैन । जति सहज उपलब्ध हुन्छ, स्वास्थ्य समस्याको जोखिम त्यति नै धेरै हुन्छ । सेवन पूर्णप्रतिबन्ध सम्भव नहोला तर मात्रा नियन्त्रण गर्न सकिन्छ तर यसतर्फ नियामक निकायहरू गम्भीर छैनन् ।  

नेपाली थिङ्क ट्याङ्क संस्था ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ ले गरेको पछिल्लो अध्ययनले नेपालमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन र त्यसको परिणामको अवस्था निकै भयावह देखाउँछ । धुँवा होस् वा धुँवाविहीन, सुर्ती सेवन संसारमै प्रचलित परम्परा हो । लत लागेपछि जत्रै जोखिम पनि बेवास्ता गर्न मानिस तयार हुन्छ । प्रभावकारी नियमनसँगै जनचेतना अभिवृद्धि नियन्त्रणको मुख्य उपाय हुन सक्छ । सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणका लागि सबै उपाय अपनाउन सरकारले कदम चाल्न अनिवार्य छ । 


Views: 161

सम्बन्धित सामग्री:

सागको सफलता र हाँक

: मंसिर २६, २०७६ (३:४२ PM)

मानव अधिकारमा सरकारी भ्रम

: मंसिर २५, २०७६ (४:३२ PM)

भिड नियन्त्रणमा प्रहरी उन्माद

: मंसिर २४, २०७६ (४:२३ PM)