13th December | 2019 | Friday | 3:43:45 PM

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७६ (११:२२ AM)

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार आकस्मिकरूपमा एपेन्डिसाइटिस्को शल्यक्रिया भएको छ । चिकित्सकहरूले सफलतापूर्वक शल्यक्रिया गरेका छन् । उनी अस्पतालमा चिकित्सकहरूको उच्च निगरानीमा छन् । अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार प्रधानमन्त्री ओली चिकित्सकहरूको अपेक्षाअनुसार स्वास्थ्यलाभ गर्दैछन् । कुरा गर्न सक्ने र झोल पदार्थ खान सक्ने अवस्थामा छन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको रोगका पीडित हुन् । करिब १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेको छ । उनी नियमित हेमोडायलासिमा छन् । चार साताभन्दा कम समयमा चार पटक डायलासिस भइसकेको छ । मिर्गौलाका रोगीहरू सधैँ उच्च संक्रमणको जोखिममा हुन्छन् । चिकित्सकहरूका अनुसार यस्ता रोगीको शल्यक्रिया सधैँ जोखिमपूर्ण हुन्छ । प्रधानमन्त्री ओलीले त्यही जोखिम सामना गर्नुपरेको छ । 

शल्यक्रियापछि अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस्सँगै पेरिटोनिटिस् भएको जनाइएको छ । चिकित्सकहरूका अनुसार यो संक्रमण सामान्य स्वास्थ्य अवस्थाको मानिसलाई पनि जोखिमपूर्ण हुन्छ । अङ्ग प्रत्यारोपण गरेको व्यक्तिका लागि झनै उच्च जोखिम हुन्छ । यस्तै  जोखिमको अवस्थामा प्रधानमन्त्रीको शल्यक्रिया भएको छ जो एकमात्र विकल्प थियो । 

मिर्गौलाको रोगका कारण प्रधानमन्त्री ओली सधैँ संक्रमणको उच्च जोखिममा छन् । बाक्लो सार्वजनिक सहभागिता उनका लागि सधैँ जोखिमपूर्ण हुन्छ । मुलुकको प्रधानमन्त्रीको सार्वजनिक सहभागिता नहुने कुरा भएन तर यसमा आवश्यक सतर्कता अपनाउन सकिन्छ । यसमा सबैभन्दा बढी ध्यान दिने बिरामी व्यक्ति स्वयम्ले हो । 

प्रधानमन्त्री ओलीको उच्च मनोबल साँच्चै अद्वितीय छ । उनको मिहिनेत र सक्रियता कुनै अब्बल स्वस्थ व्यक्तिको भन्दा कम छैन । तैपनि सार्वजनिक स्थलमा बढी सहभागिता उनका लागि उचित छैन । चिकित्सकहरू नियमित हेमोडायलासिस कि पुनः मिर्गौला प्रत्यारोेण भन्ने ठोस निष्कर्षमा पुगिसकेका छैनन् । नियमित डायलासिसबाट पनि मानिस वर्षौं सक्रिय रहन सक्छ । सम्भाव्य संक्रमणबाट भने आफूलाई जोगाउनु पर्छ ।

मुलुकको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सम्पूर्ण नागरिकको चासोको विषय हो । नियमित स्वास्थ्य परीक्षण र उपचारमा रहनुपर्ने अवस्थाका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि उचितरूपमा सार्वजनिक जानकारी गराउनु आवश्यक हुन्छ । सूचना लुकाउँदा भ्रम सिर्जना हुन्छ । प्रधानमन्त्री ओलीको सचिवालयले यसतर्फ ध्यान दिन आवश्यक छ ।

प्रधानमन्त्रीको उपचारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ र उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनु पर्छ । प्रधानमन्त्रीको उपचार खर्च विवादको विषय बन्नु हुँदैन । यसतर्फ प्रधानमन्त्री ओली स्वयम् र सरकारले ध्यान दिनु जरुरी छ । प्रधानमन्त्री ओली स्वस्थ रहून् । उनको उपचार सफल होओस् । उनी आफ्नो जोखिमपूर्ण स्वास्थ्य अवस्था ख्याल राखेर प्रधानमन्त्रीका रूपमा सक्रिय रहन सकून् । 

पूर्ण स्वास्थ्य लाभका लागि हार्दिक शुभकामना ¤

 





Views: 115

सम्बन्धित सामग्री:

सागको सफलता र हाँक

: मंसिर २६, २०७६ (३:४२ PM)

मानव अधिकारमा सरकारी भ्रम

: मंसिर २५, २०७६ (४:३२ PM)

भिड नियन्त्रणमा प्रहरी उन्माद

: मंसिर २४, २०७६ (४:२३ PM)