13th December | 2019 | Friday | 4:17:05 PM

बैंकमाथि बढ्दो हमला

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७६ (१०:४७ AM)

बैंकमाथि बढ्दो हमला

नेपाली बैंकहरू चोरको तारो बन्न थालेका छन् । आधुनिक कम्युटर सञ्जालको प्रविधिले बैंक व्यवस्थापन र ग्राहकलाई कारोबारमा मात्रै होइन चोरलाई चोरी गर्न पनि सजिलो हुन थालेको छ । कतै हृयाकरले व्यक्तिको खातामा प्रवेश नगरी एटिएमबाट रकम निकाल्छन् त कतै चेक र एटिएम कार्ड प्रयोग गरेर व्यक्तिको खातामै हमला गरेका छन् । प्रहरीले नक्कली हस्ताक्षर गरेर खाताबाटै रकम निकाल्ने गिरोह फेला पारेको छ । 

बुधबार प्रहरीले सार्वजनिक गरेको गिरोहमा २५ वर्षभन्दा कम उमेरका युवाहरू संलग्न छन् । दुई जना त १८ र १९ वर्षका छन् । उनीहरूले १९ वटा बैंकलाई निशाना बनाएका थिए । ती बैंकका चेक, झण्डै तीन सय जनाका नागरिकता प्रमाणपत्र, बैंक स्टेटमेन्ट, व्यक्तिको नामसहित तिनको खातामा रहेको रकमको विवरण, हस्ताक्षरको नमूना लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । झण्डै २० लाख रुपैयाँ पनि बरामद भएको छ । 

केही महिना अघि चिनियाँ हृयाकरहरूको समूहले नेपाली बैंकहरूलाई निशाना बनाएका थिए । ती हृयाकरका केही व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो । बैंककै कर्मचारी पनि कहिलेकाहीँ रकम चोरीमा पक्राउ पर्ने गरेका छन् । यसै सता कृषि विकास बैंकका केही कर्मचारीमाथि मुद्दा दायर भएको छ । चोरले कर्मचारीसँग मिलेमतो गरेर पनि बैंकको रकम चोरी गरेका घटनाहरू भएका छन् । 

बैंकमा रकमको सुरक्षा नेपालको मात्रै होइन, अन्य मुलुकमा पनि चुनौतीको विषय बन्दैछ । यस्तो चुनौती सामनामा सुरक्षा सुदृढीकरणबाहेक अर्को विकल्प छँदै छैन । बैंकका कर्मचारीमाथि निगरानीको प्रणाली सुदृढीकरण पनि उत्तिकै आवश्यक छ । बैंकमाथि यस्तो हमलाले मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पु¥याउँछ । बैंकमाथि ग्राहकहरूको विश्वास कमजोर भयो भने त्यसले रकम पलायनको जोखिम बढाउँछ । त्यसैले सुरक्षा प्रणाली सुदृढ बनाउनु नै मुख्य उपाय हो ।  

व्यक्तिमा हुने आपराधिक मनोवृत्तिको एउटा पक्ष छँदैछ । यससँगै रातारात धनी हुने र मोजमस्ती गर्ने बढ्दो मनोवृत्तिले पनि युवालाई अपराधतिर धकेलेको हुन सक्छ । बुधबार सार्वजनिक गरिएका अभियुक्तहरूको उमेरले यस्तै संकेत गर्छ । आधुनिक प्रविधिले यस्तो अपराधमा सघाउ पु¥याएको छ । यसको अर्थ आधुनिक प्रविधिबाट पछि हट्ने भन्ने होइन, सम्भाव्य सबै प्रकारका अपराध नियन्त्रणका लागि सुरक्षा प्रणाली सुदृढ गर्ने हो । 

बैंकहरूले आफ्ना ग्राहकमा पनि सुरक्षा चेतना फैलाउन उत्तिकै जरुरी छ । चोरले नै ग्राहकलाई फोन गरेर मोबाइल फोन अफ गर्न लगाउने र रकम निकाल्ने जुन उपाय अपनाएका छन् यसले ग्राहकलाई कसरी सचेत गराउने भन्नेतर्फ बैंकले निकै गम्भीरतापूर्व सोच्नुपर्ने देखाएको छ । यो पछिल्लो घटनाको गहिराइसम्मको अनुसन्धानले रकम चोरीको अपराधका केही पक्षहरू छर्लङ्ग पार्नेछ । जो बैंक व्यवस्थापनका लागि पनि शिक्षाप्रद हुन सक्नेछ । 


Views: 166

सम्बन्धित सामग्री:

सागको सफलता र हाँक

: मंसिर २६, २०७६ (३:४२ PM)

मानव अधिकारमा सरकारी भ्रम

: मंसिर २५, २०७६ (४:३२ PM)

भिड नियन्त्रणमा प्रहरी उन्माद

: मंसिर २४, २०७६ (४:२३ PM)