8th December | 2019 | Sunday | 9:04:18 AM

साग खेलमात्र होइन सन्देश पनि

  POSTED ON : मंसिर १५, २०७६ (३:४६ PM)

साग खेलमात्र होइन सन्देश पनि

दक्षिण एशियाली खेलकुद (साग) नेपालमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दशरथ रंगशालामा उद्घाटन गर्ने कार्यक्रम छ । खेलकुदका इभेन्टहरू काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । उद्घाटनदेखि १० दिनको खेलकुद नेपालका लागि खेलको सबैभन्दा ठूलो आयोजना हो । सागको प्रचलनअनुसार दुई वर्षअघि नै नेपालले आयोजना गरेको हुनुपथ्र्यो । भूकम्पबाट भएको क्षतिका कारण तीनपटक सरेर अहिले हुन सकेको हो । 

साग नेपालका लागि राष्ट्रको प्रतिष्ठा र गौरवसँग जोडिएको विषय हो । सात देशका सयौँ खेलाडीहरूले २६ वटा इभेन्टमा खेल्नेछन् जसमा ३१७ स्वर्ण पदक, त्यति नै रजत पदक र ४८१ वटा कास्य पदक छन् । प्रतिस्पर्धा पदक जित्नैकै लागि गर्ने हो । आफ्नै भूमिमा भएको प्रतियोगितामा बढीभन्दा बढी पदक जित्ने चाहना नेपाली खेलाडी र नेपाली खेलप्रेमीलाई नहुने कुरा भएन । आयोजक राष्ट्रका हैसियतले यति ठूलो खेल समारोह सफलतापूर्वक सम्पन्न गर्नु झन् ठूलो विजय हुनेछ । 

नेपालमा एक महिनापछि भ्रमण वर्ष सुरु हुँदैछ । यस अर्थमा पनि साग आयोजना नेपालका लागि महŒवपूर्ण छ । सार्क मुलुकका खेलाडी, अफिसियल र अन्य आगन्तुकहरूले लैजाने सन्देशले नेपाल भ्रमणलाई पनि प्रभाव पार्नेछ । साग खेल हुने काठमाडौं, पोखरा र जनकपुरले अनि नेपालको आतिथ्यले नेपाल भ्रमण २०२० तयारीको सन्देश दिनेछन् । खेलका पूर्वाधारहरुको तयारी अघिल्लो दिनसम्म चल्दै थियो । खेल अधिकारी र व्यवस्थापकहरू तयारीमा सन्तुष्ट देखिएका छन् । यो सकारात्मक पक्ष हो ।

खेलका पूर्वाधार, सुरक्षा र आतिथ्यले हामीलाई चिनाउने छ । यससँगै उद्घाटन र समापन समारोह उत्तिकै महŒवपूर्ण हुनेछन् । नेपालका लागि मात्रै होइन सार्ककै लागि पनि साग समारोह कम महŒवको छैन । सार्क संगठन निष्क्रिय हुँदै गएको र यसको भविष्यमै शंका बढ्दै गएको अवस्थामा अध्यक्ष राष्ट्रको हैसियतले सागमार्फत सार्कको औचित्यको सन्देश दिने अवसर पनि नेपाललाई छ । ठूलो खेल समारोह सफलतापूर्वक सम्पन्न गर्ने अवसरका रूपमा मात्रै होइन, सन्देश प्रवाहका दृष्टिले पनि नेपालका लागि १३औँ सागको विशेष महŒव हुनेछ । 

व्यवस्थापकीय दृष्टिले सफलतापूर्वक खेल समारोह सम्पन्न गर्न सकेमात्रै नेपालले जितेका पदकको पनि प्रतिष्ठा हुनेछ । यति ठूलो र महŒवपूर्ण समारोह सफलतापूर्वक सम्पन्न गरेर देशको प्रतिष्ठा र गौरव बढाउन प्रत्येक व्यक्तिले आआफ्ना ठाउँबाट सहयोग गर्नु नागरिक कर्तव्य हो । यो गौरव कुनै राजनीतिक दल, राज्यको कुनै निकाय वा कुनै पदाधिकारी विशेषको होइन । साग नेपालले आयोजना गर्ने ठूला समारोहमध्येको एक हो । यसमा गौरव गरौँ । 



Views: 101

सम्बन्धित सामग्री:

भान्साकोठामा विद्युत खपत

: मंसिर १९, २०७६ (१०:१५ AM)