13th December | 2019 | Friday | 4:00:08 PM

अस्तित्व देखाउने हिंसा

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:१६ AM)

अस्तित्व देखाउने हिंसा

उपनिर्वाचनको मतदान शान्तिपूर्णरूपमा सम्पन्न भयो । केही ठाउँमा विस्फोटका घटना भए पनि अवरोध भएन । निर्वाचन प्रचारकै क्रममा पनि कतै कतै ससानो विस्फोट भएको हो । मतदानका दिन सबैभन्दा बढी विस्फोटको घटना प्रतिनिधिसभा सदस्य निर्वाचन भएको कास्की क्षेत्र नम्बर २ मा नै भयो । मतदान केन्द्रहरूजिकै विस्फोट भयो, केन्द्रमा केही भएन । लम्जुङ, र सर्लाहीमा पनि विस्फोट भयो । बैतडीमा सुरक्षाकर्मीले बम निष्क्रिय गराए । 

एउटा समूह संसदीय लोकतान्त्रिक निर्वाचन पद्धतिको विरुद्धमा छ । तत्कालीन विद्रोही माओवादीबाट छुट्टिएर बनेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह उही दश वर्षे हिंसाकै बाटोमा छ । उक्त समूहले नेकपा नाम राखेको भए पनि निर्वाचन आयोगमा दर्ता छैन । यो समूह वर्तमान संविधान र राज्य व्यवस्थाको विपक्षमा छ । संविधानले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको भए पनि दर्ता नरहेको कारण देखाएर सरकारले उसका गतिविधिमा रोक लगाएको छ । 

सरकारले वार्ताको प्रयास नगरेको होइन तर सफल हुन नसकेपछि सरकार प्रतिबन्धको निष्कर्षमा पुगेको हो । यसपछि उक्त समूहका धेरै नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । गतिविधिमा पनि केही कमी आएको छ तैपनि हिंसात्मक माध्यमबाट आफ्नो अस्तित्व देखाउन सकेको छ । निर्वाचनका समयमा भएका विस्फोटहरू यस्तै अस्तित्वको संकेत हो । यसअघिको संसदीय तथा स्थानीय निर्वाचनमा पनि ठाउँ ठाउँमा विस्फोटका घटना भएका हुन् । अहिले पनि त्यसैको निरन्तरता हो ।

निश्चय नै, गतिविधि निकै कमजोर भएको छ । उपनिर्वाचनमा पनि सांकेतिकरूपमा मात्रै विस्फोट गराएको देखिएको छ । विप्लवको समूहले विस्फोटहरूको औपचारिक जिम्मेवारी लिएको पनि छैन । हिंसामा अन्य समूहहरू पनि संलग्न हुन सक्छन् । छिटफुट नै देखिए पनि हिंसाका यस्ता घटना  भविष्यका लागि खतरनाक हुन सक्छन् । सरकारले विप्लव समूहलाई राजनीतिक मान्यता नदिएको हुनाले तत्कालै वार्ताको सम्भावना पनि देखिँदैन । विप्लव समूह वर्तमान राज्य व्यवस्थामा समाहित हुन आउने पनि देखिँदैन ।

यसको अर्थ हो, छिटफुट हिंसाको निरन्तरता । यसले कुनै बेला ठूलै क्षति पनि पु¥याउन सक्ला । सरकार त सधैँ शान्तिपूर्ण समाधानका पक्षमा रहनु पर्छ । यसो हुन वार्तामात्रै विकल्प छ । जुन गतिविधिमा विप्लव समूह छ, त्यसले दुवैतर्फ क्षतिबाहेक केही पनि गर्दैन । छिटफुट क्षति पु¥याउनु र अस्तित्व देखाउनुले मात्रै राजनीतिक उद्देश्य हासिल हुँदैन । आत्मरतिमा रमाउनुको कुनै अर्थ छैन । हिंसा छाडेर वार्तामा बस्ने वातावरण बनाउन दुवै पक्ष गम्भीर हुन आवश्यक छ । 

 

   


Views: 124

सम्बन्धित सामग्री:

सागको सफलता र हाँक

: मंसिर २६, २०७६ (३:४२ PM)

मानव अधिकारमा सरकारी भ्रम

: मंसिर २५, २०७६ (४:३२ PM)

भिड नियन्त्रणमा प्रहरी उन्माद

: मंसिर २४, २०७६ (४:२३ PM)