3rd July | 2020 | Friday | 1:35:18 AM

मनको छाउगोठ नि !

हिमालय टाइम्स   POSTED ON : पुष २३, २०७६ (९:५२ AM)

मनको छाउगोठ नि !

महिनावारी भएकी महिला घर छाडेर गोठमा अलग्गै बस्नुपर्ने चलन तोड्ने–तोडाउने हालसम्मका प्रयासहरू प्रायः असफल भएका छन् । ‘छाउपडी प्रथा’ भन्ने गरिएको यस्तो चलनबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला प्रभावित छन् । कर्णाली प्रदेशको सुर्खेत बढी प्रभावित पाइएको छ । संघीय सरकारको निर्देशनमा हालै स्थानीय तहले छाउगोठ भत्काउने अभियान नै चलाएका छन् । यस प्रदेशका दैलेख, सल्यान र जाजरकोटमा छाउपडी प्रथा छ । सुदूरपश्चिमको अछाम सबैभन्दा बढी प्रभावित छ । 

सरकारका अनुसार सल्यानमा सबैभन्दा बढी १ हजार ८०० र त्यसपछि अछाममा १ हजार २०० छाउगोठ फेला परेका छन् । केही दिनयता यीमध्ये धेरै गोठ भत्काइएका छन्, यसैसाता भत्काइसकिने भनिएको छ । एक्लै वा साना छोराछोरीका साथ गोठमा रात बिताउनु पर्दाका समस्याहरू सञ्चार माध्यममा ठूला समाचार बन्ने गरेका छन् । घरभन्दा परको सानो गोठमा सुरक्षा खतरा झेल्नु परेको छ । निसास्सिएर, सर्पले टोकेर, आगलागी भएर महिला र बालबालिकाको ज्यान जाने घटनाहरू भएका छन् । 

छाउपडी प्रथाले महिलामाथि गरेको विभेद अन्त्य गर्न छाउगोठ भत्काउने र चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू नचलाइएका होइनन् । छाउगोठ भत्काए पनि, महिनावारीको प्राकृतिक नियम र महŒवबारे जानकारी गराए पनि अपेक्षित प्रगति भएन । छाउगोठ भत्काइए तर मनभित्रको गोठ भत्किएन । घरका पुरुष र महिला दुवैका मनमा छाउगोठ रहिरहँदा महिलाहरू ओडार खोज्न बाध्य भए । कति त खुला ठाउँमा पाल बनाएर सुते । असुरक्षा झन् बढ्यो । बढ्दो चेतनाले कम हुँदै गएको छ तर प्रगतिको गति साह्रै मन्द छ ।

छाउगोठ भत्काउनु एउटा उपाय हो तर समाधानको अचुक अस्त्र होइन भन्ने कुरा अनुभवले देखाइसकेको छ । कानुनी प्रबन्ध पनि नभएको होइन । चेतना अभिवृद्धिको कार्यक्रम नचलाएको पनि होइन । तैपनि छाउपडी प्रथा किन यति जब्बर छ ? किनभने, यो लामो कालखण्डमा विकसित भएको हो, पुस्तान्तरण हुँदै आएको हो । मानिसको मृत्युअघि र पछि पनि ‘सजाय’ दिने अदृश्य शक्ति ठानिने ‘देउता’ को भयसँग जोडिएको छ । शिक्षा, चेतना र आधुनिक कानुन यहीँनेर चाहिएको छ । गोठ भत्काएपछिको कार्यक्रम पनि आवश्यक छ । 

जहाँ भत्काइए त्यहाँ महिनावारी भएपछि महिलाले ओडार खोज्नु नपरोस् । खुला आकाशमा रात बिताउनु नपरोस् । अथवा, फेरि अर्को छाउगोठ नबनोस् । 

छाउपडी प्रथा जरैदेखि उखेल्न नयाँ पुस्ताबाट काम थाल्नुपर्छ । यो पुस्ताको चेतनामा देउताको भय प्रवेश हुनबाट रोक्नुपर्छ । आत्मविश्वास जागृत गराउनुपर्छ । यसो गर्न निरन्तर प्रयास आवश्यक पर्छ । फुसको छाउगोठ जति छिटै र सजिलै भत्किन्छ, त्यसरी मनको छाउगोठ भत्किँदैन । भाषणले पनि हुँदैन । अनुभवले भनेको कुरा यही हो । छाउपडी प्रथा विभेदकारी मात्रै होइन अमानवीय पनि छ । तैपनि किन यसबाट मुक्त हुन यति कठिन परेको हो ? समाधान खोज्नुपर्ने मुख्य प्रश्न यही हो ।  






Views: 162

सम्बन्धित सामग्री:

क्वारेन्टिनहरूको व्यवस्थापन

: असार १९, २०७७ (१२:४६ AM)

असहमतिबीच निजामती विधेयक

: असार १७, २०७७ (१०:५० AM)