19th January | 2020 | Sunday | 8:44:44 AM

अशान्तिको बढ्दो जोखिम

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७६ (१०:४० AM)

अशान्तिको बढ्दो जोखिम

अमेरिकाले इरानी सैन्य प्रमुख कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारिदिएपछि मध्यपूर्वमा तनाव बढेको छ । दुवै मुलुकले एक अर्कालाई समाप्त पारिदने धम्की दिएका छन् । यसले युद्धको त्रास सिर्जना भएको छ । कतिपय विश्लेषकले त तेस्रो विश्वयुद्धको शंका गरेका छन् । आफ्ना सेनाप्रमुख मारिएको प्रतिशोधमा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा रकेट आक्रमण गरेपछि युद्धको भय झन बढेको छ । विभिन्न मुलुकहरूले अमेरिका र इरानलाई शान्त रहन आग्रह गरेका छन् । 

इराकले अमेरिकालाई सैनिक फिर्ता लैजान आग्रह गरेको छ । त्यहाँको संसदले नै सैनिक फिर्तासम्बन्धी प्रस्ताव पारित गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आग्रह अस्वीकार गरेका छन् र थप सैनिक पठाउने बताएका छन् । इराकमाथि कडा नाकाबन्दी गर्ने चेतावनी पनि दिएका छ । इराकले अमेरिकीमात्रै होइन अन्य देशलाई पनि सैनिक फर्काउन आग्रह गरेको छ । अमेरिकी सेना वा नागरिकमाथि आक्रमण भए एकैपटक इरानका ५२ स्थानामा हमला गर्ने चेतावनी दिएका छन् ।

अमेरिका र इरानको शत्रुता नयाँ होइन । ट्रम्प राष्ट्रपति भएपछि उनले इरानसँगको परमाणु सम्झौताबाट अमेरिकालाई अलग गरे । यहीँबाट शत्रुता चर्किंदै गएको हो । आफ्ना सैन्य प्रमुख मारिएपछि इरानले आणविक शक्ति विकास र भण्डारणका लागि आफू कुनै बन्देजमा नरहने घोषणा गरेको छ । दुवैका प्रतिशोधपूर्ण कारबाहीले मध्यपूर्वलाई मात्रै होइन सिंगो विश्वलाई नै युद्धको त्रासमा होमेको छ । अमेरिका–इरान द्वन्द्वको नकारात्मक प्रभाव विश्वबजारमा देखिन थालेको छ ।  

विभिन्न देशहरू अमेरिका र इरानका पक्ष र विपक्षमा देखिन थालेका छन् । धेरै मुलुकहरूले शान्ति कायम राख्न आग्रह गरेका छन् । अमेरिकामै पनि सुलेमानीमाथि आक्रमणको विरोध भएको छ । युद्धको चिन्ता बढेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको तनाव न्युनीकरणका लागि भूमिका निर्वाह गर्ने बताएका छन् । इरान जाने उनको कार्यक्रम सार्वजनिक भएको छ ।  दुवै देश चर्को प्रतिशोधमा उत्रेकाले कुनै पनि बेला विनाशक युद्ध हुनसक्ने खतरा बलियो हुँदै गएको छ । 

अमेरिका र इरानका कारण होओस् वा अन्य कुनै कारणले, मध्यपूर्वमा हुने अशान्तिले बढी प्रभाव पर्ने मुलुकमा नेपाल पनि हुने छ । इराकलगायत खाडी मुलुकमा रोजगारीको सिलसिलामा लाखौँ नेपाली पुगेका छन् । उनीहरूको सुरक्षा र स्वदेश फिर्ति मुख्य चासोको विषय हुन्छ । नेपाल सरकारले यसतर्फ गृहकार्य गर्न आवश्यक छ । युद्धबाट पर्न सक्ने अन्य प्रभाव न्युनीकरणका लागि पनि गृहकार्य र तदनुकूल तयारी आवश्यक पर्नेछ । बुधबारसम्म विकसित परिस्थितिले अशान्तिको जोखिम बढाएको छ । 






Views: 129

सम्बन्धित सामग्री:

दाहालको इमान

हिमालय टाइम्स : माघ ३, २०७६ (१०:४४ AM)