27th January | 2020 | Monday | 6:40:14 AM

फेरि यस्तो अपराध नहोस्

  POSTED ON : पुष २९, २०७६ (१०:३३ AM)

फेरि यस्तो अपराध नहोस्

व्यवसायमा अपराधीकरण कति बेहद छ भन्ने कुराको ज्वलन्त दृष्टान्त हो धनुषाको मिथिला नगरपालिकामा भएको युवकको हत्या । प्राकृतिक स्रोतको अनियन्त्रित दोहन गरेर कमाउन पल्केकाहरूको दादागिरी जताततै छ । उक्त नगरपालिकाको श्रीपुरका २४ वर्षीय युवक दिलीपकुमार महतो झिसमिसे बिहानमा सांघातिक आक्रमण परे र ट्रिपरले किचेर मारिए । उनी व्यवसायको नाममा खोलाको गिट्टी बालुवा अनियन्त्रित दोहनको विरोधी थिए । यही विरोध नै उनको हत्याको कारण बन्यो । अपराधीको आक्रमणको शिकार बने । 

देशभर बालुवा, गिटी र ढुंगाको ठूलो व्यवसाय छ । यी व्यवसायको नियमन जिल्ला र स्थानीय तहअन्तर्गत छ । तोकिएको मापदण्डअनुसार तोकिएको परिमाणमा मात्रै यी प्राकृतिक स्रोत उत्खनन गर्न पाउने नियम छ । नियमअनुसार व्यवसाय सञ्चालनको सम्झौता हुन्छ तर उत्खननमा नियम पालना हुँदैन । अनुगमन, नियमन इत्यादि केही पनि हुँदैन । किनभने, यहाँ मिलेमतो भएको हुन्छ । प्राकृतिक स्रोत बढीभन्दा बढी दाहोन गर्ने र कमभन्दा कम कर तिर्ने प्रवृत्ति छ । स्रोतको संरक्षण नियामक भनिने निकाय र व्यवसायी दुवैको प्राथमिकतामा पर्दैन । 

अनियमितता, बेइमानी र भ्रष्टाचारमा प्रश्न उठाउनेहरू आँखाको तारो बन्छन् । बालुवा, ढुंगा, गिटीजस्ता प्राकृतिक स्रोतको व्यवसाय गर्नेहरू स्थानीय डन÷गुण्डा र सानाठूला सबै राजनीतिक नेताको संरक्षणमा हुन्छन् । धेरै ठाउँमा राजनीतिक व्यक्ति नै गुप्तरूपमा यस्ता व्यवसायी छ, जसले उच्च तहबाट संरक्षण पाएको हुन्छ । अनि फस्टाउँछ अपराध । गुप्त राजनीतिक संरक्षणमा आपराधिक गतिविधि हुने गरेका थुप्रै दृष्टान्तहरू छन् । विवेक, नैतिकता र कानुनभन्दा पैसा ठूलो भएपछि निमुखाहरू आँखाको तारो बन्छन् । श्रीपुरको घटना यस्तै एउटा दृष्टान्त हो । 

घटनाको अनुसन्धानका क्रममा चार जना पक्राउ परेका छन् । कुनै पनि प्रकारको दबाब र प्रभावमा नपरी अनुसन्धान गरेर मुद्दा चलाउनु पर्छ । हत्यारा र सहयोगीहरू सबैले अधिकतम सजाय पाउनुपर्छ । अनुसन्धान गर्ने निकायले यो अपराधको लहरो पनि पत्ता लगाउन सक्नुपर्छ । यसो भयो भनेमात्रै अपराध गर्न उक्साउने, सघाउने र संरक्षण गर्ने प्रवृत्ति न्युनीकरण हुनेछ । दिलीपको हत्या आकस्मिक नभई अत्यन्त योजनाबद्ध जस्तो देखिन्छ । यो घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाही हुनसक्यो भने यस्तो अपराध निरुत्साहित गर्न मद्दत पुग्नेछ । 


निर्धारित मापदण्डमा रहेर व्यवासय चलाउन निरन्तर अनुगमन, नियमन, कारबाही आवश्यक पर्छ । बालुवा, गिटी र ढुंगाको व्यवसायमा यो प्रक्रिया अत्यन्तै कमजोर छ । धेरैजसो यस्ता व्यवसाय निर्धारित मापदण्डबाहिर चलेका छन् । निषेधित भनिएको क्षेत्रमा पनि चलेका छन् । तोकिएभन्दा बढी उत्खनन् गरेका छन् । श्रीपुर घटनापछि प्रदेश २ सरकारले नियमनमा कडाइ गर्ने भएको छ । मापदण्ड विपरीत चलेकालाई बन्द गर्ने भनेको छ । श्रीपुरको घटना नियामक निकायहरूका लागि शिक्षा हुनुपर्छ । फेरि यस्तो अपराध नदोहोरियोस् । 


 








Views: 148

सम्बन्धित सामग्री:

कोरोना संक्रमणको जोखिम

: माघ १२, २०७६ (४:१३ PM)

चिनी उद्योगीको अटेर

: माघ १०, २०७६ (१०:०६ AM)

पर्यटकको सुरक्षामा प्रश्न

: माघ ९, २०७६ (१०:५९ AM)