17th February | 2020 | Monday | 6:04:17 AM

पर्यटकको सुरक्षामा प्रश्न

  POSTED ON : माघ ९, २०७६ (१०:५९ AM)

पर्यटकको सुरक्षामा प्रश्न

सन् २०२० को सुरुवातसँगै हामी भ्रमण वर्ष मनाइरहेका छौँ । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित सरकारले भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । हाम्रो अभियानको सफलता वा असफलताका लागि नेपाल आएका विदेशी पर्यटकले यहाँ महसुस गर्ने आतिथ्यता, यहाँका प्राकृतिक सम्पदा, नेपालमा घुम्दा–बस्दा उनीहरुले प्राप्त गर्ने सुविधालगायत विषय निकै महŒवपूर्ण हुन्छन् । पछिल्ला केही घटना–दुर्घटनाले भने नकारात्मक सन्देश प्रवाह हुने पो हो कि भनेर हामी बेलैमा सचेत हुन जरुरी देखिन्छ ।

केही दिनअघि अन्नपूर्ण बेस क्याम्पमा हिमपातका कारण कयौं पर्यटक अलपत्र परे । कठिन प्रयासका बाबजुद अधिकांश पर्यटकको उद्धार गरिए पनि चार कोरियाली पर्यटक र तीन नेपाली सहयोगी फेला पर्न सकेनन् । मुस्ताङतर्फ लागेका चार चिनियाँ नागरिक बेपत्ता भएको समाचार प्रकाशमा आयो । सो क्षेत्रमा मौसमको प्रतिकूलता हाम्रो संयन्त्रले पूर्वानुमान गर्न नसकेको हो ? मौसम प्रतिकूल हुँदैछ भन्ने थाहा थियो भने उनीहरूलाई सो क्षेत्रमा जान किन दिइयो ? प्रश्न उठ्नु स्वाभाविक हो ।

अर्कोतिर, मकवानपुरको दामनस्थित एक रिसोर्टमा सोमबार राति सुतेका १५ भारतीय पर्यटकको टोलीमध्ये ८ जनाले मंगलबारको बिहानी देख्न पाएनन् । मंगलबार बिहान उनीहरू कोठामै बेहोस अवस्थामा लडिरहेको फेला परे । हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरे । आफू सुतेको कोठामा झ्याल ढोका बन्द गरेर रातभर हिटर बालेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको बताइन्छ ।

यो भवितव्य हो, दुर्घटनाका रूपमा उनीहरूको मृत्यु भयो । होटलमा मात्र होइन, घरमा पनि यसप्रकारका दुर्घटना बेलाबखत हुने गरेको पाइन्छ । यद्यपि, भ्रमण वर्षको पहिलो महिनाभित्रै प्रकाशमा आएका उल्लेखित दुई घटनाले हाम्रो अभियानमा कतै न कतै प्रश्न उठाइरहेको छ, पर्यटकको सुरक्षाका लागि खोई त प्रबन्ध ?

हामी भ्रमण वर्ष २०२० लाई आधार वर्ष मानेर यो दशकलाई नै भ्रमण दशकका रूपमा मनाउने अभियानको कुरा गरिरहेका छौँ । पर्यटकलाई नेपाल भिœयाउनेमात्र होइन, नेपाल आएका पर्यटकलाई नेपाल सुरक्षित छ, यहाँ पर्यटकमैत्री वातावरण छ, घुम्नका लागि अनेक गन्तव्य छन्, सुविधा उपलब्ध छ भन्ने सन्देश दिनु महŒवपूर्ण विषय हो । ता कि, उनीहरू आफ्नो देश फर्केपछि आफन्त, साथीभाइलगायतलाई पनि नेपाल घुम्न जानका लागि प्रेरित गर्न सकून् । आफूसँगै घुम्न आएका साथीलाई गुमाएर वा उनीहरूसँग बिछोडिएर आफ्नो मुलुक पुगेका पर्यटकले हाम्रो अभियानलाई कुन रूपमा लिन्छन् होला भन्नेतर्फ हामी स्वयं बेलैमा सचेत हुन जरुरी छ । यस्ता घटनालाई ‘दुर्घटना’ भनेर टार्ने होइन, आगामी दिनमा यस्ता कमी कमजोरी कुनै पनि पक्षबाट नहोस् भन्नेतर्फ समयमै हेक्का राख्न आवश्यक देखिन्छ ।


Views: 61

सम्बन्धित सामग्री:

ओली सरकारको दुई वर्ष

: फाल्गुन ४, २०७६ (३:४५ PM)

‘जनयुद्ध’ रजत

हिमालय टाइम्स : फाल्गुन २, २०७६ (११:३४ AM)