29th February | 2020 | Saturday | 5:18:06 AM

कांग्रेस प्रष्ट हुुनुपर्ने कुरा

  POSTED ON : माघ २६, २०७६ (४:०१ PM)

कांग्रेस प्रष्ट हुुनुपर्ने कुरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा घोटाला प्रकरणमा मुद्दा चलाएपछि विपक्षी दल नेपाली कांग्रेस आक्रोशित बनेको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध गराएको छ । जनवर्गीय संगठनहरूले सडकमा निस्केर विरोध जनाएका छन् । यस मामिलामा विरोध जनाउनुअघि कांग्रेस केही विषयमा प्रष्ट हुन आवश्यक पर्छ । नत्र आफ्नो कदम आफ्नैलागि प्रत्युत्पादक हुन सक्छ । 

ललिता निवास जग्गामा ठूलो घोटाला भएको कुरा अब घामजत्तिकै छर्लङ्ग भएको छ । जानेर वा नजानेर, राजनीतिक संलग्नता नभई त्यति ठूलो बद्मासी हुँदैन । यसमा को को कुन आधारमा संलग्न छन् भन्ने छानविन गरेर मुद्दा विशेष अदालतमा पुगेको छ । अहिलेलाई अदालतले दूध–पानी छुट्याउने विश्वास गर्नै पर्छ । चित्त नबुझे माथिल्लो अदालत जाने अधिकार छँदैछ । कुनै पनि किसिमले भ्रष्टाचार हुनु हुँदैन र भएको ठाउँमा कारबाही हुनुपर्छ भन्ने उच्च प्राथमिकता कांग्रेसको पनि हुँदै हो । 

कांग्रेसको विरोध गच्छदारमाथि मुद्दा लगाएकोमा हो कि लगाउनुपर्ने अरू कोहीमाथि मुद्दा नलगाएकोमा हो ? नलगाएकोमा हो भने कांग्रेस सप्रमाण अघि बढ्नु प¥यो र यी व्यक्तिहरूमाथि मुद्दा चलाऊ भनेर नाम किटान गर्नुप¥यो । कांग्रेसले सरकारले अख्तियारलाई प्रभावमा पारेर राजनीतिक पूर्वाग्रहका आधारमा बद्नियतपूर्वक गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाएको छ । मुद्दा लगाएकोमा विरोध हो भने निर्दोषिता प्रमाणित गर्नु प¥यो । कांग्रेसले विरोध गर्न नपाउने होइन तर प्रतिनिधिसभाको अवरोध कुन शर्तमा खुला हुन्छ ? 

उपर्युक्त प्रश्नमा कांग्रेस प्रष्ट छ भने विरोधमा दम हुन्छ होइन भने कांग्रेसको कदम उसकै लागि प्रत्युत्पादक हुन सक्छ । अहिले संसदमा रहेका सबै र नरहेका पनि कतिपय दल विगतमा सरकारमा सामेल भएका छन् । कांग्रेसका र अहिलेको नेकपाका नेताहरूले पटक पटक सरकारको नेतृत्व गरेका छन् । ठूला घोटालाका थुप्रै प्रकरणहरू सार्वजनिक भएका छन् । साह्रै थोरैबाहेक आजसम्मका भ्रष्टाचार मुद्दाहरूमा राजनीतिक नेतृत्वले उन्मुक्ति पाएको छ । यही सन्दर्भमा ‘ठूला माछा र साना माछा’ भन्ने उक्ति प्रचलनमा आएको हो । 

असहमति र विरोध जनाउनु व्यक्ति र राजनीतिक दलको स्वाभाविक अधिकारको कुरा हो । यसो गर्दा प्रमाणहरूले पुष्टि गरेन भने प्रत्युत्पादक हुन्छ । ललिता निवास प्रकरणमा छानविन र मुद्दा दर्तामा कसरी भेदभाव भयो, खास दोषी को हो र तिनलाई किन मुद्दा चलाइएन भन्नेबारे कांग्रेस प्रष्ट हुनु पर्छ । सोही अनुसार उसले कदम चाल्नुपर्छ । साथै, अदालतमा विचाराधीन मुद्दाबारे पनि कांग्रेस प्रष्ट हुनु पर्छ । नत्र कांग्रेसका लागि मच्चियो मच्चियो थच्चियो भन्ने आहान चरितार्थ हुन बेर लाग्ने छैन । 



Views: 69

सम्बन्धित सामग्री:

सांसदले बिर्सेको दायित्व

: फाल्गुन १६, २०७६ (१०:४१ AM)

सम्पत्ति होइन, सम्पदा

: फाल्गुन १५, २०७६ (१०:२७ AM)