29th February | 2020 | Saturday | 6:22:10 AM

ज्ञवालीलाई शुभकामना !

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७६ (९:५३ AM)

ज्ञवालीलाई शुभकामना !

नेपाल प्रहरीले आगामी पाँच महिनाका लागि नेतृत्व पाएको छ । यति ठूलो सुरक्षा संगठनमा नेतृत्वका लागि पाँच महिना थोरै समय हो । यति समयमा नयाँ प्रहरी महानिरीक्षकलाई धेरै काम देखाउन कठिन हुन्छ । राजनीतिक हस्तक्षेपले ग्रस्त प्रहरी संगठनमा महानिरीक्षकले चाहेरमात्रै पनि परिणाम दिन सक्दैन । तालुकवाला गृहमन्त्रालयबाट समयमा निर्णय नहुँदा वा अनुमति नपाउँदा महारीक्षक अड्किएर बस्नुपर्छ । लामो समयदेखि विभिन्न तहमा बढुवा हुन नसक्नुको मुख्य कारण यही हो । समयमा काम नहुनुको दोष भने महानिरीक्षककै देखिन जान्छ । 

पूर्ववर्ती सर्वेन्द्र खनाललाई झैँ नयाँ महानिरीक्षक ठाकुर ज्ञवालीलाई पनि साढे एक वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त हत्याकाण्ड फलामको चिउरा नै हुनेछ । यो हत्याकाण्ड झन जेलिँदै गएको छ । घटना अनुसन्धानको प्रारम्भमा जानी–नजानी भएका त्रुटि र त्यसपछिका खातैखात अनुसन्धानले जटिलता बढाउँदै गयो । यो जटिलता फुकाएर विश्वसनीय ढंगले अनुसन्धान टुंगो लगाउने र अभियुक्त पक्राउ गरी कानुनी कारबाही अघि बढाउने हाँक ज्ञवालीसामु पनि छ । पाँच महिने कार्यकाल निर्मला हत्याकाण्डका दोषी पत्ता लगाउनमा हुने प्रगति ज्ञवालीको उपलव्धिमा हिसाब हुनेछ । 

रोकिएका बढुवाहरू अघि बढाउनु र भरखरै रिक्त डिआइजी तथा एआइजी पदमा बढुवा गराउनु ज्ञवालीको मुख्य काम हुनेछ । ठिक समयमा हुने बढुवाले राष्ट्रसेवक प्रहरीको व्यक्तिगत र सिंगो संगठनको कार्य क्षमता अभिवृद्धि हुन्छ । नेतृत्वले मुख्य विषयहरू मध्येको एक हो बढुवा । तालुकवाल राजनीतिक नेतृत्वसँग परेको गाँठो फुकाउने र काम अघि बढाउने कुशलता नेतृत्वमा हुन आवश्यक पर्छ । पारदर्शिता अर्को महŒवपूर्ण पक्ष हो । संगठनलाई भ्रष्टाचारमुक्त राख्न पारदर्शिता आवश्यक पर्छ । सुधारको के काम भयो भन्ने कसीमा नेतृत्वको मूल्यांकन हुन्छ । 

प्रहरी संगठनको नेतृत्व सफल हुनमा राजनीतिक नेतृत्वको भूमिका पनि उत्तिकै महŒवपूर्ण हुन्छ । प्रहरी संगठनको कार्यकुशलतका लागि राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आवश्यक छ । निर्णयहरू ठिक समयमा गर्न उत्तिकै आवश्यक छ । महानिरीक्षक खनालसँगै रिक्त भएका डिआइजी र एआइजी तथा रोकिएका अन्य पदहरूमा अविलम्ब बढुवा प्रक्रिया अघि बढाउनु पर्छ । यसमा राजनीतिक नेतृत्वले महानिरीक्षकलाई अधिकाधिक जिम्मेवार बनाउनुपर्छ । सरकारले गर्ने काम अनपेक्षितरूपमा अड्काउनु हुँदैन । पाँच महिनापछिको नयाँ नेतृत्वका लागि पनि सरकारले समयमै सोच्नु पर्छ । 

महानिरीक्षक ज्ञवालीले पाएको छोटो समयको अवसर कति सदुपयोग गर्न सक्छन्, उनको कार्यकुशलतामा भर पर्नेछ । सुरक्षा फौजको मनोबल उच्च राख्नु नेतृत्वको पहिलो काम हो । सफलताको एउटा कसी पनि यही हो । गाँठो फुकाएर रोकिएका कामहरू अघि बढाउँदै छोटो अवधिमा देखिने गरी राम्रो थालनी गरेर महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकाल उपयोगी र स्मरणीय बनाउन सक्छन् । संगठनमा कुशल मानिएका र कहिल्यै विवादमा नआएका ज्ञवालीले उनका उत्तराधिकारीले अनुशरण गर्ने पदचाप छाडेर जान सकून् । हार्दिक शुभकामना । 



 







Views: 52

सम्बन्धित सामग्री:

सांसदले बिर्सेको दायित्व

: फाल्गुन १६, २०७६ (१०:४१ AM)

सम्पत्ति होइन, सम्पदा

: फाल्गुन १५, २०७६ (१०:२७ AM)