3rd July | 2020 | Friday | 4:49:41 AM

‘जनयुद्ध’ रजत

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:३४ AM)

‘जनयुद्ध’ रजत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरण पछि बिहीबार दोस्रोपटक ‘जनयुद्ध’ दिवस मनायो । दिवसको कार्यक्रममा यस वर्ष पनि प्रधानमन्त्री रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । एकीकरणपछिको नेकपाले ‘जनयुद्ध’ मा ‘जनआन्दोलन’ थपेर तत्कालीन विद्रोही नेकपा माओवादीले २०५२ फागुन १ गते हिंसात्मक आन्दोलन सुरु गरेको दिनलाई मान्यता दिएको छ । पार्टीले मान्यता दिए पनि ओली अर्थपूर्णरूपमा अनुपस्थित रहने गरेका छन् । अझै पनि पूर्वएमाले पंक्तिले ‘जनयुद्ध’ दिवस मान्न हिच्किचाएकोले पार्टीले ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलि सभा’ भनेर घुमाउरो पारामा स्वीकार गरेको छ । 

कसैले माने वा नमाने पनि गणतन्त्र र धर्म निरपेक्षता माओवादी जनयुद्धकै परिणाम हो । तत्कालीन नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षपाती थियो । नेकपा एमालेले सैद्धान्तिकरूपमा गणतन्त्र भने पनि उसले कांग्रेसकै मार्ग अवलम्बन गरेको थियो । राजदरबार हत्याकाण्डले गणतन्त्रका लागि उर्वभूमि तयार पारिदियो । नेकपा एमाले सिद्धान्तमा गणतन्त्रवादी छँदै थियो, परिवर्तित परिस्थितिमा कांग्रेसले स्वीकार गरेपछि गणतन्त्र स्थापना सम्भव भयो । यसको आधारभूमि माओवादी जनयुद्धले नै तयार पारेको हो । गणतन्त्रसँगै राज्य धर्म निरपेक्ष भयो । यी दुईलाई उपलव्धि मान्दा श्रेयको ठूलो हिस्सा माओवादी विद्रोहकै हुन्छ । 

संविधानसभाबाट संविधान बनाउने ‘सात दशकदेखिको चाहना’ भने पनि नेपालको संविधान २०४७ ले यो ‘चाहना’ ओझेलमा पारिदिएको थियो । संविधानसभा निर्वाचनको आधारभूमि माओवादी जनयुद्ध नै हो । संघीय संरचना माओवादीको माग नभए पनि मधेश आन्दोलनको आधारभूमि खडा गर्नमा माओवादीकै योगदान छ । संविधानसभाले बनाएको संविधानलाई उपलव्धिका रूपमा मानेपछि यसको पनि श्रेयको ठूलो हिस्सा माओवादी विद्रोहलाई जान्छ । यसको अर्थ नेपाली कांग्रेस र तत्कालीन नेकपा एमालेको कुनै योगदान छैन भन्ने होइन । शान्ति प्रक्रियामार्फत विद्रोही माओवादीलाई हतियार बिसाउन सहमत गराएर बहुदलीय लोकतमा यिनै दुई दलले समाहित गराएका हुन् । अन्यथा परिस्थिति अझ खराब हुन सक्थ्यो होला । 

तत्कालीन नेकपा एमालेले युद्धबाट स्थापित माओवादी पार्टीसँग एकता गरेर एउटै दल बनाइसकेपछि ‘जनयुद्ध’ बारे नेकपाको प्रष्ट धारणा आउन आवश्यक पर्छ । नेकपाको पूर्वएमाले धार जनयुद्धबारे आगामी महाधिवेशनले प्रष्ट पार्नुपर्ने पक्षमा छ । पूर्वमाओवादी धार ‘जनयुद्ध दिवस’ आधिकारिकरूपमा स्थापित गर्न चाहन्छ । कम्युनिष्ट भने पनि दुई अलग पृष्ठभूमिबाट उदाएका दल एकीकृत भएका हुन् । साँच्चै माओवादी ‘जनयुद्ध’ के थियो, यसले राजनीति र सामाजिक क्षेत्रमा के कस्तो परिवर्तन ल्यायो, कति सकारात्मक र कति नकारात्मक भयो भन्ने विषयमा आआफ्ना ढंगले लामो समय विमर्श हुने नै छ । 

माओवादी जनयुद्ध दिवस रजत वर्षमा प्रवेश गरेको छ । शान्ति प्रक्रियाको डेढ दशक हुनै लागेको छ । बाँकी काम, संक्रमणकालीन न्याय, टुंगो लगाउन सके जनयुद्धले छाडेको घाउ पनि निको हुँदै जाने थियो ।  





Views: 87

सम्बन्धित सामग्री:

क्वारेन्टिनहरूको व्यवस्थापन

: असार १९, २०७७ (१२:४६ AM)

असहमतिबीच निजामती विधेयक

: असार १७, २०७७ (१०:५० AM)