10th April | 2020 | Friday | 5:04:12 PM

ओली सरकारको दुई वर्ष

  POSTED ON : फाल्गुन ४, २०७६ (३:४५ PM)

ओली सरकारको दुई वर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीको एकल बहुमतको सरकारसँग जनताको अपेक्षा धेरै छन् । अपेक्षा बढाउने काम नेताहरूले नै गरेका हुन्, आमनिर्वाचनको घोषणापत्र, दुई वटा वार्षिक बजेट, मन्त्रालय मन्त्रालयका कार्यक्रम, भाषण इत्यादिका माध्यमबाट । प्रधानमन्त्री केपी शर्मा ओलीले ठिकै भनेका छन्, रातारात समृद्धि आउने होइन, रोम पनि एक रातमा बनेको होइन । प्रश्न उठ्ने गरेको चाहिँ पार्टी र सरकारले म्याद नै तोकेर पूरा गर्ने भनेका धेरै काम पूरा नभएकोमा हो । जसको जवाफ प्रधानमन्त्री नै पनि दिएका छैनन् यद्यपि उनले धेरै उपलव्धिको चर्चा गरेका छन् । 

प्रधानमन्त्री, मन्त्री र सत्तापक्षीय केही नेताहरूले सरकारको दुई वर्षको कार्यकालको निकै गौरवका साथ बयान गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधिसभा बैठकमा दुई वर्षका कामको फेहरिस्त सुनाए, विपक्षी र आलोचकहरूप्रति केही कटाक्षका साथ । प्रधानमन्त्रीले ठिकै भनेका छन्, उनको सरकारले बितेको दुई वर्षमा केही अल्पकालीन र केही दीर्घकालीन महŒवका काम सुरु गरेको छ । पूर्वाधार विकासमा सरकारले केही सकारात्मक कदम चालेको छ । पहिले नै सुरु भएका केही काम यही दुई वर्षको अवधिमा पूरा भए । आर्थिक र सामाजिक क्षेत्रमा पनि सरकारले केही थालनी गरेको छ । 

प्रधानमन्त्री ओलीले भने झैँ कामको परिणाम देखापर्न केही समय लाग्छ, त्यतिन्जेल धैर्य गर्नुपर्छ । यसमा केही आपत्ति होइन । मुख्य कुरा सरकारले वाचाहरू पूरा गर्दैछ कि छैन, प्राथमिकता कता छ, बजेट खर्च कसरी हुँदैछ, रोजगारी सिर्जना कति छ, आमनागरिकका दैनिक जीवनका अपेक्षाहरू पूरा हुँदै छन् कि छैनन् भन्ने कुरा बेवास्ता गर्न मिल्दैन । अवश्य नै, एक वर्षमा सरकारले केही आधार खडा गरेको छ । र, अब उपलव्धि देखिन थाल्नु पर्छ । यसमा प्रश्नहरू उठ्नु स्वाभाविक हुन्छ । विगतसँगको तुलनामा मात्रै सरकारको उपलव्धि देखिने होइन । विगको करिब साढे दुई दशक चरम अस्थिरताको भयो भन्ने त प्रधानमन्त्री ओली नै स्वीकार गरेका छन् ‘एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई पनि एउटा महŒवपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अवस्था आउँदो रहेछ’ भनेर । 

सुशासनका विषयमा सरकारका सामु केही प्रश्नहरू खडा छन् । ललिता निवास जग्गा प्रकरणमा वर्तमान सरकारले तारिफयोग्य कदम चालेकै हो । तैपनि, छानविन र मुद्दामा केही प्रश्नहरू उठेका छन् । वाचाल प्रधानमन्त्री र उनको टिमका सदस्यसँग जवाफ हाँजिर छ तर त्यसले प्रश्नको मुहान थुन्दैन । वाइड बडी जहाज खरिद प्रक्रिया, यति होल्डिङ्सँग भएका सम्झौता लगायतका विषयमा पनि तबसम्म प्रश्न उठिरहन्छ जबसम्म प्रश्नको मुहान बन्द हुँदैन । चरम भ्रष्टाचारकै अवस्थामा पनि एउटा हदसम्म विकास–निर्माणको काम भएकै हुन्छ । तीस वर्षे पञ्चायतकालमा पनि अलिअलि भौतिक विकास नभएको होइन । 

सरकारका दुई वर्ष उपलव्धिहीन छैनन् । विगतको तुलनामा सरकार औसतभन्दा माथि नै छ । नेताहरूले नै जगाएको अपेक्षाले सरकार केही आलोचित छ, जो स्वाभाविक छ । विकास बजेटको खर्च निराशाजनक छ । उत्पादन वृद्धि हुन सकेको छैन । व्यापारघाटाको मात्रा नगन्यरूपमा तलमाथि होला तर त्यसले अर्थतन्त्रमा सरकारात्मक सूचकहरू दिएको छैन । भ्रष्टाचार नियन्त्रणमा पनि सूचकहरू उत्साहजनकरूपमा सकारात्मक छैनन् । सरकारका सदस्यहरूमा विपक्षी र आलोचकप्रति चरम असहिष्णुता छ । प्रश्नमा ओठे जवाफ हाँजिर छ । प्रधानमन्त्रीले आफ्नो टिममा सुधार गर्नै पर्ने एउटा मुख्य पक्ष यो हो ।  



Views: 72

सम्बन्धित सामग्री: