8th April | 2020 | Wednesday | 11:55:09 AM

बल्ल सार्कको सम्झना

  POSTED ON : चैत्र २, २०७६ (३:४८ PM)

बल्ल सार्कको सम्झना

चार दशकअघि दक्षिण एसिया क्षेत्रमा क्षेत्रीय एकताको भावनालाई जागृत गर्दै आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यतिबेला निष्क्रिय छ । स्थापना हुँदा सात सदस्य राष्ट्र रहेको यो संगठनमा हाल ८ सदस्य राष्ट्र छन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य रहेको यो संगठन पछिल्लो समय दुई सदस्य राष्ट्र भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धको कोपभाजनमा निष्क्रिय भएको हो ।

सार्क शिखर सम्मेलनको १९औं संस्करण करिब साढे तीन वर्षअघि नै पाकिस्तानमा हुनुपर्ने थियो । पाकिस्तानसँगको बढ्दो तनावबीच भारतले सहभागी नहुने घोषणा गरेपछि स्थगित १९औं शिखर सम्मेलन कहिले हुने भन्ने खाकासमेत अझै तय हुन नसकेको हो । पछिल्लो समय भारतले अर्को क्षेत्रीय संगठन ‘बिमष्टेक’लाई बढी महŒव दिन थालेको देखिन्छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सार्कलाई सम्झना गरेबाट एउटा सुखद संकेत भने देखिएको छ । ट्वीट गर्दै उनले विश्वव्यापी महामारीका रूपमा देखा परेको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट दक्षिण एसियाका जनता सुरक्षित छन् भन्ने सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएर क्षेत्रीय सहयोग संगठनको सक्रियता आवश्यक रहेको औंल्याए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आहृवानसमेत गरे ।

भारतमा कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भइसकेको र ८० जनाभन्दा बढीमा संक्रमण देखिएको परिस्थितिमा मोदीले दिएको यस्तो अभिव्यक्तिले कूटनीतिकरूपमा निकै महŒवपूर्ण अर्थ राख्छ । सार्क सदस्य राष्ट्र पाकिस्तानमा पनि कोरोनाको संक्रमण देखिएको छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान पनि कोरोनाको जोखिममा छन् । भुटानले केही अघिदेखि नै उच्च सतर्कता अपनाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको उक्त भनाइलाई समर्थन जनाएका छन् । कोरोना भाइरसविरुद्धको लडाइमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएर उनले सार्कको वर्तमान अध्यक्ष राष्ट्रका हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको सन्देश दिए ।

कोरोनाका कारण विश्वका शक्तिशाली मुलुक पनि यतिबेला अलग–थलग भएका छन् । कोरोनाका कारण विश्वस्तरमै अर्थतन्त्र धरासायी हुँदै गएको अवस्था छ । यसबाट सार्क सदस्य राष्ट्र पनि अछुतो रहन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको यो संक्रमणलाई परास्त गर्न कुनै एक मुलुकको मात्र पहल पर्याप्त हुन सक्दैन । संविधान निर्माणका क्रममा नेपाली राजनीतिक दलहरू आ–आफ्नो स्वार्थअनुसारको हठमा विभाजित भइरहेको समयमा जसरी २०७२ सालको भूकम्पले दलहरूलाई एक ठाउँमा ल्याइदियो, आशा गरौं, कोरोना संक्रमणले विश्वलाई नै असर पारिरहेको समयमा साझा प्रयासबाट यसको सामना गर्न सार्कले पनि सकारात्मक भूमिका निर्वाह गर्ने छ । 


Views: 183

सम्बन्धित सामग्री: