8th April | 2020 | Wednesday | 10:16:45 AM

त्राससँगै अभाव

हिमालय टाइम्स   POSTED ON : चैत्र ४, २०७६ (९:५२ AM)

त्राससँगै अभाव

कोरोना भाइरसका कारण समाजमा एकप्रकारको त्रास सिर्जना भएको छ । विश्वमा यो भाइरसले गरेको असरलाई मध्यनजर गर्दै आम मानिस यसप्रति त्रासित भइरहेका छन् । यद्यपि, त्रासित भएर होइन, सचेत हुँदै आवश्यक सावधानी अपनाएरमात्र यो भाइरसबाट हामी जोगिन सक्छौँ ।

कोरोनाको त्राससँगै बजारमा अहिले उपभोग्य वस्तुको अभाव हुन थालेको छ । अनुगमन संयन्त्र फितलो भएको मौका छोपेर कालाबजारीहरूले विभिन्न प्रकारमा भ्रम फैलाउने र उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर अकुत फाइदा आर्जन गरेका उदाहरण प्रशस्त भेटिन्छन् ।

राजधानीका अधिकांश पेट्रोल पम्पमा आइतबार इन्धनको कारोबार खुम्चियो । खासगरी पेट्रोलको बिक्री आइतबार ठप्प प्रायः नै भयो । सोमबार पनि सीमित पेट्रोल पम्पले बिक्री–वितरण गरे पनि तिनमा ग्राहकको लाइन निकै लामो थियो । नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको बताइरहँदा बजारमा किन अभाव हुन्छ भन्नेतर्फ सरकारी संयन्त्रले नै ध्यान दिन जरुरी देखिन्छ ।

व्यापार–व्यवसाय नाफामुखी पेसा नै भए पनि त्यस्ता पेसाकर्मीले मानवतालाई बिर्सन हुँदैन । राज्यले पनि कुन सामानमा कति मुनाफा लिनु जायज हो भन्ने निर्धारण गरिएको अवस्थामा बजार मूल्यमा एकरूपता आउन सक्छ । हरेक पसलमा मूल्यसूची राख्नुपर्ने व्यवस्था भए पनि व्यवसायीले पालना गरेका छैनन् । दैनिक उपभोग्य वस्तुमा त व्यवसायीहरू झनै स्वेच्छाचारी ढंगले मुनाफा आर्जन गरिरहेका पाइन्छन् ।

संकटकै घडीमा राज्य संयन्त्रलले प्रभावकारीरूपमा हरेक क्षेत्रमा व्यवस्थापन गर्न सक्नुपर्छ । विभिन्न हल्ला फिँजाएर बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना भइरहँदा प्रभावकारी ढंगले बजार अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्न सकेमा पनि कालोबजारी नियन्त्रणमा आउन सक्छ । सीमित जनशक्ति भएका कारण बजार अनुगमन प्रभावकारी हुन नसकेको तर्क राज्यका तर्फबाट बेलाबखत आउने गरेको छ ।

बजार अनुगमनका लागि निजामती कर्मचारी नै आवश्यक पर्छ, भन्ने मान्यतालाई कम से कम यस्तो संकटको घडीमा त्याग्नुपर्छ । करिब दुई तिहाइ बहुमतको सरकार भएकाले पनि परम्परागत मान्यता र सोचबाट माथि उठेर, आवश्यक परेका खण्डमा कानुन संशोधन गरेर भए पनि सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ । बजार अनुगमनका लागि आवश्यकतानुसार सशस्त्र प्रहरीलाई परिचालन गर्न पनि नसकिने होइन । सामान्य अवस्थामा क्याम्पभित्र सीमित रहँदै आएका सशस्त्र प्रहरीलाई विभिन्न टोलीमा विभाजित गरेर बजार अनुगमनको जिम्मा दिन सकिन्छ ।

सरकारले उपभोग्य वस्तुको आयातमा कमी नआएको, उपभोक्ताहरूले नै आवश्यकताभन्दा बढी सामान भण्डारण गरेका कारण अभाव देखिएको बताइरहँदा आवश्यकता, माग र उत्पादन तथा उपलब्धताबीचको सन्तुलन कसरी मिलाउने भन्नेबारे पनि समयमै सोच विकसित गर्न जरुरी छ ।


Views: 123

सम्बन्धित सामग्री: