8th April | 2020 | Wednesday | 10:51:46 AM

सीमाको खै सरोकार ?

हिमालय टाइम्स   POSTED ON : चैत्र ५, २०७६ (१०:५२ AM)

सीमाको खै सरोकार ?

नेपाली भूमि अतिक्रमण भएका समाचार प्रायः सार्वजनिक भइरहेका हुन्छन् । केही महिना अघि भारतले प्रकाशित गरेको आफ्नो राजनीतिक नक्सामा कालापानीदेखि लिम्पियाधुरा, लिपुलेकसम्मको भूभागलाई समेटेपछि केही समय नेपालको राजनीतिमा त्यसबारे गम्भीर बहस भयो । यतिबेला त्यो बहस अनकन्टारमा थन्किएको अवस्था छ । सरकारले ती भूभागबाट भारतीय सेनालाई फिर्ता पठाउने र अतिक्रमित भूभाग फिर्ता लिने दाबी गर्दै आए पनि अहिलेसम्म त्यसबारे कुनै प्रभावकारी कदम चालेको महसुस जनस्तरले गर्न सकिरहेका छैनन् ।

संसदीय समितिले नै ती भूभागसमेत समेटेर सरकारलाई नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिए पनि सरकारले त्यसतर्फ चासो देखाएको छैन । सुस्ताको अवस्था उस्तै छ । अर्कोतिर दुई देशका प्रतिनिधिले संयुक्त रूपमा सर्वे गरी अन्तर्राष्ट्रिय सीमाको ‘स्ट्रिप नक्सा’ तयार पार्दासमेत कयौं हेक्टर नेपाली भूमि भारततर्फ देखाउने काम भएको तथ्य प्रकाशमा आएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद इन्दु कडरियाले सोमबार राष्ट्रिय सभामा यसबारे सरकारको ध्यानाकर्षणसमेत गराइन् । विशेष समयमा बोल्दै उनले मधुकर मास्के संयोजकत्वको नापी टोलीले नेपाली भूभाग भारतमा पर्नेगरी नक्सा तयार पारेको दाबी गरिन् । सोही नक्साका आधारमा अहिले कञ्चनपुरका हजारौं बिघा नेपाली भूभाग अतिक्रमणको चपेटामा परेको उनको भनाइ थियो । भारतीय पक्षले पनि सोही नक्सालाई आधार मानेर अहिले रातारात नेपाली भूभागमा सीमा स्तम्भ निर्माण गर्ने क्रम देखिएको छ ।

यसरी एकतर्फी रूपमा निर्माण गरिएको सीमा स्तम्भ स्थानीयवासी नेपालीले भत्काइदिएका छन् । आफूले भोगचलन गर्दै आएको तथा लालपूर्जासमेत भएको जमिनमा एकाएक भारतले सीमा स्तम्भ निर्माण गरिदिएपछि स्वाभाविक रूपमा स्थानीयवासीले असन्तुष्टि जनाउने नै भए । केही वर्षअघि कञ्चनपुरमा सीमा विवादकै कारण भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो ।

नेपाल–भारत सीमा विवाद वर्षौंदेखिको समस्या बन्दै आएको छ । नेपालका तर्फबाट खटिएको आधिकारिक टोलीले नै गम्भीर त्रुटि गरेको हो भने सरकारले आवश्यक छानविन गरी कारबाहीको दायरामा ल्याउन ढिला गर्नु हुँदैन । देशको सीमालाई कसैले पनि अवमूल्यन गर्नु हुँदैन । लालपूर्जा हुँदाहुँदै नापी टोलीले उक्त जमिनलाई कसरी भारततिर पा¥यो भन्ने प्रश्नका आधारमा सरकारले वस्तुपरक र तथ्यपरक ढंगले समस्या पहिचान गरी समाधानको पहल गर्न जरुरी छ । ‘स्ट्रिप नक्सा’ तयार पार्ने जिम्मेवारी बोकेका टोलीले त्रुटि गरेका रहेछन् भने उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।


Views: 144

सम्बन्धित सामग्री: