8th April | 2020 | Wednesday | 10:32:08 AM

प्रदेश २ मा अन्योल

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७६ (१०:०९ AM)

प्रदेश २ मा अन्योल

प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने प्रयास असफल भएको छ । प्रदेशसभामा रहेका प्रमुख चार राजनीतिक दलबीच तालमेलको अभावमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रयास मंगलबार असफल भएको हो ।

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने संवैधानिक व्यवस्था भए पनि मंगलबार प्रदेशसभामा प्रदेशको नामसम्बन्धी चार र स्थायी राजधानीसम्बन्धी तीन प्रस्तावमध्ये कुनै पनि आवश्यक बहुमत जुटाउन सकेनन् । प्रदेशको नामकरणका सन्दर्भमा दलहरू ध्रुवीकृत भए भने स्थायी राजधानी तोक्ने सवालमा पहिला नै भएको भनिएको सहमतिसमेत पालना नहुँदा प्रदेशले न नाम पाउन सक्यो, न त राजधानी नै तोकियो ।

प्रदेशसभामा दुई तिहाइ त परै जाओस्, कुनै पनि दलको प्रष्ट बहुमत छैन । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धनमा सरकार बनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेस बलियो प्रतिपक्षी भूमिकामा छन् । त्यसैले पनि प्रदेश २ मा संविधानतः दुई तिहाइ बहुमतबाट गर्नुपर्ने भनिएका निर्णय प्रदेश सरकारको बलबुताबाट मात्र सम्भव नहुने प्रष्ट नै थियो ।

मंगलबार प्रदेशसभामा प्रदेशको नामकरण र स्थायी राजधानीका लागि पेस गरिएका सबै प्रस्ताव दलगत एवं गुटगतरूपमा आएका कारण पनि प्रदेशसभाबाट पारित हुने आधार देखिएको थिएन । सत्तारूढ गठबन्धन, प्रमुख विपक्षी दल, विपक्षी दल र असन्तुष्ट सांसदहरूको समूहबाट समेत प्रस्तावहरू पेस भएका कारण ती प्रस्ताव दुई तिहाइ बहुमत जुटाउन सफल हुन्छन् भनेर स्वयं प्रस्तावक र समर्थकसमेत विश्वस्त थिएनन् ।

प्रदेशसभा गठन भएको झण्डै दुई वर्षसम्म प्रदेशको नाम र राजधानी टुंग्याउन असफल हुनु सामान्य कमजोरी होइन । अझै प्रदेश १ ले नाम, प्रदेश २ र प्रदेश ५ ले नाम तथा राजधानी टुंगो लगाउन सकेका छैनन् । प्रदेश २ बाहेक अन्य प्रदेशमा नेकपाले एकलरूपमै प्रदेशको नाम र राजधानी टुंगो लगाउन सक्ने अवस्था छ । आफ्नै एकल प्रयासमा प्रदेशको नाम र राजधानी टुंग्याउन सक्ने अवस्था रहे पनि नेकपाले प्रदेश १ र प्रदेश ५ मा अझै यसबारे प्रक्रिया अघि बढाएको छैन । प्रदेश २ मा कुनै पनि दलले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न सक्ने अवस्था छैन । किनकि, दुई तिहाइ बहुमत जुटाउनका लागि सत्तारूढ गठबन्धनले अन्य दलको समेत साथ लिन जरुरी देखिन्छ । त्यसैले प्रदेशको नाम र राजधानीका सवालमा सहमतीय अवधारणा नअपनाई प्रदेश २ मा पार पाउन सक्ने अवस्था छैन । या त, यो प्रदेशसभाबाट नामकरण र राजधानी तोक्ने पहल नै थाँती राख्नुपर्छ या दलहरूबीच न्यूनतम सहमतिको खोजी गरेरमात्र अघि बढ्न सक्नुपर्छ । अन्यथा, यति लामो समयपछि केवल प्रक्रियाका लागिमात्र प्रदेशको नामकरण र राजधानी तोक्ने विषय अघि बढाउँदा निस्कने परिणाम स्वाभाविक थियो ।


Views: 112

सम्बन्धित सामग्री:

सीमाको खै सरोकार ?

हिमालय टाइम्स : चैत्र ५, २०७६ (१०:५२ AM)