3rd July | 2020 | Friday | 4:29:36 AM

कोरोनाविरुद्ध एकताको खाँचो

हिमालय टाइम्स   POSTED ON : चैत्र ७, २०७६ (१२:२९ PM)

कोरोनाविरुद्ध एकताको खाँचो

पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले केही महŒवपूर्ण निर्णय गरेको छ । युरोपेली मुलुक तथा कोरोना संक्रमित देशबाट आगमन निषेधदेखि लिएर २५ जनाभन्दा बढी मानिस भेला नहुन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले अपिल गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने, सार्वजनिक यातायातमा सरसफाइ अनिवार्यलगायत निर्णय गर्दै सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पहल गरेको छ ।

सौभाग्यवश नेपालमा अहिलेसम्म कोरोना संक्रमणको असर देखिएको छैन । विश्वव्यापीरूपमा यो भाइरसले महामारीको रूप धारण गरिसक्दा पनि नेपाल अहिलेसम्म त्यो त्रासदीबाट मुक्त रहनु सुखद् पक्ष हो । यद्यपि, यसको रोकथाम तथा नियन्त्रणका लागि हामी सचेत हुनैपर्छ ।

बुधबार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकारलाई भारतसँगको सीमानाकाबाट यात्रुहरूको आगमन रोक्न आवश्यक पहलका लागि सुझाव दिएको छ । कोरोना भाइरस मानवबाट मानवमा सर्ने भएकाले पनि एउटा संक्रमित व्यक्ति भित्रिएको अवस्थामा त्यसले कयौं मानिसमा संक्रमण फैलाउने सम्भावना रहन्छ । यसर्थ मुलुकमा कोही संक्रमित व्यक्ति नभित्रियोस् भनेर सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ ।

यस अतिरिक्त प्रत्येक नागरिकले पनि आफै सचेतता अपनाउन जरुरी छ । सबै जिम्मेवारी सरकारको मात्र हो भनेर आफ्नो दायित्वबाट नागरिक पन्छिने हो भने यसबाट निम्तिने खतराबाट ऊ स्वयंमात्र होइन, उसको परिवार, गाउँ–टोल, समाज हुँदै सिंगो देश नै प्रभावित हुन सक्छ । कोरोना नियन्त्रणमा चीनबाहेक अन्य मुलुकले प्रभावकारी ढंगले सफलता हात पार्न सकेका छैनन् । यो भाइरसको नियन्त्रणका लागि केही मापदण्ड स्थापित भइसकेको छ, जो हामीले चीनबाट पनि सिक्न जरुरी हुन्छ ।

विश्वका कयौं विकसित तथा आधारभूत सुविधाका धनी भनिएका मुलुक पनि कोरोना संक्रमणबाट मुक्त हुन सकेका छैनन् । यसको मुख्य कारण, समयमै सावधानी नअपनाउनु नै हो भन्ने विज्ञहरूको निष्कर्ष छ । सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको पहललाई सहयोग गर्दै संकटको घडीमा होष्टेमा हैँसे गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो भन्ने सामाजिक मान्यतालाई आत्मसात् गर्दै हामीले आवश्यक सचेतता अपनाउन जरुरी देखिन्छ । द्रुततररूपमा फैलिएको यो भाइरसले अहिलेसम्म नेपाल प्रभावित नभए पनि यसले विश्वमा पारेको प्रभाव, कयौं मुलुकले भोगेको नियतिलाई पाठका रूपमा ग्रहण गर्दै हामीले आगामी दिनमा निम्तन सक्ने खतरालाई टार्न सक्छौं । यसका लागि तीनै तहका सरकार, दलहरू, सामाजिक संघसंस्था, व्यवसायीलगायत आम नागरिक एक हुन आवश्यक छ ।


Views: 111

सम्बन्धित सामग्री:

क्वारेन्टिनहरूको व्यवस्थापन

: असार १९, २०७७ (१२:४६ AM)

असहमतिबीच निजामती विधेयक

: असार १७, २०७७ (१०:५० AM)