8th April | 2020 | Wednesday | 11:35:13 AM

आफ्नै नागरिकमाथि विभेद

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:२६ AM)

आफ्नै नागरिकमाथि विभेद

कोरोना भाइरसको सन्त्रासका बीच देशबाहिर रहेका नेपालीहरू धमाधम फर्कन थालेका छन् । विश्वव्यापी महामारीको रूप धारण गरेको यो भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भने विदेशबाट आउने नेपालीका लागि रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको छ । सरकारी प्रतिबन्ध उल्लंघन गरी विभिन्न मुलुकबाट नेपाल आएका पाँच दर्जनभन्दा बढी संख्याका नेपालीलाई सरकारले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनमा राखेको छ ।

स्वदेश फर्कने लहरकै बीच शनिबार कञ्चनपुरको गड्डाचौकी नाकामा थामी नसक्नुको भीड देखियो । भारतका विभिन्न सहरमा रोजगारीका सिलसिलामा रहेका नेपालीहरू कोरोना सन्त्रासका बीच घर फर्किएका हुन् । नाकामा उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ । सुदूरपश्चिम प्रदेशका अधिकांश युवा मजदुरीका लागि भारतका विभिन्न सहर जाने गर्छन् । यसरी रोजगारीका लागि भारत गएकाहरू अहिले कोरोनाको सन्त्रासका कारण घर फर्कन थालेसँगै स्थानीय प्रशासनले मंगलबार बिहानबाट लागु हुने गरी सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । जब कि, भारतसँग जोडिएका अन्य नाकामा यस्तो व्यवस्था गरिएको छैन ।

देशबाहिर रहेका नागरिकबाट मुलुकमा संक्रमण नभित्रियोस् भनेर सतर्कता अपनाउनु स्वाभाविक हो । यद्यपि, उनीहरूलाई आफ्नो देश, आफ्नो घरमा फर्कने ढोका नै बन्द गरेर समस्याको समाधान निस्कन्छ भन्ने सोच संविधानप्रदत्त मौलिक हकको खिलाप हुन जान्छ । अहिले कोरोना संक्रमणका कारण विश्वले नै प्रतिकूल अवस्थाको सामना गरिरहेको छ । त्यसैले सबै कुरा सामान्यरूपमा नै रहने अपेक्षा गर्नुहुँदैन । यसो भन्दैमा आफ्नै नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने, उनीहरूलाई घर–परिवारमा फर्कन नदिने अवस्था मानवीय मूल्य–मान्यताका हिसाबले मात्र होइन, मानवअधिकारको विश्वव्यापी सिद्धान्तको समेत प्रतिकूल हुन्छ । देशबाहिर रहेका नागरिकको सुरक्षा र उनीहरूको अधिकारप्रति पनि राज्य उत्तिकै सचेत र संवेदनशील हुन जरुरी छ, जति देशभित्रका जनताप्रति हुँदै आएको छ ।

बरु, सरकारले विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षणको भरपर्दो व्यवस्था गर्ने, आवश्यक परेको अवस्थामा उनीहरूलाई क्वारेण्टाइनमा राख्ने वा घरमै अनिवार्य क्वारेण्टाइनमा बस्ने व्यवस्था लागु गर्ने विकल्प नभएको होइन । यी सब विकल्पका लागि सरकारसँग स्रोत, साधन र जनशक्तिको अभाव नै भएको हो भने पनि देशबाहिर रहेका आफ्ना नागरिकको सुरक्षाका लागि सरकारले कूटनीतिकरूपमा सम्बन्धित मुलुकलाई आग्रह गरेर आवश्यक प्रबन्ध मिलाउन सक्नुपर्छ । नाकामा आइसकेका आफ्ना नागरिकलाई मुलुकभित्र प्रवेशमै रोक्नु, आफ्नै मुलुक फर्कन्छु भन्नेलाई प्रवेश निषेध गर्नुमात्र समस्याको समाधान हुन सक्दैन । बरु, उनीहरूमार्फत संक्रमण भित्रिन नपाओस् भनेर अपनाउनुपर्ने सावधानीको स्तर कसरी बढाउने भन्नेबारेमा सरकारले आवश्यक पहल गरोस् ।


Views: 83

सम्बन्धित सामग्री:

सीमाको खै सरोकार ?

हिमालय टाइम्स : चैत्र ५, २०७६ (१०:५२ AM)