8th July | 2020 | Wednesday | 7:30:57 AM

खोई व्यवस्थापन ?

हिमालय टाइम्स   POSTED ON : जेठ १४, २०७७ (१०:११ AM)

खोई व्यवस्थापन ?

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ । सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ । यद्यपि भारतमा लकडाउन खुकुलो भएसँगै हजारौंका संख्यामा नेपालीहरू देश छिर्न दशगजामा पालो कुरेर बसेका छन् । जहाँ न त लकडाउनको पालना भएको छ, न त सामाजिक दूरी नै कायम भएको छ । भारतको संक्रमित स्थानहरूबाट नेपाली विद्यार्थी, मजदुर, व्यवसायी फर्किन थालेपछि संक्रमणको जोखिम बढेको हो । पछिल्लो एकसाता यता रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधनका क्रममा पनि सीमाको भीड व्यवस्थापनमा सरकार चुकेको स्वीकार गरिसक्नुभएको छ । 

भारतबाट आउने नेपालीका लागि सीमामा तत्काल अस्थायी संक्रमण परीक्षणसहित क्वारेन्टाइन, खानाको व्यवस्था हुनुपर्ने हो । केही ठाउँमा यस्ता आधारभूत आवश्यकताको सामान्य व्यवस्था गरिए पनि पछिल्लो समय भीड बढ्दा भारतबाट आउनेले क्वारेन्टाइन त परै जाओस्, पानीसम्म पिउन नपाउने अवस्था छ । अर्कोतर्फ पर्याप्त क्वारेन्टाइनको अभावमा सामान्य ज्वरो नापेको भरमा भारतबाट आएकाहरू घर गईरहेका छन् । सेल्फ क्वारेन्टाइनको नाममा यसरी जोखिम क्षेत्रबाट आएकाहरूलाई घरघर पु¥याउँदा अन्य समूदायमा यसको कस्तो असर पर्छ भन्नेमा सरकारले समयमै ध्यान दिन जरुरी छ । घर गएकाहरू पनि सेल्फ क्वारेन्टाइनमा बस्ने आधार के छ ? उनीहरूको जिम्मेवारी कसले लिन्छ ? यातायात मजदूरहरू कतिको जोखिममा रहेर काम गरिरहेका छन् ? यसतर्फ पनि बेखबर बन्न मिल्दैन ।

प्रधानमन्त्री ओलीले सोमबार सम्बोधनका क्रममा नागरिकको सुरक्षाको बिषयमा चिन्ता व्यक्त गर्नुभए पनि सीमा क्षेत्रमा बनाइएका क्वारेन्टाइनमा यस्ता चिन्तालाई सम्बोधन गरिएको पाइदैँन । तराईमा रहेका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरितका छन् । सामान्य सुत्ने खाट र खानाको व्यवस्था भए पनि गर्मीको बेला झुलदेखि नुवाउने पानीसम्मको अभाव देखिएको छ । कतिपय स्थानमा त खुला चौरमा पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । जहाँ सुत्नमात्र मिल्ने भए पनि गर्मी, सर्प र लामखुट्टेको जोखिम बेग्लै छ । प्रधानमन्त्री ओलीले भारतबाट अब लुकेर हैन खुलेर नेपाल भित्र्याइने बताइरहँदा नेपाल भित्रिएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ बहस केन्द्रित हुन जरुरी छ ।


Views: 104