8th July | 2020 | Wednesday | 5:52:29 AM

ख्यालठट्टा नठानौं

  POSTED ON : जेठ २१, २०७७ (९:५८ AM)

ख्यालठट्टा नठानौं

नेपालमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ मा लकडाउन सुरु हुँदा कोरोना भाइरस संक्रमित दुई जना थिए । लकडाउनको ७१ औं दिन अर्थात मंगलबार यो संख्या २ हजार नाघेको छ । एक साता यता कोरोना संक्रमितको संख्या  दैनिक डेढ सयको हाराहारीमा बढ्दै गएको देखिन्छ । यहीबीचमा ८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेको संख्या पनि पछिल्लो साता दोब्बर भएको हो ।

यसले लकडाउनमात्र संक्रमण रोकथामको एकमात्र उपाय होइन भन्ने प्रष्ट्याएको छ । सरकारले सबैतिरबाट दबाब परेको भन्दै विज्ञहरूको सल्लाहअनुरुप लकडाउनको ढाँचा बदल्ने तयारी थालेकोे छ । निजी विद्यालयमा भर्ना अभियान सुरु गर्न सरकारले मौन समर्थन जनाएको छ, जबकि सरकारी विद्यालयमा स्थानीय तहले क्वारेन्टाइन बनाएको अवस्था छ । यो अवस्थामा सामुदायिक तथा सरकारी विद्यालय तत्काल सञ्चालन हुन सक्ने अवस्था नै छैन । एउटै कक्षा र एउटै शैक्षिक सत्रका लागि सरकारले निजी विद्यालय तथा सरकारी एवं सामुदायिक विद्यालयमा यति विभेद किन गर्न खोज्दैछ भन्ने बुझ्न कठिन छैन । किनकि निजी विद्यालयहरू कुनै न कुनै रुपमा अभिभावकसँग रकम असुल्न चाहिरहेका छन्, कोरोना संक्रमितको संख्या कहालीलाग्दो गरी बढिरहेको समयमा समेत सरकारले निजी विद्यालयमा भर्ना अभियान सुरु गर्न मौन स्वीकृति प्रदान गरी शिक्षामा व्यावसायिकरणलाई प्रोत्साहित गर्न खोजिरहेको छ । अन्यता सामुदायिक विद्यालय अहिले क्वारेन्टाइनका रुपमा प्रयोग भइरहँदा निजी विद्यालयमा भर्ना अभियान सुरु गराएर सरकारले सामुदायिक विद्यालयका विद्यार्थीमा कस्तो मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजिरहेको छ, बुझ्न कठिन छैन ।

‘नेपालीलाई कोरोना लाग्दैन, लागे पनि पचाउँछन्’ भन्ने शैलीमा केही समय अगाडी सरकार जसरी प्रस्तुत भएको थियो, त्यो शैली अबका दिनमा चल्दैन भन्ने प्रष्ट देखिएको छ । त्यो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भइसकेको थिएन, संक्रमितको संख्या औंलामा गन्न मिल्थ्यो । अहिले परिस्थिति बदलिसक्यो, दैनिकजसो मृत्युका घटना आउन थालेको छ, दैनिक डेढसयभन्दा बढी संक्रमित पाइएका छन् । संक्रमितमध्ये अधिकांश भारतबाटै आएकाहरू छन् । सरकारले भारत र तेस्रो मुलुकमा रहेका नेपालीलाई समेत स्वदेश ल्याउने घोषणा गरिसकेको अवस्थामा ती मुलुकबाट ल्याइने नेपालीको संख्या जति बढ्छ, संक्रमितको संख्या पनि उति बढ्ने अनुमान सहजै गर्न सकिन्छ । लकडाउनलाई अहिले लामो दूरीमा आवत–जावतका लागि बन्देजका रुपमा मात्र बुझ्न सकिन्छ, सहरभित्र लकडाउनले घर बाहिर निस्कन कसैलाई रोकेको छैन, बजारमा घुमफिर गर्न रोकिएको छैन । लकडाउनले गरिब तथा विपन्नलाई कमाइ खाने बाटो बन्द गर्नुबाहेक न कोरोना संक्रमण रोकथाम गर्न सकेको छ, न त नियन्त्रणमा नै प्रभावकारी परिणाम हात लागेको छ ।


Views: 51