8th July | 2020 | Wednesday | 6:39:54 AM

वैकल्पिक शिक्षाको औचित्य

  POSTED ON : जेठ २२, २०७७ (१०:१२ AM)

वैकल्पिक शिक्षाको औचित्य

सामान्य अवस्थामा विद्यालयहरूमा यो समयमा नयाँ शैक्षिक सत्रको पढाई जोडतोडले भईरहेको हुन्थ्यो । अहिले चौतर्फी सन्नाटा छ । देशभरका विद्यालयहरू सुनसान छन् । विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी घरभित्र छन् । देशका अधिकांश सामुदायिक विद्यालय क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेका छन् । कोरोनाको कारण अन्य क्षेत्रमा प्रत्यक्ष असर देखिए पनि शिक्षा क्षेत्रबाट लाखौं विद्यार्थीको भविष्य दाउमा लागेको अवस्थामा सरकारले असार १ गतेबाट वैकल्पिक प्रणालीबाट सिकाइ शुरु गर्ने तयारी थालेको छ । यो वैकल्पिक शिक्षा कुन वर्गका लागि हो र यसभित्र कस्ता विद्यार्थी समेटिन्छन् भन्ने प्रष्ट नहुँदा अभिभावकसमेत अन्यौलमा छन् । 

विद्यालय नगई घरैबाट पढाइने अर्थात अनलाइन कक्षालाई नै सरकारले अहिले वैकल्पिक शिक्षाको रुपमा लिएको हो । यसभित्र रेडियो, टेलिभिजन, अनलाइन वा यस्तै अन्य विद्युतीय माध्यम पनि समावेश गर्ने सरकारले जनाएको छ । आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल तथा विद्युतीय विधिबाट अघि बढाइने उल्लेख भएपछि शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी लागु गरेको हो । देशको परिस्थिति हेर्दा अझै लकडाउन खुल्ने अवस्था छैन । खुले पनि शिक्षा क्षेत्र सबैभन्दा अन्तिममा खोल्ने सरकारले नै भनिसकेको छ । अझै दुई÷तीन महिना यता विद्यालय खुल्ने छाटकाट छैन । 

सरकारले अघि सारेको वैकल्पिक शिक्षाले विद्यार्थीलाई केही राहत पुग्ने अपेक्षा गरिए पनि प्रभावकारितामा प्रश्न उठेको हो । भर्चुअल र वैकल्पिक कक्षा अहिलेको सन्दर्भमा उपयुक्त भए पनि यसले अहिले नै राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । ग्रामीण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमै प्रत्येक बालबालिका इन्टरनेटको पहुँचबाट टाढा छन् । देशमा ३० हजार सरकारी विद्यालयमध्ये १० हजार विद्यालयमा मात्रै कम्प्युटर ल्याब छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ अनुसार तीमध्ये इन्टरनेट सुविधा भएका विद्यालय १३ प्रतिशत मात्रै छन् । बिजुलीको सुविधा भएका विद्यालय ३५ प्रतिशत छन् । विद्यार्थीकै कुरा गर्दा अधिकांश दुरदराजका छन्, जहाँ इन्टरनेटको त टाढाको कुरा बिजुलीसम्म छैन । 

कोभिड–१९ को प्रभाव र लकडाउनले पठनपाठन बन्द भएपछि विश्वका अधिकांश देशका विद्यालयदेखि विश्वविद्यालयसम्मले अनलाइनमार्फत कक्षा अगाडि बढाएका छन् । उनीहरूको पाठ्यक्रम नै अनलाइन र क्याम्पसमा दैनिक उपस्थित भएर पठनपाठन गर्ने उद्देश्यले अलगअलग तयार गरिएको हुन्छ । पढाइमात्र होइन, परीक्षा प्रणाली पनि अनलाइनबाट लिने प्रावधान हुन्छ । पर्याप्त पूर्वाधार, तालिमप्राप्त शिक्षक र सूचना प्रविधिको पहुँचले अनलाइन पठनपाठन सहज हुन्छ । हाम्रो देशमा विद्यार्थीमात्र नभई शिक्षकसमेत यो प्रविधिमा भिज्न नसकेको अवस्थामा वैकल्पिक शिक्षा कत्तिको प्रभावकारी हुने हो, त्यो भने समयले बताउँला । 


Views: 91