22nd August | 2018 | Wednesday | 1:32:57 AM

के हिस्टेरिया विवाह पश्चात निको हुन्छ ?

  POSTED ON : Saturday, 28 July, 2018 (7:31:26 PM)

के हिस्टेरिया विवाह पश्चात निको हुन्छ ?

काठमाडौं । हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोगलाई हो ।

हिस्टेरिया मनोवैज्ञानिक अवस्था हो । बिरामीले अभूतपूर्व मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनु जस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

हिस्टेरियाका लक्षण हरु संस्कृति, धर्म, रीतिरिवाज, सामाजिक अवस्था, व्यक्तिगत मनोदशाले प्रभाव पारेको हुन सक्छ । त्यसैले यसका लक्षणहरु विभिन्न जातजाति, समुदाय र धर्मावलम्बी हरु बीच फरक हुन सक्छन् । प्राय गरेर यी लक्षण देखापर्छन ।

मुर्छा पर्ने,

बिर्सिर्ने,

एक्लै बस्न रूचाउने,

रुने,

कराउने,

काम्ने,

फिँज काढ्ने,

उत्तेजित हुने,

बर्बराउने । आदी ।

हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्या सँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । अझ यसमा पनि पुरूष भन्दा महिला धेरै पीडामा परेको पाइन्छ । यस रोगका बारेमा पूर्णा ज्ञान नहुनु र अल्पज्ञानको धारमा कसैको मनोदशा ब्याख्या गर्ने प्रवृत्तिले बिरामीलाई रोग लुकाउन बाध्य पारेको छ ।

नेपालमा हिस्टेरियाको बारेमा सर्वसाधारणमा पर्याप्त भ्रम छ । स्वास्थ्यकर्मीले गलत धारणा सार्वजनिक गर्ने अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणको भ्रम हटाउन मुश्किल छ । मेडिकल क्षेत्रमा आजभोलि यो शब्दको प्रयोग नगर्ने वा प्रयोग गर्न हतोत्साहित गर्ने रणनीति चिकित्सकहरूले लिएका छन् । यसको कारण भनेको हिस्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित समस्याभन्दा पनि यौन चाहना बढी भएपछि हुने वा यौन चाहना पूरा नभएको अवस्थामा हुन सक्ने समस्या भनेर गलत ढंगले व्याख्या गर्ने प्रवृत्ति मौलाएको कारणले गर्दा नै हो । 

वास्तवमा यस समस्यालाई मेडिकल भाषामा ‘डिसोसिएटिभ डिसअर्डर’ भनिन्छ ।  यो मनमा समाधान गर्न नसकिएका कुण्ठाबाट उत्पन्न हुने रोग हो । ती कुण्ठा खालि यौन वा विवाहसँगमात्र सम्बन्धित हुँदैनन् । यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनोविश्लेषण गरी कुन रोग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कुण्ठालाई केलाएर त्यसको समाधानका लागि मनोपरामर्श गर्नुपर्छ । 

मनोपरामर्शबाट बिरामीको समस्या समाधान नभएमा बिरामीलाई चित्त बुझाउने अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ । अन्य शारीरिक वा मानसिक लक्षण भए सोहीअनुरूप औषधि पनि खानुपर्ने हुन्छ । त्यसैले यो रोग बिहे नभएकै आधारमा लाग्ने होइन । यस्तो समस्या पुरुषमा पनि देखिन सक्छ । बिहे गर्दैमा यो समस्या समाधान पनि हुँदैन । बिहेसँग मात्र यो रोगको सम्बन्ध हुँदैन । मनको कुण्ठामा सेक्स पनि एउटा अंश हुन सक्छ । तर, पूरै सेक्ससम्बन्धी कुण्ठाका कारण यो रोग लाग्छ भन्नु वैज्ञानिक दृष्टिबाट अपूर्ण हुन जान्छ । 

यस्तो समस्या भएका मानिसले एक पटक मनोचिकित्सकलाई भेटेर आफ्ना समस्या खुलस्त बताउनु पर्दछ । जसबाट वास्तविक समस्या पत्ता लाग्ने र उपचारका लागि सहयोग पुग्नेछ । –एजेन्सी