27th May | 2019 | Monday | 5:43:39 AM

श्रीमान श्रीमतीबीचको उमेर ग्यापले यौनमा पार्ने प्रभाव

  POSTED ON : फाल्गुन ५, २०७५ (१:३७ PM)

श्रीमान श्रीमतीबीचको उमेर ग्यापले यौनमा पार्ने प्रभाव

काठमाडौं । विभिन्न अध्ययनहरूले देखाएअनुसार आदर्श सम्बन्धका लागि श्रीमान् र श्रीमतीबीचको उमेर फरक सामान्यत तीन–चार वर्षको मात्र हुनुपर्छ । श्रीमान श्रीमतिको उमेर १० वर्षभन्दा बढी फरक छ भने उनीहरूका चाहना, प्राथमिकता तथा शारीरिक गतिविधिहरूमा फरक पर्न सक्छ ।

श्रीमान श्रीमतीबीचको उमेरजन्य प्राथमिकता र चाहना फरक हुन नदिन उनीहरु बीचको उमेर फरक पनि कम हुनु पर्दछ । बढी उमेरको श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्तो हुन सक्छ । यसैलाई सकारात्मक रूपमा लिने हो भने श्रीमानबाट अभिभावकले जस्तै बढी केयरिङ पनि प्राप्त गर्न सकिन्छ । तर उमेरको फरकबाट सिर्जित समस्यालाई हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्नु, त्यसलाई स्वीकार गर्नु र उनको चाहनाअनुरूप व्यवहार गर्नु पर्दछ ।

त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमान्बाट हुने अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ । त्यसपछि यौनजीवनका सम्बन्धमा छलफल गर्ने, श्रीमतीको यौनचाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए नभएको बुझेर त्यसैअनुसार त्यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढोकाहरू खुल्न सक्छन् । दुवैको चाहना र आकांक्षालाई सम्मान गर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माण हुन सक्छ । दुवै जना अलग–अलग दिशातर्फ फर्कने हो भने त उपलब्ध सम्भावनाहरू पनि गुम्न सक्छन् । त्यसैले उमेरको ठूलो फरकबीचको सम्भावना खोज्नेतर्फ लाग्नु नै बेस हुन्छ । 

सोच, संस्कार, चिन्तन र कार्यशैली युवास्तरको छ भने हरेक गतिविधिको नतिजा पनि ऊर्जाशील हुन्छ । सोच र चिन्तनका कारण मानिसहरूलाई बूढो र युवा भनेर परिभाषित गर्न सकिन्छ । युवा भएर पनि ऊ निष्क्रिय छ, जोस–जाागर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० वर्षको मानिस पनि वृद्ध हुन्छ । फुर्तिलो, जोसिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखिरहने मानिसहरू सधंै युवा रहन्छन् । त्यस्ता व्यक्तिहरूलाई उमेरले खासै फरक पार्दैन । त्यसकारण आफूलाई २०–२२ वर्षे जवान सोचे युवाहरूमा हुने जस्तो ऊर्जा कायम रहन्छ । अर्को पक्ष के हो भने श्रीमान् र श्रीमतीबीचको उमेरको फरक निश्चय नै बढी छ । यस्तोमा श्रीमान्–श्रीमतीबीचको सोच, चाहना र प्राथमिकताहरू फरक हुनु स्वाभाविक पनि हो । 

अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको ।

खासमा दम्पतीले यौनसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन् । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ । किनभने यौनले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ । उमेरको ग्यापले भन्दा पनि यौन चाहनाले दापत्य जीवनलाई सुखमय बनाउन सक्ने अध्ययनले देखाएको छ । –एजेन्सी



Views: 301