Date:2017/08/18 |Friday

मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

Posted on: August 05, 2017 | views: 11 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) लाई नेपाली खेलकुदको बारेमा विभिन्न समस्या तथा ढिला सुस्ती भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार मन्त्री केसीलाई नेपाली खेलकुदको बारेमा विभिन्न समस्या तथा ढिलाइ सुस्ती भएको भन्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । खेलकुदमै जीवन विताएका खेलाडीका लागि राज्यले खासै केही नगरेको गुनासोसहित खेलाडीका लागि शिक्षा, स्वास्थ्य, बीमा यातायात भत्ता लगायतका सुविधाको व्यवस्था गर्नुपर्ने खेलाडी संघको माग छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेता खेलाडीको वर्गीकरण गरी उचित नीति नियम बनाएर कार्यान्वयन गर्न खेलाडी संघले मन्त्री केसीसामु माग राखेको छ । 

त्यस्तै, खेलकुदको भौतिक संरचना निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता समयमै भब्यताका साथ सम्पन्न गर्नका लागि पनि मन्त्री केसीसामु माग गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष दीपक विष्टले मन्त्री फेरिँदै पिच्छे पटकपटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै काम नभएको गुनासो गरे । ‘खेलकुदमा विभिन्न समस्या छ । यसको समाधान गर्न मन्त्रीसामु ठूलै चुनौती छ’, संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘हामीले बुझाएको यो सुझाब छिटै कार्यान्वयन गर्न म मन्त्री ज्यूसामु अनुरोध गर्दछु ।’ मन्त्री केसीले अबको केही दिनमै खेलाडीले आफ्नो पक्षमा अुनभूति महसुस हुने खालको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘तपार्इंहरूसँग सहकार्य गर्दै के गर्दा ठीक हुन्छ म त्यो गर्छु । मेरो कार्यकालमा मुख्य जोड खेलकुदका भौतिक संरचनामा रहेको छ’, मन्त्री केसीले भने, ‘१३ औं साग खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि पनि भौतिक संरचनाको निर्माण गर्न आवश्यक छ ।’


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं