Date:2017/08/18 |Friday

नयाँ क्लबमा नेयमारको ‘डेब्यु’ लम्बिँदै

Posted on: August 10, 2017 | views: 9 |

एजेन्सी

पेरिस । एक साताअघि विश्व कीर्तिमानी रकममा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिली फरवार्ड नेयमार जुनियरको नयाँ क्लबमा डेब्यु अझै लम्बिँदै गएको छ । स्पेनिस फुटबल फेडेरेसनले नेयमारको सरुवाको आवश्यक कागजपत्र फ्रेन्च लिगलाई नपठाउँदा नेयमारको नयाँ क्लबमा ‘डेब्यु’ अझै लम्बिएको हो । 

नेयमारले एक साताअघिबाटै सुरु भएको फ्रेन्च लिगको पहिलो खेल आवश्यक कागजात नहुँदा गुमाइसकेको थियो । विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका नेयमार पिएसजी आइपुगेको एक साता बितिसक्दा पनि स्पेनिस लिगले उनको अन्तर्राष्ट्रिय स्थानान्तरण प्रमाणपत्र (आइटिसी) उपलब्ध गराएको छैन । फ्रेन्च लिगले उक्त प्रमाणपत्र प्रप्त नगर्दासम्म नेयमारले पिएसजीबाट खेल्न पाउने छैनन् । 

सामान्यतया ट्रान्सफर पूरा भएको दुई वा तीन दिनभित्रै उपलब्ध गराइने प्रमाणपत्र स्पेनिस लिगले जानाजान नपठाएको भन्ने आरोप समर्थकको छ । नेयमारको ट्रान्सफर हुँदा पनि ला लिगाको अध्यक्षले उक्त रिलिक क्लजको छेक बुझ्न मानेका थिएनन् । अध्यक्ष जाभिएर टेबासले नेयमारका वकिलले दिएको चेक लिन मानेका थिएनन् । स्पेनिस लिगले नेयमारको प्रस्थानपछि स्पेनको लिग फुटबलको लोकप्रियता केही घट्ने डरले उनको ट्रान्सफर रोक्ने प्रयास गरेका थिए । तर, फ्रेन्च लिगले छोटो समयमै प्रेस वक्तव्य जारी गरेपछि ट्रान्सफर भएको थियो । 

पिएसजीको पहिलो लिग खेलमा दर्शकदीर्घामा रहेका नेयमारले दोस्रो खेल खेल्नका लागि बिहीबारसम्म उक्त कागजात फ्रेन्च लिगले पाउनुपर्ने प्रावधान रहेको छ । स्पेनिस लिगले भने केही ढिलाइ हुनु सामान्य रहेको बताउँदै आएको छ । यदि स्पेनिस लिगले जानाजान यसो गरेको भेटिएमा पिएसजी र फ्रेन्च लिगले फिफामा उजुरी पनि हाल्न सक्नेछन् । पिएसजीले लिग वनको दोस्रो खेलमा आइतबार ग्वेनग्याम्पको सामना गर्दैछ । उक्त खेलमा सहभागी भए नेयमारले फ्रान्सेली क्लबका लागि पहिलो खेल खेल्नेछन् । खेल ग्वेनग्याम्पको घरेलु मैदानमा हुनेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं